नेपालका पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यको जन्म २००१, वैशाख २६ मा मोरङको विराटनगरमा भएको थियो। समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाकी भान्जी हुनुहुन्थ्यो ।
उहाँको पारिवारिक सम्बन्ध नै राजनीतिक प्रकृतिको थियो । कृष्णप्रसाद कोइरालाको पहिलो श्रीमती मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद जन्मनु भएको थियो भने छोरी इन्दिराको कोखबाट शैलजा । कान्छी श्रीमती दिव्या कोइरालाबाट बिपी कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो।
[caption id="attachment_120608" align="alignright" width="150"]
–सुरेन सापकोटा[/caption]
पिता डा. पिनाकी र आमा इन्दिराको जेठो सन्तान शैलजाले कोइराला परिवार तथा बिपी कोइरालाको सान्निध्यमा राजनीतिक यात्रा शुरु गरी आफ्नो मृत्युपर्यन्त बिपीको विचार र नेपाली कांग्रेसप्रति निष्ठासाथ उभिनु भयो। शान्तिपूर्ण सङ्घर्ष होस् वा सशस्त्र आन्दोलन, शैलजाको उपस्थिति अग्रपंक्तिमा हुन्थ्यो । पुस १६, २०३३ मा बिपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै नेपाल फर्कने नेताहरुमा शैलजा पनि पर्नुहुन्छ। काठमाडौं आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि उहाँले पहिलो समूहमै नेपाल आउन रुचि देखाउनुभयो । निरंकुश र बदलाको भावको अवस्थामा रहेको पञ्चायती व्यवस्थामा सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेको तथ्यलाई पत्याउन जो कोहीलाई कठिनाई थियो । त्यो पृष्ठभूमिमा नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो ।
२०१७ मा राजा महेन्द्रलाई सार्वजनिकस्थलमै कालो झण्डा देखाएका कारण राजनीतिक कैदीका रुपमा ३ वर्ष जेल जिवन बिताउँनु भएकी आचार्य २०४८ को आमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई करिब १ वर्ष कृषि वन तथा भूसंरक्षण मन्त्रीका रुपमा काम गर्नुभयो । २०५१ को मध्यावधि निर्वाचनमा उहाँ पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभयो ।
निर्वाचित भएसँगै महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर पाउनुभएकी शैलजालाई आफ्नो मन्त्रालयमा नीतिगत रूपमा ठूलो प्रभाव पार्ने नेताको रूपमा सम्झिने गरिन्छ । आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितिबिरुद्ध खरो उत्रने आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजीनामा नेपाली राजनीतिमा उदाहरणीय घटना हो । देशका परियोजनामा सामुदायिक स्वामित्व स्थापित हुनुपर्छ भन्दै जलस्रोतमा सामुदायिक विदुत् नीति लागु गर्नुभएको थियो । नेपालका लागि भारतीय राजदुतसमेत रहनुभएकी आचार्यलाई एक सफल कुटनीतिज्ञका रुपमा समेत लिने गरिन्थ्यो । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर र शैलजालाई राजनीतिक र वैयक्तिक रुपमा समेत एक नजिकका मित्रको रुपमा समेत हेर्ने गरिन्थ्यो ।
आमरुपमा शैलजा एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो । महिला हकहितको सवालमा पनि उहाँले प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो । महिलाका हकअधिकारका प्रावधान समेटिएको मुलूकी ऐनको एघारौं संशोधन ल्याउनमा आचार्यको योगदान रहेको छ । आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर उहाँ त्यसलाई विधेयकको रूप दिन सफल हुनुभएको थियो। जीवनमा कहिले सफलता र कहिले असफलता हात लाग्नु स्वाभाविक हो । त्यस मानेमा शैलजा पनि अपवाद हुनुभएन। तर, प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान शैलजाले देखाउनुभयो त्यो भावी पिँढीका लागि समेत अनुकरणीय छ ।
प्रतिकुल परिस्थितिमा पनि धैर्य र साहसका साथ आफूलाई उभ्याउने शैलजा आम नेपाली र विशेषगरी नेपाली महिलाका लागि प्रेरणाको स्रोत नै बन्नुभयो । लामो समय अल्जाइमर र निमोनियाबाट पीडित नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला आचार्यको अन्ततः काठमाण्डौस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ६५ वर्षकै उमेरमा २०६६ जेठ २९ गते आजकै दिन निधन भएको थियो ।
आज नेपाली कांग्रेस पार्टीभित्रै मौलाएको नेतृत्वको महत्वाकांक्षा र गुटगत राजनीतिमा रमाउने नेताहरुको परिपाटी, बेथिति र हुर्कंदै गएको राजनीतिक बिसंगतिलाई चिर्दै उहाँले देखाएको साहस, इमान्दारिता, त्याग र निष्ठाको मार्गमा अगाडि बढ्नसके मात्र शैलजाप्रति सच्चा अर्थमा श्रद्धाञ्जली हुनेछ ।
– न्युयोर्क, अमेरिका