Nic

एक बोरा आलु र कम्युनिष्ट चरित्र

मार्क्सले लेखेको एकबोरा आलुको सिध्दान्त ककसले पढे पढेनन्, म भन्न सक्दिनँ । तर म र म भन्दाअघि कम्युनिस्ट भएको इतिहास लेखाउने मित्रहरूले पक्कै पढेको या सुनेको हुनु पर्छ । किनकी मलाइ पार्टी सदस्यताको शपथ गराउदा मार्क्सवाद पहिलो पुस्तक, दर्शन शास्त्रको प्रारम्भिक ज्ञान, कमरेड माओले लेख्नु भएका रेडबुकहरू, चिनियाँ कथाहरू, गोर्कीको आमा, समाजको विकासक्रमसहित नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालको इतिहास, नेपाली प्रगतिशील साहित्य संघ सम्बन्धित थुप्रै पुस्तकसहित कार्ल मार्क्सको एकबोरा आलुको सिद्धान्त पढे नपढेको बारे जानकारी लिइएको थियो । कम्युनिस्ट पार्टीको सदस्य कति इमानी, कति शुद्ध, दृढ र वैचारिक हुनुपर्छ भनेर सुन्दर ढंगले पढाइएको पनि थियो !

एक बोरा आलुको सिद्धान्तमा जसरी सिंगो आलुको बोरामा एउटा मात्र कुहिएको आलु पर्यो भने त्यसले सबै आलु कुहाएर नष्ट, भ्रष्ट पारेर दुर्गन्धित बनाइदिन्छ । त्यसैगरी, समाजमा अशल, इमानदार र शुद्ध सर्वहारा क्रान्तिकारीले बनेको कम्युनिस्ट पार्टीमा पनि एउटै मात्र खराब, ठग या भ्रष्ट व्यक्ति घुस्यो भने त्यसले सम्पूर्ण पार्टीलाई नै नष्ट–भ्रष्ट गरिदिने स्वतःसिद्ध छ । यसैले कार्ल मार्क्सले कम्युनिष्ट पार्टीको अशल चरित्र जोगाइराख्न प्रतीकका रूपमा एकबोरा आलुको सिद्धान्त अघि सार्नु भएको हुनु पर्दछ ।

आजकल त्यो सिद्धान्त पढ्नु आवश्यक छैन जस्तो छ । अनि त्यस्तो कपट(छान गरेर कार्यकर्ता बनाउने कुरा क्रान्तिकाल सकिनुका साथै सकिएको अथवा आवश्यक नरहेको हुन सक्छ । अहिले त त्यो क्रान्तिकारिता कता हरायो कता । एकचरणको क्रान्ति सफल भइसकेर होला । क्रान्तिपछिको सरकार बन्यो । सरकारमा बहुमतसहित हामी बसिरहेका छौँ । क्रान्ति सफल भएकाले कार्यकर्ताको शुद्धताको औचित्य सकिएको पो हो कि ? त्यो एक बोरा आलुको सिद्धान्त पढाउने गुरूसमेत कतै बोलेको सुनिदैँन । जनताले लामो संघर्ष र दुःखले कमाएको आलुको बोरामा एकतिहाइ आलु कुहिएको गन्ध ठसठसी आइरहेको छ । भान्सामै राखिएको आलु कुहिएर ठसठसी गन्ध हो कि बास्ना छारष्ट भएको चर्चा भान्सेहरूबाटै बाहिर आइरहेको छ । तैपनि कसैलाई चासो भइरहे जस्तो लाग्दैन । सत्तामा बस्नेहरू चमत्कार गरेको बखान गर्दैछन । बाहिर बस्नेहरू माखो मरेन भन्दैछन् ।

के भइरहेको छ यहाँ ? कुरा बुझ्नै गाह्रो भो । हामीजस्ता सादा गाउलेहरूलाई ! आम जनसाधारणलाई ! भ्रष्टाचाररूपी दुर्गन्धले सर्वत्र प्रदूषण फैलाएको छ । विचरा जनता चारैतिर दुर्गन्धको थुप्रो देख्छन् । अनुभव गर्छन् । पीडित छन । तर सरकार न त्यो दुर्गन्ध देख्छ । न सुघ्छ । जनताले दैनिक भोगिरहेको दर्द र पीडा सरकारले महसुस गर्न सकिरहेको देखिदैँन । अझ कम्युनिष्ट पार्टीकै सरकार छ । वरिष्ठ कम्युनिस्टले चलाएको सरकार छ । त्यहाँ त कुहिएको आलु अवश्य त्याज्य हुनु पर्ने हो । तर भान्सा वरिपरी नै आलु कुहिएको दुर्गन्ध आएको चर्चा छ । तर पनि रैथाने भान्सेले त्यो महसुस गर्न नसकेको प्रष्ट देखिदैँछ । अनि उनीहरूलाई दुर्गन्ध नै सुगन्धित र प्रिय लाग्न थालिसक्यो भन्ने चर्चा चल्दैछ ? वास्तविकता के हो, जनता जान्न चाहन्छन् ।

कम्युनिस्टहरू आफैँमा इमानदार हुन्छन् । जो अशल कम्युनिस्ट छ त्यो बेइमान हुनै सक्दैन । जो बेइमान छ, त्यो कम्युनिस्ट हुन सक्दैन । कम्युनिस्टहरू स्वच्छ र खुला हुन्छन् । जो भ्रष्ट छ त्यो कम्युनिष्ट हुनै सक्दैन । टाढा जानै पर्दैन । नेकपाका संस्थापक क.पुष्पलाल र जननेता क.मदन भण्डारीको जीवन पढ्दा पुग्छ । कम्युनिस्ट पार्टीको सरकारमा बेइमान, भ्रष्टाचारी, तथा दुष्ट र दुराचारीहरूको कुनै स्थान हुनु हुदैन । आफूप्रति सचेत, मुलुकप्रति जिम्मेवार तथा कम्युनिस्ट आचरणप्रति स्पष्ट व्यक्तिमात्र कम्युनिस्ट सरकारको नेतृत्वमा रहनु पर्दछ ।
कहिलेकाहीँ झुक्किएर भ्रम दिएर गलत तत्व पनि कम्युनिस्ट पार्टी र सरकारमा प्रवेश गर्न सक्दछन । यदि पार्टी नेतृत्व सही छ र उसको गन्तव्य सही छ भने त्यस्ता तत्व पार्टीमा लामो समय टिक्न सक्दैनन् । कथंकदाचित त्यस्ता तत्वले गुँड बनाएको रहेछ भने पनि तिनको बहिर्गमन अनिवार्य हुन्छ । कम्युनिस्ट सिद्धान्तले त्यस्तालाई किमार्थ पनि स्वीकार गर्दैन । त्यस्ता बिग्रेका र सडेगकलेका तथा जनताबीच अस्वीकार्य भएका तत्वलाई चिनेर, छानेर फाल्न सके मात्र अशल कम्युनिष्ट चरित्र कायम रहन्छ । त्यसैले मार्क्सले एकबोरा आलुको सिद्धान्त अघि सारेको हुनु पर्छ ।

कम्युनिस्टहरूले सामन्तवादको विरोध गरे । कम्युनिस्ट पार्टीले सामन्ती सत्ताको अन्त्यको कुरा गर्यो । किनकी सामन्तवादले जनतालाई आफ्नो सेवक मात्र बुझ्दछ । सामन्ती सत्ताले उसको हुकुमलाई नै राज्यको आधार मान्दछ । उसको नजरमा नागरिक हुन्नन् । रैती मात्र हुन्छन् । जनतारूपी रैतीहरूको काम उसको चाकरी गर्नु हुन्छ । चाकरी गर फल खाऊ । उसको सिध्दान्त हो । चाकरी(चाप्लुसी नगर्ने, उसको सत्ता र शोषण जोगाउन चुक्ली नलगाउने बागी ठहरिन्थ्यो । त्यसैले हामीले सामन्तवाद उन्मूलनको कुरा गर्यौँ र किसान मजदुरको स्वतन्त्रताको आवाज बुलन्द गर्यौँ ।

हामीले पूँजीवादी प्रजातन्त्रलाई पनि अस्वीकार गर्यौँ । किनकी पूँजीवादी प्रजातान्त्रले पनि ठूला पूँजीपति र ठालुको मात्र सेवा गरेको देखियो । पूँजीवादी प्रजातन्त्रले नागरिकलाई भुक्ने हकसहितको नागरिक स्वतन्त्रताको कुरा त गर्यो तर आफ्ना नागरिकहरूको समानताको हकलाई स्वीकार गरेन । अर्थात् नागरिकहरूको शिक्षा, स्वास्थ्य र जीविकाको हकसहितको समानताको अधिकारलाई हास्यास्पद ठान्यो । अझ यसलाई असम्भव र वाहियात भन्दै पन्छाउने काम गर्यो । यही पूँजीवादी अकर्मण्यता र आधारभूत वर्गका श्रमजीवी जनताको समस्याबीचको अन्तरविरोध परिणाम कम्युनिस्ट पार्टीको जन्म भएको हो ।

यसरी सामन्ती शोषणदमन र उत्पीड़नबाट मुक्ति एवम् पूँजीवादी दानवीय चरित्र र अकर्मण्यताको गर्भबाट आधारभूत वर्ग तथा शोषित पीडित जनताको मुक्तिका लागि स्थापित पार्टी हो कम्युनिस्ट पार्टी । आज देशमा त्यही महान मार्क्सवादी सिद्धान्त र जनताको असाधारण त्याग तपस्या र बलिदानको मूल्यमा स्थापित कम्युनिस्ट पार्टीको सरकार छ । यस्तो स्पष्ट लक्ष र उद्देश्यसहित बनेको सरकार जनताको सेवा र मुक्तिलाई बिर्सिएर तुच्छ स्वार्थमा अलमलिन थाल्यो, भ्रष्टाचाररूपी आहालमा डुब्न थाल्यो भने के होला यो संसारमा ? के होला विचरा जनताको ? के होला हजारौँ शहीद र तिनको बलिदानको ।

मलाइ त अझै पनि पूर्ण विश्वास छ । झापा आन्दोलनदेखि निरन्तर संघर्षको इतिहास बोकेको, जननेता मदन भण्डारीले बनाएको पार्टी नेकपा एमाले र दशवर्षे जनयुद्ध लडेको अनि कमरेड प्रचण्डले बनाएको माओवादी केन्द्र जस्तो पार्टी मिलेर बनेको नेकपाजस्तो महान पार्टी र सरकार आफूलाई सम्हालेर अघि बढ्छ । अथवा जनताको अपार समर्थनबाट स्थापित यो सरकार सबै किसिमका फोहोरमैला साफ गर्दै अघि बढ्छ । राज्य र समाज विकासको अवरोधका रूपमा रहेको भ्रष्टाचार र अनर्गल गतिविधिया रूमलिएर यो सरकार बस्दैन । यो सरकारले कुनै पनि मूल्यमा बाटो बिराउने छैन । जनताको अपार समर्थनभित्र लुकेको आशा, भरोसा र विश्वास टुट्न दिने छैन । तर पनि जुन जोगी आए पनि कानै चिरेका भन्न थालेका छन जनता । जनताको भनाइको पछाडिको सत्यता जाँचेर आफूलाई ठीक गर्दै लक्षमा अघि बढ्नु पर्दछ । कहीँ एक बोरा आलुको सिद्धान्त लागू गर्नु पर्ने छ कि ? जनताबाट सुन्नु अनि जनताकै अनुसार गर्नु । ‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो । जनतालाई अर्ति मात्र सुनाउने आफूचाहिँ भर्ती मात्र गर्ने अशल कम्युनिस्ट चरित्र होईन । आफूलाई मात्र ठीक ठान्ने चरित्र पनि अशल कम्युनिष्ट चरित्र होइन । अशल कम्युनिष्ट बन्नेतिर अघि बढौँ । जनमुखी र अशल संस्कार बसालौँ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…