लोकेन्द्रप्रसाद जोशी
दार्चुला । खलंगाको धौलिगाड खोलाको निर्माणाधीन पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
जग्गाको मुआब्जा विवादका कारण जग्गाधनीले पुल निर्माणमा अवरोध गरेपछि निर्माण सम्पन्न भइसक्नु पर्ने पुल अलपत्र परेको हो ।
खलंगालाई मोटरबाटोले जोड्ने गरी सडक डिभिजन कार्यालय बैतडीले विसं. २०७१ असार ३० गते आशिस् कन्स्टक्सनसँग पुल निर्माणको सम्झौता गरेको थियो । दुई करोड ३२ लाख सात हजारको लागतमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएर ३० प्रतिशत काम पूरा भएपछि मुआब्जा विवादका कारण काम रोकिएको हो ।
पुल निर्माणका क्रममा जग्गाको प्रचलित मूल्य अनुसार मुआब्जा दिनु भन्ने सर्बोच्च अदालतको आदेश भएपनि सो अनुरुप कार्यान्वयत नगरेर अन्याय गरेको जग्गाधनी हरकसिंह ठगुन्नाको भनाइ छ ।
पुल निर्माणको क्रममा महाकाली नगरपालिका–५ का हरकसिंह, विष्णुराम हुम्ली र जीवनराम हुम्लीको करिब पाँच रोपनी जग्गाको मुआब्जा विवादका कारण पुल निर्माणको काम हुन सकेको छैन ।
मुआब्जा निर्धारण समितिको विसं. २०७३ साउन ७ गतेको निर्णयले जग्गाको मुआब्जा २१ लाख ३७ लाख प्रति रोपनी निर्धारण गरेपछि जग्गाधनीले विसं. २०७१ को मुआब्जा निर्धारण समितिको मूल्य भन्दा (३८ लाख पचास हजार) कम भएको भनि सर्बोच्चमा उजुरी गरेका थिए ।
पुल निर्माण हुन नसक्दा सवारी साधनहरु खोलाबाट आवतजावत गर्न बाध्य छन् ।
जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय नेफेरिदासम्म आफुहरुले जग्गाधनीलाई मूल्य बढाएर मुआब्जा दिन नसकिने सडक डिभिजन कार्यालय पाटनका निमित्त प्रमुख शंकर खनालको भनाइ छ ।
मुआब्जा विवादको समाधान प्रयास भरहेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट बताउनु हुन्छ ।