विद्यानन्द राम सप्तरी । १९ वर्ष लामो अन्तरालपछि जनताले गाउँमै सिंहदरबारको अधिकारसहित स्थानीय सरकार पाए । २०७४ सालमा भएको निर्वाचनबाट स्थानीय तहले सरकार पाएपछि जनताको ठुलो भरोसा र अपेक्षा जोडियो । मधेश र मधेशी जनतामाझ रहेको समस्या, अभाव र हक अधिकारलाई नजिकबाट नियाल्ने दललाई भोट दिएर जनप्रतिनिधि चयन गरेपछि भरोसा र अपेक्षा जोडिनु स्वभाविक पनि हो ।तर, स्थानीय तहका प्रमुख र उपप्रमुखबीच नै आन्तरिक द्वन्द्व चुलिँदा आत्मनिर्भरता, युवा स्वरोजगार, गुणस्तरीय शिक्षा, विकास निर्माण आदि कार्य सम्पादनमा ठुलो असर पर्दै गएको छ ।सन्दर्भ, बोदे बरसाइन नगरपालिका सप्तरीकाे हो । कता - कता र के - के नमिलेको जस्तो । सुन्दा पनि अचम्म लाग्न सक्छ। एउटै पार्टीबाट निर्वाचित नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादव र उपप्रमुख रञ्जुकुमारी साहबीच एक वर्षदेखि बोलचाल बन्द छ ।वडा नं. ३ का स्थानीय पप्पुकुमार यादवले भने– ‘जनप्रतिनिधिमै यसरी बोलचाल नै बन्द हुने र विवाद बढ्न थालेपछि जनताले उनीहरुबाट के अपेक्षा गर्ने ।’ वडाध्यक्षका प्रत्यासी समेत रहेका यादवले मेयर र उपमेयरबीच सेवा सुविधा वा अन्य कुरामा बाँडफाँडको कुरा नमिलेकोले यस्तो अवस्था आएको बताए ।यादव भन्छन्, - ‘फरक पार्टीका मेयर र उपमेयर भएको भए जनतालाई बुझ्न सजिलो पनि हुन्थ्यो होला । ‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ । ‘ स्थानीय सरकार आएको दुई वर्ष बित्नै लाग्दा याे विवादले विकासकार्यमा ठुलाे असर समेत गरेकाे छ ।वडा नं. ५ का संजय यादवले भने–‘मेयरले पनि समस्या समाधान गर्नुपर्ने हो । खै अब त उहाँहरुको विवादले जनतालाई पनि प्रत्यक्ष समस्या पर्न थालेको छ ।’वडा नं. ५ कै राजु विश्वकर्मा, उहाँहरुबीच देखिएको विवाद समाधान गरेर जनतालाई चुनावको बेला देखाएको सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा विवाद पालेर बस्नु ज्यादै दुखद रहेको बताउँछन् । उनले भने– ‘मेयर नगरको अभिभावक हो, तर मेयरको भुमिका अभिभावक जस्तो देखिएन् ।’दुईजनाबीच तालमेल नमिलेकै कारणले उपमेयरले सूचना माग गर्नु, नगरपालिकाको विज्ञापनमा अवरोध खडा गर्नु र स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयरलाई अधिकारबाट वञ्चित गराएको भन्दै मुद्दा हाल्नु जस्ता कुराले नगरको विकासमा प्रत्यक्ष बाधा पुगेको विश्वकर्माले भनाइ छ ।मेयर र उपमेयरको विवादले अन्य जनप्रतिनिधिलाई समेत काम गर्न असहज भएको भन्दै उनले सुन्दर र विकसित नगर निर्माणका लागि मेयर उपमेयर दुवैले विवाद समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । मेयर यादव र उपमेयर साह तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका हुन् ।यस्तो भन्छिन् उपमेयर सिंगो पालिकाको न्यायका लागि प्रतिनिधि बनेकी उपमेयर रञ्जुकुमारी साहले आफुमाथि अन्याय भएको दुखेसो गरेकी छन् । भन्छिन्, ‘मेरो गुनासोको सम्बोधन कसैले गरेको छैन’ र ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार बमोजिम आफुले उपप्रमुखको हैसियतबाट कुनै पनि काम गर्न पाएको छैन् ।’सेवासुविधाका कुरा त परै जाओस्, यसबारे मेयरसँग केही कुरा गर्न समेत नपाएको उनको गुनासो छ । ‘बजेट तर्जुमादेखि विभिन्न विकासका कार्यक्रममा पनि मेयरले आफ्नै निर्णय मात्र लागु गरिरहेका छन् ।’ उनले भनिन्–‘पालिकाले कहाँ के खर्च गर्दै छ, भन्ने कुरा पनि मलाई थाहा हुँदैन ।’बजेट खर्चिएको विषयमा आम नागरिकलाई पनि बुझ्न नेपालको संविधानले अधिकार दिएको भन्दै उपमेयर साहले भनिन, - ‘म त उपमेयर हुँ ।’ विकास निर्माणको कामबारे बुझ्न आफुले सूचनाको हक बमोजिम निवेदन दिएपनि मेयरसाबले विवरण नै उपलब्ध गराउनुहुन्न ।’मेयर के भन्छन् ?मेयर आतेशकुमार सिंह यादवले जनप्रतिनिधि वा आमजनता माझ मेयरको दायित्व पूरा गर्न आफु कतै पनि नचुकेको बताए ।भन्छन्,- ‘नगरमा भईरहेको विकास कार्यबारे जनतालाई सोध्नुस् ।’ बोलचाल बन्द किन छ ? भनेर सोध्दा साह भन्छन्, - ‘विभिन्न बैठक, गोष्ठी वा कार्यपालिकाको बैठकमा बोलचाल भएकै छ नि ।’मेयर यादवले उपमेयरलाई चित्त नबुझेका कुरामा माग गरेका सूचना नगरपालिका कार्यालयबाट उपलब्ध गराईरहेको दावी समेत गरे ।बोदे बरसाइन नगरपालिका वोदे वरसाईन, सारस्वर, फुल्काही, मनराजा, खडकपुर, काचन, देउरी तथा धनगढीका (१–८) वडा र नेगडा लगायतका पुराना गाविस समेटेर बनेकाे छ ।१० वडा रहेको नगरपलिकामा ४३ हजार २२९ जनसंख्या छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६ १५:२९