अष्ट्रिया । उपराष्ट्रपति नन्दबहादुर पुनले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
उपराष्ट्रपति पुनले सोमबार राष्ट्रपति भवन होफवर्गमा राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विविध विषयमा छलफल भएका छन् । भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको बताउनु हुँदै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आईरहेको बताउनुभयो ।
‘नेपाल र अष्ट्रिया दुबै भूपरिवेष्ठित र पहाडी मुलुक भएकाले धेरै कुरामा समान भएको विचार व्यक्त गर्दै पुनले अन्तर्राष्ट्रिया मामिलामा पनि नेपाल र अष्ट्रियाको धारणा समान रहेको बताउनु भयो ।
‘प्राकृतिक सम्पदा, संस्कृति, पर्यटन, कृषि, केवलकार, जलविद्युत लगायतका क्षेत्रमा अष्ट्रियासँग हामी सहकार्य गर्न सक्छौँ’, पुनले भन्नुभयो, ‘यी क्षेत्रमा लगानीका लागि म अनुरोध पनि गर्दछु ।’ अष्ट्रियाको अनुभव र विकास गरेको प्रविधि नेपालले सिक्न चाहेको पुनको भनाइ थियो ।
‘नेपालले हवाई सुरक्षा (सेफ्टी) मा धेरै सुधार गरेको छ । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छन्,’ पुनले भन्नुभयो, ‘नेपालले हवाई सुरक्षामा गरेको सुधारका आधारमा यूरोपियन यूनियनले नयाँ दृष्टिकोण बनाउनेछ भन्ने विश्वास लिएको छु ।’
भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रिया र नेपालबीच धेरै कुरामा समानता रहेको बताउनुभयो । ‘अष्ट्रियाको भन्दा नेपालमा धेरै ठूला पहाडहरु छन् । नेपालमा अग्ला पहाड र अष्ट्रियामा होचा पहाड भए पनि हाम्रा सोंचाईहरु समान छन्,’ बेलेनले भन्नु भयो, ‘बिश्व शिखर सम्मेलन उच्च प्राथमिकतामा राखि सफल बनाउन अष्ट्रिया सरकार प्रतिवद्ध रहेको छ ।’
उपराष्ट्रपति पुनले होफवर्ग संग्रहालयमा भईरहेको नेपाली कला प्रदर्शनीको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।