–मदन अर्याल
नेपाली साहित्यका एकजना प्रखर समालोचक, सक्रिय चिन्तक र वामपन्थी आन्दोलनका एक अगुवाको नाम होः गोविन्द भट्ट । बहुमुखी प्रतिभाका धनी भट्ट समालोचक र चिन्तकका अलावा, एक कवि, भाषाविज्ञ, अनुवादक, प्राध्यापक, दार्शनिकजस्ता विविध विशेषताले सुशोभित थिए । वरिष्ठ वामपन्थी बुद्धिजीवीको रुपमा समेत स्थापित भट्ट स्पष्ट वक्ता थिए । उनको प्रस्टताका अगाडि सबै नतमस्तक हुन्थे ।
१९९४ साउन २ गते रौतहटको पुरनियामा जन्मिएका भट्ट सानैदेखि तिक्ष्ण स्वाभावका थिए । जानेका र सिकेका कुरालाई तुरन्तै कापीमा टिपिहाल्ने बानीले निकै पछिसम्म उनलाई मद्दत गरिरहृयो । कट्टर ब्राहृमण परिवारमा जन्मिएर धार्मिक अनुशासनको कठोरपतार्वूक पालना गरेका भट्टले सानैमा निकै संस्कृतका श्लोक घोकेका थिए । जसले उनलाई ‘आचार्य’ पदवि दिलाउन सहयोग गर्यो ।
‘आम नेपाल’ शीर्षकको निबन्ध बनारसबाट निस्कने ‘युगवाणी’ मा प्रकाशित भएपछि औपचारिकरुपमा नेपाली साहित्याकाशमा पाइला टेकेका भट्टको पहिलो पुस्तकाकार कृति शान्ति सन्देश (खण्डकाव्य) २०२४ मा प्रकाशित भयो । यस कृतिलाई नेपाल विद्यापीठमा एसएलसीसरहको परीक्षाको पाठ्यक्रममा समेत सामेल गरिएको छ । शान्तिसन्देशसहित करिब एक दर्जन पुस्तकार कृति प्रकाशित गराएका भट्टले केही पुस्तक अनुवाद पनि गरेका छन् । सत्यबहादुरको कथा (काव्य), युगविजय (लघुकथा), गधा र मानिस (निबन्ध संग्रह) नेपाललाई बुझ्ने समस्याः एक लामो र कठिन प्रक्रिया (समाजशास्त्र), अन्तरविरोधबारे मार्क्सवादी चिन्तन (दर्शन), आधुनिक युग आधुनिक साहित्य र नयाँ साहित्य (समालोचना), चीनका चार आधुनिकीकरणहरु, गोविन्द भट्टका समालोचनाहरु (सम्पादक रविलाल अधिकारी), गोविन्द भट्टका मार्क्सवादी चिन्तन, गुण्डादिपे र माई मदर (अनुवाद) लगायतका छन् ।
नेपाली साहित्यमा खरो समालोचकका रुपमा चर्चित गोविन्द भट्टको ‘शिरिषको फूल कि कागको फूल’ शीर्षकमा पारिजातको कृति ‘शिरिषको फूल’ माथि गरिएको समालोचना र विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्तीमाथि गरिएको समालोचनाले उनलाई चर्चाको शिखरमा पुर्याइदियो । भट्टका थुप्रै फुटकर समालोचना, समीक्षा र भूमिका पनि प्रकाशित छन् ।
यस्ता बहुमुखी प्रतिभाका धनी व्यक्तित्व भट्टको २०६८ असोज २५ गते बुधबार हृदघातका कारण ७३ वर्षको उमेरमा गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा मृत्यु भयो ।
नेपाली वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यका वरिष्ठ व्यक्तित्व भट्ट चीन र विश्वका परराष्ट्र नीतिबारे निकै पोख्त हुनुहुन्थ्यो । उहाँले चिनियाँ रेडियो पेकिङ (हाल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई) मा भाषा विशेषज्ञका रुपमा करिब १५ वर्ष काम गर्नुभयो । त्यसबखत उहाँले चिनिया सामाजिक विज्ञान एकेडेमीमा अतिथि प्राध्यापक भएर समेत अध्यापन गर्नुभयो । प्रगतिशील लेखक संघ नेपाल र गोरखापत्र संस्थानका अध्यक्ष समेत रहिसकेका भट्ट नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत हुनुभएको थियो ।
नेपाली भाषा साहित्यमा समर्पणभावका साथ लागेबापत भट्टले महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान, कृष्णमणि साहित्य पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, गोकुल स्मृति पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, सर्वदा वाङमय पुरस्कार, प्रज्ञा प्रतिष्ठान कविता महोत्सव पुरस्कारमा साथै अरु धेरै सम्मान पाउनु भएको थियो । मदनको ब्लगबाट