–सिद्धिचरण भट्टराई
कला र सभ्यताः
कला मृत्युपछिको जीवन हो भन्ने ग्रिक सभ्यतामा प्रचलित भनाइ नै छ । हामीले काठमाडौंका मठमन्दिर, गुम्बामा काष्ठ, प्रस्तरका शिलालेख, टुँडाल, कलाकृति देखेका छौँ । मानिस घण्टौँ कलाकृतिभित्र मानवीय जीवनको मूल्यबोध गर्न घोत्लिन्छन् र फरक अनुभूत गर्छन् । यिनै प्रतीकहरुले मृत्युपर्यन्त मानिस, सभ्यता, संस्कृति बचाउन सक्दछ । मानवसभ्यताभित्र राम्रो र नराम्रा धेरै काम भएका छन् । मानिसले मानिसका बीच सभ्यताको युद्ध गरेका छन्, एकले अर्काको सभ्यता नष्ट गर्न हतियार र मारकाटमा उत्रेका इतिहास पनि छन् । हिन्दूहरु भारतवर्षमा धेरै ठाउँबाट लखेटिए, बौदमार्गी वर्मामै आक्रमणमा परे, नेपाल भारतबाट हिन्दूहरुले वेद र बौद्धले त्रिपिटक जोगाउन निकै कठिन भयो । त्रिपिटक उत्तरतिर लागेकाले चिनियाँ संग्रहालयबाट ल्याएर उल्था गर्नु पर्ने बेलायती र जर्मनबाट हाम्रो मौलिक विचार र संस्कृति खोज गर्नु पर्ने हामीलाई थाहै थिएन । पुस्तौँपुस्ता ज्ञान प्रसार गर्न हामीले दिगो तरिका अपनाउनु पर्छ । पार्क, मन्दिर मात्र आफनो स्वार्थ बिसाउन जाने थलो र मन बहलाउने ठाउँमात्र हुनु हुँदैन, ती मानव ज्ञान र मानवता विस्तारका स्थल हुनु पर्छ ।
प्रथम पार्क सम्मेलनः
देवदह प्राचीन कोलीय गणराज्यको राजधानी मानिन्छ । जहाँ बुद्धका बुबा शुद्धोदन र भगवान गौतम बुद्धको ससुराली हो । यहाँ बौद्ध साहित्यमा पाइने तीन मातृशक्तिको थलो पनि ठानिन्छ, जहाँ महामाया, प्रजापति र यशोधराको माइती पनि हो ।
वैशाख २८ गते ड्रिम देवदह युनिटी फर चेन्जको आयोजनामा देवदहमा प्रथम पार्क सम्मेलन आयोजना गर्यौँ । देवदहमा पार्क बनाउने लहर चलेको छ । सामुदायिक वन वन संरक्षणको चिन्तासँगै पार्कबाट पर्यापर्यटनको दिशामा अघि बढेका छन् । यस्ता पार्क देवदहमा १२ वटा भएको हामीले पायौँ । पार्क सम्मेलनमा ७ वटा पार्क समितिको उपस्थिति थियो । त्यो सम्मेलनमा हामीले पार्क कस्तो हुने भन्ने विमर्श गर्यौँ । पार्क कस्तो बनाउने भन्ने कुरासँग देवदह कस्तो बनाउने ? कसरी बनाउने ? यसको पहिचान के हुने भन्ने पाटो स्वाभाविकरुपमा आउँछन । देवदहको सभ्यता पार्कमा झल्किनु पर्छ भन्ने विषयमा गम्भीर छलफल भयो । नगरपालिकाले पार्कलाई बजेट छुट्याउन थालेको छ । तर पार्कबारे पर्याप्त बहसबिना यसले खँदिलो र भरिलो, दिगो विकासको आकार लिँदैन । यसप्रति नगरपालिका प्रमुखले पार्क कसको मातहत हुने भन्ने प्रश्न राखेर पार्क समितिसँग नीतिगत अस्पष्टताका विषय उठाउनु भयो, आखिर यो पनि मुख्यतः बेलैमा टुंग्याउनु पर्ने विषय हो ।
यसका अलावा देवदह नगरपालिकाले पर्यटन, कृषि र पूर्वाधारः देवदह विकासको मूल आधार भन्ने नारा लगाएको ४ वर्षभन्दा बढी भयो । जनप्रतिनिधि आएको पनि २ वर्ष भयो । तर हामीले पर्यटन विकासमा के ठोस कार्य गर्यौँ त ? औँलामा गन्दा केही पनि उपलब्धी देखिदैँन । यो निरासाजनक कुरा हो, यसलाई चिर्नुपर्छ । नगरपालिकालाई ठोस काममा अघि बढ्न हामीले दबाबकारी र सहजीकरण दुवै परिस्थिति निर्माण गर्नु पर्छ ।
पर्यटन बहसमा टुंगिएका विषयः
अहिले बहसमा आएर करिब किनारा लागेका विषय हुन् देवदहलाई कोलीय सभ्यताको पहिचान, देवदहमा गौतम बुद्धसँगै कोलीय नारीहरु, कोलीय राजा, बेबीबुद्धका प्रतिमूर्तिमा जोड र पर्यटकको बसाई लम्ब्याउन पर्यटन पूर्वाधार विकास । तर यी सैद्धान्तिक विषय मात्र हुन् । यसलाई व्यवहारमा रुपान्तरण गर्न व्यवहारिक दृष्टिकोणसहित योजना चाहिन्छ । कसरी त्यस्तो बनाउन सकिन्छ, त्यसको प्रक्रिया र बाटो कस्तो हुन्छ, कसले नेतृत्व गर्छ ? कसले शुरु गर्छ ? कसरी टुंगिन्छ ? यी विषयमा फेरि बहस जारी राख्नु पर्छ । यही कुरामा पथप्रदर्शकका रुपमा ड्रिम देवदह युनिटी फर चेन्जले भूमिका निभाउने चेष्टा गरेको हो । यद्यपि हामी कार्यकारी हुन चाहन्नौँ, अभियानकारी हुन चाहन्छौँ । विकासमा खाँचो विकाससम्बन्धी दृष्टिकोणको हो न कि स्रोतसाधनको । सही दृष्टिकोणसहित योजना छ भने पहलकदमी लिँदा, बजेट र स्रोतसाधन स्वाभाविक उपस्थित हुन्छ । इच्छा र उपायको भेट हुन्छ र गति अगाडि बढछ ।
कुरो काष्ठकला राष्ट्रिय कार्यशालाकोः
पार्क सम्मेलनपछि कुरो गरेर छाड्ने विकासे गफाडी बन्नु हुँदैन भनेर हामीले केही गरौँ भन्ने प्रयत्न गर्यौँ । केही रकमका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माण गरिरहेको बुद्ध सामुदायिक वनसँग छलफल चलायौँ । दुवैको सहकार्य हुने भएपछि देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६ गर्ने निधो गर्यौँ । कार्यशालामा सहयोगका लागि भिजिट लुम्बिनी २०१९ चलाइरहेका प्रदेश सरकारको उद्योग पर्यटन मन्त्रालयमा मन्त्री लीला गिरीसँग अनुरोध गर्यौँ । उहाँ त्यति सकारात्मक बनेको अनुभूति हामीलाई भएन । उहाँले कला सामाजिक विकास मन्त्रालयको बिजनेस भएको बताउनु भयो । हामी त्यहाँ पनि गयौँ । मन्त्री सुदर्शन बरालले आफनो मन्त्रालयमा बिनियोजित बजेट नभएको बताउनु भयो । बाँकी थियो देवदह नगरपालिका । यसको पनि हालत के भयो, निर्णय गर्ने कार्य समयमा नहुने । बेला गुज्रेपछि कुरा गर्ने ताल भयो । यो आलेख लेख्दासम्म कुनै ठोस सहयोग आएको छैन, यद्यपि कार्यशालालाई सहयोग गर्ने मौखिक प्रतिवद्धता मेयर र उपमेयरबाट आएको छ । तर आयोजकको उत्साह काष्ठलाई जसरी पनि सम्पन्न गर्ने भन्ने रहँदै आएको छ ।
काष्ठकला जेठ ८ गतेबाट शुरु भएर यो लेख तयार पार्दासम्म चौथो दिन पूरा भएको छ । यति दिनमा यसले पाएको मिडिया कभरेज, सोसल मिडिया सपोर्ट, स्थानीय आमा समूह र टोल विकास संस्था, आयोजक र सहआयोजकको उत्पे्ररणात्मक सहयोगले यो भव्यताका साथ सम्पन्न हुने दिशामा छ । १६ जेठमा समापन हुने छ । कार्यशालामा देशभरका अनुभवी १७ जना मूर्तिकारको सहभागिता छ । काष्ठकला सम्पन्न भएपछि निर्मित मूर्ति पार्कभित्र विभिन्न आभा समूह र संस्थाले निर्माण गर्ने १७ वाटिका भित्र स्थापित गरिनेछ । हाम्रो अपेक्षा के हो भने देवदहमा यो पार्कमा कम्तीमा २ घण्टा पर्यटक भुल्ने वातावरण बनाउन सक्यौँ भने एउटा विशेष उपलब्धी हुनेछ र देवदह एक गन्तव्य बनाउन सघाउ पुग्नेछ ।
अब अन्तर्राष्ट्रिय मूर्ति कार्यशाला गरौँः
यस्ता राष्ट्रिय कार्यशाला अभियानका रुपमा आयोजना गर्दा त्यसले चौतर्फी उपलब्धी हासिल हुन्छ । मानिसमा क्रियाशीलता बढाउन सकिन्छ, मिडिया र सामाजिक संगठनलाई एकताबद्ध भएर अन्य सहायक अभियान अघि बढाउन सकिन्छ । मूर्ति कार्यशालासँगै, फोटो उपहार अभियान, ट्रेकिङ रुट विकास गरेर माथागढी गोठादी पैदल यात्रा अभियान, भिजिट देवदह अभियान, होमस्टे सञ्चालन, देवदह गिफ्ट उद्योग नमूना कार्यशालालगायतका सहायक अभियान कार्यक्रम बनाएर वृहत्तर कार्यक्रम गर्न सकिन्छ । कम्तीमा देवदहका समुदायसँग राम्रो सहकार्य भएका, सम्भावना बोकेका ३ वटा पार्क क्षेत्र छनौट गरी ३ क्षेत्रलाई भोलिका दिनमा टुरिज्म साइट विकास भई तत्काल लाभ लिने सकिने गरी स्थापित गर्न सकिनेछ । जसमा कम्तीमा ५० जना मूर्तिकार, चित्रकारले विविध विधाबाट कलाकृति निर्माण गर्नेछन् । विकासमा सामुदायिक सहभागिता मर्दै गरेको परिस्थितिमा त्यसलाई पुनर्जागृत गर्ने राम्रो अवसरका रुपमा लिन सकिन्छ । यो अभियानलाई ३ महिनाको पूर्वतयारी सहित एकमहिने अभियानका रुपमा सञ्चालन गर्ने गरी देश विदेशको ध्यान खिच्ने काम गर्ने काम गराँै भन्ने मैले ड्रिम देवदह युनिटी फर चेन्जको तर्फबाट सार्वजनिक रुपमा उठाउँदै आएको छु । जसमा हामीले करिब एकदिन पर्यटकलाई देवदह अड्याउन सक्छौँ । यसो गर्दा एक रात पर्यटक रहँदा होटल व्यवसाय र स्थानीय बजारले पनि लाभ लिन सक्छ र देवदहको समृद्धि हासिल हुने प्रक्रिया तिब्र हुन्छ ।
(देवदह राष्ट्रिय काष्ठकलाका सन्दर्भमा लेखिएको)