काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाले राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट भएको विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
आइतबार जनता समाचार डटकम मा सडकमा सेनाको निगरानी, प्रहरीको संयुक्त गस्ती, विप्लवका ७ कार्यकर्ता बमसहित पक्राउ, प्रहरी चौकीमा सोधपुछ गरिँदै, चन्द्रागिरीमा बम बिस्फोट, कोटेश्वर र लगनखेलमा शंकास्पद वस्तु भेटियो, भारतमा इस्लामिक लडाकु छिर्ने तयारी र एनआईसीको शाखारहित बैंकिङ्ग लगायतका राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धी समाचार प्रकाशित भएका छन् ।
कान्तिपुर दैनिकले ‘चन्द समूहको आतंकः राजधानीमा श्रृंखलाबद्ध विस्फोट’ शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा बम विस्फोट भएको उल्लेख छ । विस्फोटमा परी ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । चार स्थानमा भने नेपाली सेनाले समयमै बम डिस्पोज गरेको थियो । सोमबारको बन्द सफल पार्न विप्लव नेतृत्वको समूहले श्रृंखलाबद्ध बम विस्फोट गराएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोष्ट् दैनिकले विस्फोटले राजधानीको जनजीवन त्रस्त बनेपछि गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायका प्रमुखलाई बोलाएर आकस्मिक बैठक राखेको समाचारलाई मुख्य समाचार बनाएको छ । पत्रिकाका अनुसार, बैठकमा गृहमन्त्री थापाले देशभरको सुरक्षा व्यवस्था बजबुत बनाउन निर्देशन दिएका छन् । यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै राज्य तथा विद्रोही पक्षलाई संवादमा बस्न आग्रह गरेको समाचार पनि पत्रिकाले समेटेको छ ।
नागरिक दैनिकले विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लिएको विषयलाई मुख्य समाचार बनाएको छ । यसैगरी, वृद्धभत्ता पाँच सय बढ्ने र कर्मचारीको तलब २० प्रतिशतले बढ्ने समाचारलाई पनि नागरिकले प्रथम पृष्ठमै समेटेको छ ।
नयाँ पत्रिका ले बिहान ४ः१५ मा विस्फोट गर्नेगरी टाइम सेट गरेको बम आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको विषयलाई शीर्ष समाचार बनाएको छ । श्रृंखलाबद्ध बम विस्फोटकै विषयलाई नै मुख्य समाचार बनाएको छ । समाचार अनुसार विप्लव कार्यकर्ताले टाइमर मिलाउन नजाँदा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।