काठमाडौ । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई ‘न्यायको जीत’को रुपमा टिप्पणी गर्नुभएको छ ।
‘गणतन्त्र बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो’ गणतन्त्र दिवसमा बुधबार बिहान सैनिक मञ्चमा आयोजित समारोहमा उहाँले भन्नुभयो, ‘शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र बहालीको संघर्षका पत्रपत्रमा समाहित छन् । लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर बलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड । तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धी जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् ।’
प्रधानमन्त्रीले गणतन्त्र दिवसलाई गतिशील परम्परा शुरुवात दिनको रुपमा स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘यस दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन् भन्ने बताउँदैछ’ उहाँले भन्नुभयो, ‘यो दिवसले हामीलाई गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्दैछ ।’
प्रधानमन्त्रीले गणतन्त्रलाई जनताद्वारा, जनताका लागि, स्थापना गरिएको संस्थाको रुपमा बुझ्नुपर्ने बताउनुभयो । जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन’ उहाँले भन्नुभयो, ‘त्यस्तो व्यवहारले वास्तवमा जनता, जनताको वलिदान र अधिकारको अपमान हुन जान्छ । जनताले प्राप्त गरेका उपलब्धी अस्वीकार गर्ने र ती उपलब्धी अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्धकै व्यवहार हुन जान्छ ।’
प्रधानमन्त्रीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताउनु भयो । ‘समाजलाई समृद्ध बनाउनका लागि सुशासन र विकासलाई प्राथमिकतामा राखनुपर्ने हुन्छ’ उहाँले भन्नुभयो, ‘हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् । त्यही आधारमा आज सुशासन र विकास सम्बन्धी हाम्रा समग्र कदमहरु परिलक्षित छन् । सुशासन र विकासको स्पष्ट प्रतिवद्धता सहित सरकारको नीति तथा कार्यक्रम भर्खरै संसदले पारित गरेको छ । आगामी वर्षको हाम्रो गन्तव्य त्यसमा परिलक्षित छ । समृद्ध नेपाल–सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार मुलुकमा छ । सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा जननिर्वाचित सरकारहरु कृयाशील छन् । सबै सरकारलाई एउटै लय र तालमा उक्त गन्तब्यतर्फ अग्रसर गराउनु हाम्रो दायित्व हो ।’