काठमाडौं । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले संघबाट पठाएका कर्मचारी नआए आफै नियुक्ति गर्ने बताउनुभएको छ । केन्द्रले पठाएका कर्मचारी प्रदेशमा नआए प्रमुख सचिवसहितका कर्मचारी नियुक्ति गरेर काम थाल्ने चेतावनी दिनुभएको छ ।
जनता टेलिभिजनद्धारा सात प्रदेश सात सरकारको पूर्व बजेट छलफल कार्यक्रम अन्तर्गत जनकपुरमा आयोजित पूर्व बजेट छलफलमा मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री राउतले कर्मचारी भौतिक संरचनाको अभावले चालु आर्थिक वर्षको बजेटले प्रतिफल दिन नसकेको समेत बताउनुभयो ।
जेठ मसान्तपछि आएको बजेट कार्यान्वयन हुन्न भन्दा भन्दै केन्द्रले आजका दिनसम्म बजेट पठाइरहेकोमा मुख्यमन्त्री राउतले आपत्ति जनाउनुभएको छ ।
राउतले आगामी बजेटदेखि एक करोडभन्दा तलका कुनैपनि प्रोजेक्टहरु प्रदेश सरकारले सञ्चालन नगर्ने पनि बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्न आफू प्रतिबद्ध रहेको बताउँदै राउतले भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिनुभएको छ । यस्तै राउतले निजगढ विमानस्थल निर्माणकाक्रममा केही स्वार्थका कारण वनजंगल मास्ने निर्णय गरिएकोमा आपत्ति जनाउनुभयो ।
बहसमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष तथा अर्थविद् डा. विजयकुमार पौडेल, कार्यकारी निर्देशक नारायण सुवेदी, सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडले यसअघि प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश १ को विराटनगरमा बजेटबारे बृह्त अन्तरक्रिया गरिसकेको छ । अन्य प्रदेशमा पनि बजेट बहस गर्ने तयारी भइरहेको छ ।