काठमाडौं । खानेपानी मन्त्री बिना मगरले उपत्यकाभित्र रहेका ताल–तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, संवर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा प्रकाशित भएको काठमाडौँ उपत्यका भित्रका पुराना ढुङगे धारा तथा पोखरीहरूको लगत ( नक्साङकन सम्बन्धी पुस्तकको विमोचन गर्दै खानेपानी मन्त्री मगरले नाश हुँदै गइरहेको पोखरी र ढुंगेधाराको संरक्षण र संवर्द्धनमा योजनासहित अघि बढिने बताउनुभएको हो ।
‘आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरू मासिँदै गइरहेका छन्, शहरीकरणका कारण हाम्रो जीवन्त कला, संस्कृति लोप भएका छन्,’ उहाँले भन्नुभयो, ‘अब यसलाई सम्भाव्यता अध्ययन गरेर यसको संरक्षणमा जोड दिनु आवश्यक छ ।’
ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरूलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ छ । काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा र पोखरीहरूको बारेमा लगत तथ्याङ्क सङ्कलन गरी पहिलो पटक यस्तो पुस्तक तयार भएको हो ।
उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्रमा रहेका ढुंगेधारा तथा पोखरीहरूको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरी विस्तृत लगत सङ्कलन गरी पुस्तक तयार गरिएको छ । जसमा उपत्यका भित्र रहेका २ सय ३३ पोखरीहरू मध्ये स्थलगत रूपमा भेटिएका पोखरीको सङ्ख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरू लोप भएका छन् ।
यसै गरी उपत्यका भित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु सङ्कलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको सङ्ख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको सङ्ख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको सङ्ख्या ४२ वटा रहेका छन् । १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।