फाइल तस्बिर
काठमाडौं । करिब ५ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्मको अवधिमा सप्तरी, बाँके, तनहुँ, रुपन्देही र नवलपरासी (पूर्व)मा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
सप्तरीका शम्भुनाथ नगरपालिका–६ स्थित सडकमा ना–५ ख ४६९२ नम्बरको बस र स ९ प ६१८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक खड्क नगरपालिका–४ बस्ने २५ वर्षीय नविन चौधरी र पछाडी सवार सिरहा लहान नगरपालिका–१२ बस्ने २६ वर्षीय ओम प्रकाश चौधरीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके नेपालगंज उपमहानगरपालिका–१३ तेलियनपुरमा भे ५ प ४३१४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटरमा सवार सोही स्थान बस्ने ५६ वर्षीय साईद अलि मनिहारको नर्सीङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ शुक्लगण्डकी नगरपालिका–२ स्थित सडकमा ग २ च ९६२२ नम्बरको जिप र मे ५ प ९२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईलाम माईजुमाई गाउँपालिका–३ का २६ वर्षीय शैलेश लिम्डुमको विपि कोईराला स्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका–१५ स्थित सडकमा लु १२ प ३०१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सन्जय बिकको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।
नवलपरासी(पूर्व) देबचुली नगरपालिका–६ स्थित भित्री सडकमा लु ४३ प ६९३० नम्बर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कावासोती नगरपालिका–३ का ३० वर्षीय तिलक सुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।