काठमाडौं । प्रधानमन्त्री केपी ओली बिहिबार दिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन दिल्ली जानुभएको हो ।
प्रधानमन्त्री ओलीलाई दिल्लीमा भारतका विदेश सचिव विजय गोफ्ले, नेपालका लागि भारतीय राजदूत मन्जिवसिह पुरी लगायतका अधिकारीले स्वागत गरेका छन् ।
भ्रमणमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयमा सचिव र प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायतको सहभागिता रहेको छ ।
प्रधानमन्त्री मोदी र उहाँको मन्त्रिपरिषद्ले बिहिबार शपथ ग्रहण गर्दैछ। मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकालको लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री ओली त्यही समारोहमा सहभागी हुनुहुनेछ ।
मोदीले आफ्नो सपथग्रहणमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याउनु भएको छ। प्रधानमन्त्री ओली पनि बिम्स्टेक सदस्य राष्ट्रका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको हो।
भ्रमणमा प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच दुई मुलुकको हितबारे छलफल हुनेछ। हैदरबाद हाउसमा हुने भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्ध, क्षेत्रीय चासो लगायतका विषयमा छलफल हुने परराष्ट्र स्रोतले जनाएको छ ।
छलफलमा प्रधानमन्त्रीसँग राजदूत निलाम्बर आचार्य र सल्लाहकार डा। भट्टराई सहभागी हुनुहुनेछ। आचार्य र भट्टराई ईपीजीका सदस्य पनि हुनुहुन्छ। प्रधानमन्त्री शुक्रबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।