दर्ता बिना संचालन भएको आरएम केमिकल्स
पुष्पराज अधिकारी
हेटौंडा । उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । तर हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिलिभरको प्रोडक्टले दर्ता नै नगरी २० महिना उत्पादन गरेको रहस्य खुलेको छ । युनिलिभरको समान उत्पादन गर्ने आरएम केमिकल्स दर्ता बिना संचालन भएको हो ।
बहुराष्ट्रिय कम्पनी युनिलिभरले दुई उद्योगसँग एकतर्फी सम्झौता रद्द गरी भारतीय लगानीको आरएम केमिकल्स प्रालिसँग उत्पादन संझौता गरेकमे थियो । आरएम केमिकल्सले उद्योग विभागको अनुमति बिना २० महिना साबुन र सरफ उत्पादन गरेको हो ।
भारतीय लगानीको आरएम केमीकल्स २०७२ असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएको थियो । कम्पनी रजिष्टारको कार्यालयबाट लिइएको प्रमाणपत्रमा समेत इजाजत लिनुपर्ने निकायबाट स्वीकृति लिएर मात्र उद्योग सञ्चालन गर्नुपर्ने व्यवस्था छ । यस्तै उद्योग विभागले बैदेशिक लगानी स्विकृतीका लागि दिइएको प्रमाणपत्रमा समेत इजाजत लिनुपर्ने उल्लेख छ ।
२०७४ असारमा हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा प्राप्तिका लागि निवेदन दिएको उद्योगले असोज ६ गते जग्गा सम्झौता गरेको थियो । ३ महिनाभित्र कागजात बुझाउने शर्तमा जग्गा सम्झौता गरेपनि उद्योगले हालसम्म दर्ताको प्रमाणपत्र र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बुझाएको छैन । कार्यालयले चैत २७ गते कागजात बुझाउन पत्र काटेको हेटौंडा औद्योगीक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताउनुभयो ।
प्रमुख कँडेलका अनुसार उद्योगले २०७६ वैशाख १२ गते मात्रै उद्योग दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । तर प्रमाणपत्रमै उल्लेख भए अनुसार उद्योग स्थापना, सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नुपूर्व नियमानुसार वातावरणीय प्रभाव मूल्यांकन आइइई गर्नुपर्ने कानूनी प्रावधान पुरा गरेको छैन । कानूनी प्रक्रिया पूरा नगरी उद्योगले २० महिना उत्पादन गरेपनि नियमन गर्नुपर्ने निकाय बेखबर रह्यो ।
उद्योगका महाप्रवन्धक जनार्दन खरातले आफुहरुले कानूनी प्रक्रिया अनुसार नै काम गरेको दाबी गर्नुभएको छ । यसअघि नेशनल सोप इण्डष्ट्रिजले संचालन गरिरहेको उद्योग खरिद गरी २०१७ नोभेम्बरदेखि उत्पादन गरेको खरातले जानकारी गराउनुभयो ।
१२ वर्षअघि युनिलिभर लिमीटेड ब्राण्डको स्याम्पु र पाउडर उत्पादन गर्ने गंगाशोप एण्ड केमिकल्स इण्डस्ट्रिज र युनिकशोप एण्ड केमिकल्स इण्डस्ट्रिज ३ महिनादेखि बन्द छ । सम्झौता रद्द पछि पनि युनिलिभरले तयारी सामान नउठाउँदा नेपाली उद्योगीले करिब २० करोड रुपैंयाँ नोक्सानी व्यहोर्न परेको छ । एकसय ७८ जना मजदुर बेरोजगार बनेका छन् । बहुर्राष्ट्रिय कम्पनीको चलखेलले नेपाली उद्योगपति र मजदुर समस्यामा परेका हुन् ।