काठमाडौं । मुलुकको हरेक कार्यक्रममा अतिथिहरु ढिलो पुग्छन् । त्यसबाट आयोजक र सहभागीलाई सास्ती हुने गरेको छ । कार्यक्रम चलिरहेकै बेला संचालकले बीचबीचमा आसन ग्रहण गराइरहन्छन् । त्यसबाट कार्यक्रम लम्ब्यतान बन्न पुग्छ । कार्यक्रमको त्यस्तो स्वरुप परिवर्तन गर्नुपर्ने आवाज समेत उठ्ने गरेको छ तर सबैले पुरानै शैलीमा कार्यक्रम गरिरहेका छन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमको शैली बदल्नु पर्ने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री नेपालले शनिबार चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा सामुदायिक अस्पतालको भवन शिलान्यास गर्दै कार्यक्रममा सबैलाई अतिथि बनाएर आसनग्रहण गराउने चलन अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।'कार्यक्रममा यतिधेरै अतिथि बनाइन्छ, आसनग्रहण गराइन्छ’ उहाँले भन्नुभयो, ‘मन्त्रीज्यू, सांसदज्यू, पूर्वमन्त्रीज्यू, पूर्वसांसदज्यू, प्रदेश सांसद ज्यू, प्रदेश सांसद चाँहि पूर्व भइसकेका छैनन् । विभिन्न पार्टीका नेता , नपरपालिकाका मयेर ज्यू, कार्यकारीज्यू, वडा अध्यक्षज्यू, व्यापारी, बुद्धिजीवि, कर्मचारी र शिक्षक अतिथिको नाम बोलाउँदा बेलाउँदै आधा दिन बित्ने । यस्तो चलन अन्त्य गर्नुपर्छ । आयोजकलाई अझै अर्को समस्या छ । प्राय जसो कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरु ढिलो पुग्छन् । कार्यक्रममा अतिथिलाई कति समय कुर्ने ? ढिलो पुग्ने अतिथिलाई आसनग्रहण नगराउनुस् । घाममा राख्नुस् ।’
पूर्वाधार निर्माण सोच पशुपतिनाथ र स्वयम्भू जस्तो होस्पूर्व प्रधानमन्त्री नेपालले पूर्वाधार विकासमा दीर्घकालीन सोच हुनुपर्ने उल्लेख गर्नुभयो । ‘विकास निर्माणमा दीर्यकालीन सोच हुनुपर्छ, बनाउने अनि केही वर्षमै भत्काउने गर्नु हुँदैन’ उहाँले भन्नुभयो, ‘जसरी मन्दिर बनाएर भत्काइदैंन । विकास निर्माण पनि त्यस्तै हुनुपर्छ । पूर्वाधारमा यस्तो सोच होस् कि, युगौंयुग रहोस् । पशुपतिनाथ र स्वयम्भू जस्तो होस् ।’ सडक र खानेपानी लगायतका पूर्वाधार विकासमा वडादेखि केन्द्रसम्म नै समन्वय हुनुपर्ने नेता नेपालको भनाइ छ ।
‘एक अर्कामा समन्वय नहुँदा बनेको संरचना भत्काउनु पर्ने अवस्था समेत आउन सक्छ, बनाइसकेपछि भत्काउनु राम्रो होइन’ उहाँले भन्नुभयो, ‘सडक निर्माण गर्दा वडाले नगरपालिकासँग समन्वय गर्नुपर्छ, नगरपालिकाले प्रदेशसँग र प्रदेशले केन्द्रसँग । यसरी समन्वय गरियो भने एउटाले बनाइको संरचना अर्कोले भत्काउनुपर्ने हुँदैन ।नेता नेपालले सडक, सार्वजनिक जग्गा र वन अक्रिमण गर्ने आम प्रवृति रहेको स्मरण गराउनुभयो । ‘मानिसले बाटोको लागि एक फिट जग्गा छोड्न सक्दैनन, छाड्ने त परै जाओस् उल्टै मिच्ने प्रवृति छ’ उहाँले भन्नुभयो, ‘वन पनि अतिक्रमण गर्ने प्रवृति छ । वनमा शुुरुमा एउटा ढुंगाको मूर्ति राख्यो, अनि त्यसमा पूजा गर्न थाल्यो । केही वर्षमा त्यही मन्दिर बनायो । अनि मन्दिर छेउमा धारो बनायो, शौचालय बनायो , त्यसपछि त्यहाँँ हलसहितको भवन बनायो । पूजारीलाई बस्ने निवास बनायो । अनि त्यो निवास पूजारीले आफ्नो नाममा बनाउँछ । मन्दिरमा पूजारी फेरिन्छ । अर्को पूजारीलाई वनभित्रै फेरि निवास बनायो । त्यसतो गर्दा गर्दै त्यहाँ एउटा बस्ती नै बन्छ । बस्ती वरपरको रुख, बोट विरुवा काट्यो वन मास्यो । यस्तो प्रवृति अन्त्य गर्नुपर्छ ।’
वन मासे मानिस मासिन्छन्नेता नेपालले वन मानव तथा प्राणीको जीवनसँग जोडिएको उल्लेख गर्दै त्यसलाई मास्न नहुने बताउनुभयो । ‘बोट विरुवाले अक्सिजन अर्थात् प्राणवायु दिन्छ’ उहाँले भन्नुभयो, ‘त्यसकारण वन जोगाए हामी जोगिन्छौं, वन मासे हामी मासिन्छौ ।’
केबलकार, मातातीर्थ र त्रिभुवन पार्क चन्द्रागिरीको शान’पूर्व प्रधानमन्त्री नेपालले चन्द्रगिरी बेवलकार, मातातीर्थ र त्रिभुवन पार्क चन्द्रागिरी नगरपालिकाको शान बनेको उल्लेख गर्नुभयो ।
गुठीबारे छलफल आवश्यकपूर्वप्रधानमन्त्री नेपालले अहिले विवाद भइरहेको गुठी विधेयकबारे सरकारले सम्बन्धित पक्ष र विज्ञसँग छलफल गर्नुपर्ने बताउनुभयो ।चन्द्रागिरी नगरपालिको वडा नम्बर ८ स्थित मातातीर्थमा २५ शैयाको सामुदायिक अस्पताल निर्माण गरिने भएको छ । अस्पताल प्रदेश र नगरपािलकाको सहयोगमा ३ रोपनी ७ अना जग्गामा निर्माण गर्न लागिएको हो ।