समग्रमा सुशासनको वर्षाले मात्रै विकास सिञ्चित हुने र जनता खुशी हुने भएकाले गणतन्त्र दिवसमा शुभकामना आदानप्रदान भइरहँदा सुशासन नभुलौँ
आज जेठ १५अर्थात् गणतन्त्र स्थापनाको ११ वर्ष पार भएको दिन । नेपालीमा उखान छः १२ वर्षमा खोलो फर्किन्छ । १२ को अर्को पनि उखान छः कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि उस्तै । १२ अर्को कहानी छः काम नपाएजस्तो १२–२७ कुरा किन ? अर्थात् १२ ले हामीलाई सधैँ सचेत गराइरहेको हुन्छ । जस्तोः ख्याल गर्नु, फेरि १२ बज्ला । हो, गणतन्त्रको यात्रा बाह्रौँ वर्ष प्रवेशमा थुप्रै ‘१२’ले हामीलाई २४ सै घण्टा सचेत गराइरहेको छ कि, आम नेपालीको निधारमा देखिएको दुःख, उत्पीडन, शोषण, विभेदको धर्सा मेट्न सक्यो कि सकेन गणतन्त्रले ? सूचकांकमा देखिने उन्नतिले ग्रामीण जनजीवनमा पनि परिवर्तनको सिँचाइ ग¥यो कि गरेन ? त्यो सिँचाइले लछप्पै भिजेर नागरिकले शीतल महसुस गर्दै स्थानीय तह, प्रदेश र केन्द्र सरकारका एजेण्डालाई खुला दिलले स्वागत गरेकी गरेनन् । सरकारको समाजवादको यात्रामा उनीहरु साक्षी छन् कि छैनन् ?
स्थिर सरकार बनेको छ । कम्युनिष्ट सरकार मात्र हो । अवयवहरु पुरानै छन् । सत्तामा आउनेहरुसँग पसारिने स्थायी सरकार अर्थात् कर्मचारीतन्त्रको विकृतिमाथि कम्युनिष्ट सरकार प्रवेश गर्नै सकेको छैन । २०४९ तिर वामदेव गौतमले भनेका थिए रेडियो नेपालको घटना र विचारमा कि, एकपटक सबै कर्मचारीलाई सर्लक्क फालेर फेरि भर्ना गर्न मन छ । त्यहाँदेखि यहाँसम्मको यात्रामा कर्मचारी कति सुध्रिए ? मंगलबार मात्रै निजामती कर्मचारी सेवाबारे भएको छलफलमा सचिवदेखि मुख्यसचिवसम्म बाहिरबाट ल्याउन सकिने प्रावधानबारे जनार्दन शर्मादेखि अरु सांसदहरुले गरेको तर्क कतै वामदेव गौतमकै त्यही तीन दशक पुरानो पीडाको नवीकरण पो थियो कि ? व्यवस्था फेरिए, सरकार फेरिन्छ । तर कर्मचारी, सेना, प्रहरीले सरकारको गतिमा हिँडेको छ कि सरकारलाई आफ्नो गतिमा हिँडाउन बाध्य पारिरहेको छ ? अरुजस्ता नौ महिने सरकारका अगाडि यो सरकार दुई तिहाइको भएकाले यसबारे पनि समीक्षा हुन जरुरी छ । गणतन्त्र दिवसमा आउने बजेटमा एउटा कर्मचारीले पोशाक भत्ता २० हजार माग्दा वृद्धभत्ता ५ हजार नपुग्नु पक्कै गणतन्त्रको लालमोहर हामी हौँ भन्नेहरुका लागि शरमको पाटो हो ।
जनताले सुशासन अपेक्षा गरेका छन् । सबै सपनाहरुमा देखिएको कमी सुशासन हो । सुशासनभित्र विकास, नैतिकता, इमानदारी, जिम्मेवारी स्वतः आउने पाटो हो । त्यसैले सरकारले बाँडेका सपनाका पुलिन्दाभित्र समयमा काम गर्न ऐन बाधक भन्दै कर्मचारी पन्छिने, सदरमुकाम छाडेर मुकाम जान नमान्ने, नेताहरुको घर पुगेर लम्पसार पर्दै समस्या देखाउने रोगले नेताहरु र दलहरु थिलोथिलो परेका छन् । अहिले स्थानीय तह र प्रदेश सरकारको बजेट फ्रिज हुनु, कम परिचालन हुनुमा कर्मचारीतन्त्र नै समस्या देखिएको छ । जनतामा स्थानीय तहमा काम गर्ने उत्साह छ । बजेट छ । तर पालिका प्रमुख नै एउटा कर्मचारीका कारण रन्थनिँदै केन्द्र सरकार गुहार्न आइपुगेका बग्रेल्ती नजीर छन् । गणतन्त्र दिवसकै दिन, यो पनि भनिएको होइन कि, कर्मचारीकै कारण समस्या भयो, उनीहरु मात्र खराब हुन् । तर नेताहरुले दिने जवाफमा समस्या उठान मात्र होइन, समाधानको प्याकेज खोइ ? अब त स्थानीय तहमा पनि कानुन बनाएर लागू गर्ने सर्वाधिकार छ । जनताले सुशासन खोजेका हुन् । आठ हजार रुपैयाँको ठेक्का पेटी ठेक्कामा बाँडिदै जनतामा पुग्दा ८ सय पनि नपुगेका विकास निर्माणले जनतामा आक्रोश बढेको छ । अर्कातिर फेरि मुलुकमा जनता र जनजीविकाका लागि जनतन्त्र भन्दै बन्दुकसहितको रिहर्सल पनि भुल्नु हुन्न । चार नागरिकले यही मुद्दामा ज्यान गुमाइसकेका छन् । उनीहरुलाई पनि शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने कार्यभार र कार्यदिशा राज्यकै हो । समग्रमा सुशासनको वर्षाले मात्रै विकास सिञ्चित हुने र जनता खुशी हुने भएकाले गणतन्त्र दिवसमा शुभकामना आदानप्रदान भइरहँदा सुशासन नभुलौँ । यसैको आलोकमा हाम्रो समृद्धि यात्रा सार्थक बन्न सक्छ समाजवादी सपनामा । शुभकामना सबै जनमनमा ।