जनकपुर हुलाक कार्यालयमा सञ्चारकर्मीकाे धर्ना

विद्यानन्द राम
राजविराज । पत्र–पत्रिकालाई प्रदान गरिएको लोक कल्याणकारी विज्ञापन वापतको पैसामा कटौती गरिएको विरोधमा सप्तरीका एक दर्जनबढी सञ्चारकर्मीहरुले बुधवार जनकपुरस्थित हुलाक कार्यालयमा धर्ना दिएका छन् ।
स्थानीय पत्र–पत्रिकालाई बन्द गराउने नियतले १० महिनापछि विज्ञापन वापतको रकम प्रदान गरिएपनि अधिकांश पत्रिकाको ४०–७० प्रतिशत रकम कटौती गरिएको उनीहरुको भनाइ छ । रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको धर्नाका सहभागी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभएको छ ।
‘संघ र प्रदेश दुवै सरकार मातहतका जिम्मेवार निकायहरु जानकारी नगराएको होईन’ उहाँले भन्नुभयो, ‘तर एकातिर आश्वासन र आलटाल छ भने अर्को तिर मौनता छाएको छ ।’
उहाँले प्रदेश र संघ सरकारकासाथै लोकतान्त्रिक परिपाटीको धरोहर मान्ने नेतृत्व वर्ग, मधेशका ठुला नेताहरु लगायत आफूहरुको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । आफूहरुको मागको सुनुवाई नभए नभए मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने उहाँको चेतावनी छ ।