काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु जनता नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे उहाँले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताउनुभएको हो । ‘ती सामान्य नागरिक होइनन्, ती जनता होइनन्, ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो,’ उहाँले भन्नुभयो, ‘दुई ठाउँकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भएका कारणले ज्यान गएको अहिले सम्मका अनुसन्धानले पुष्टि गरेको छ ।’
उहाँले थप्नुभयो, ‘ती व्यक्तिहरु गैरकानुनी र अपराधिक क्रियाकलापमा संलग्न थिए, त्यसकारण तीनीहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौँ, यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’
मन्त्री थापाले सरकारको विप्लव समुहसँग साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्नलाई उहाँले “नाजायज प्रश्न” को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो ‘सरकार र विप्लव समुहसंग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नाजायज प्रश्न हुन्छन् । प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।’
उहाँले शान्ति पुर्ण रुपमा समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको भन्दै कानुन र संविधान मिच्ने, जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक हुने भएकाले त्यस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो । कानुन मिचेकाले नियन्त्रणमा लिने प्रयास संगै वार्ता संवाद मार्फत गतिविधिलाई नियन्त्रणमा ल्याई मुल प्रवाहमा ल्याउने प्रयास सरकारले गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले मुलुकमा शान्ति सुरक्षा कायम गर्नमा नै मुलभुत रुपमा सरकार सफल रहेको दाबी गर्नुभयो । सरकार गठन गर्नु अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको निष्कर्ष सरकारले निकालेको उहाँको भनाई थियो ।
गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ती जनाउनुभएको थियो । उहाँले भन्नुभयो ‘घुमाएर नबोलौ, हिजोको घटनामा कुन पार्टीको कुन माननीयको संलग्नता छ । त्यो प्रस्ट रुपमा आउनु पर्छ । हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ? हिजो पनि द्धन्द्ध कालमा जति मरे ÷मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैरजिम्मेवारी पुर्वक शब्द प्रयोग गर्न पाइँदैन । त्यसकारण सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’
लगत्तै सभामुख कृष्णबहादुर महराले सो बारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो ।