काठमाडौं । प्रायजसोको भान्सामा पाक्ने काउली र बन्दामा स्वाद छैन । गोलभेडा रसिलो छैन् । गाजर, मुला र काक्रो पनि खल्लो छ । त्यसको कारण हो किटनाशक औषधि अर्थात् बिषादी । किसानले बालीलाई किराबाट जोगाउन उत्पादनमा किटनाशक औषधि छरिरहेका छन् । खेतबारी भरी बिषादी छ । त्यसको असर उपभोक्तालाई परिरहेको छ । आमनेपालीको भान्सामा बिषादी पसिरहेको छ, तरकारीको माध्यमबाट । उपभोक्ताले गासैपिच्छे बिष खाइरहेका छन् । उपभोक्ताको स्वास्थ्य जोखिममा छ । तर चासो छैन कसैलाई । चिन्ता छैन कसैलाई । नियमनकारी निकाय मौन छ । मौनताभित्रै बिष मौलाइरहेको छ ।बाली जोगाउन र उत्पादन बढाउन किसानले बिषादी छर्छन् । बिषादी छरेको तरकारी कम्तीमा एक साता टिप्नु हुँदैन । तर त्यो थाहा छैन कृषकलाई । बिषादी छरेको ३ दिन नपुग्दै टिपिन्छ तरकारी । अनि पुर्याइन्छ बजारमा । त्यस्तो तरकारी निकै हानिकारक हुन्छ । किसानको अज्ञानताले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको छ ।किसानदेखि व्यापारी, सबैमा छिटो कमाउने होडबाजी छ । धेरै कमाउने होडबाजी छ । त्यही होडबाजीकै कारण किसानले तरकारीमा बिषादी छरिरहेका छन् । किसानको कमाउने होड, उपभोक्ताको स्वास्थ्य माथि खेलवाड । किसानको लापरवाही, उपभोक्तालाई जीवन घात । खान हुन्न भन्ने थाहा हुँदाहुँदै, तरकारीमा किन हालिन्छ बिषादी ? मुलुकमा वर्षेनी ३० करोड रुपैयाँ भन्दा बढीको बिषादी खपत हुने गरेको छ । कहाँबाट आउँछ तेत्रो बिषादि । कसरी हुन्छ त्यसको प्रयोग ? सरकारले आम नागरिकलाई स्वस्थ बनाउने उद्घोष गर्दै आएको छ । सबैलाई स्वस्थकर पोषण दिने प्रतिबद्धता जाहेर गरिरहेको छ । तर सरकारको यो उद्घोषलाई बिषादीले चुनौती दिएको छ । कसरी पन्छाउने यो चुनौतीलाई ?तरकारीमा व्यावसायिकीकरणसँगै खेतबारीमा आयातित बिउबिजन हालियो, अनि त्यसमा बिषादी प्रयोग गर्न थालियो । जुन अहिले स्वास्थ्यमा चुनौती बनिरहेको छ । के बिषादी नहाली तरकारी उत्पादन गर्न सकिँदैन ? नेपाल कृषि प्रधान देश । खेतीमा कसरी चुक्यौ हामी । कहाँ गयो हाम्रो मौलिकता ? बोट बिरुवामा लाइकीरा लाग्दा खरानी छर्ने । रोग लाग्दा निमपत्ताका झोल हाल्ने, के हुँदैछ आइपिएम विधि ? जसलाई बिषादीले पेलिरहेको छ ।तरकारी विकास निर्देशनालयका अनुसार मुलुकमा आलु बाहेक विभिन्न जातका तरकारी २ लाख ८१ हजार ८ हे्क्टरमा व्यवसायिक रुपमा लगाइएको छ । त्यसबाट वार्षिक रुपमा कम्तीमा २५ लाख ३८ हजार ९ सय ४ टन उत्पादन हुने गरेको छ । तरकारी कृषकले विषादी नहाली उत्पादन गर्देनन ।मुलुकमा ५ हजार ६ सय ५६ जनाले विषादी बेच्ने अनु्मति पाएका छन । बिक्री अनुमति कृषि विकास कार्यालयले दिने गरेको छ । कृषि कार्यालयले बिक्रेतालाई विषादी प्रयोग बारे तालिम दिएर मात्र बिक्री अनुमति दिन्छ । कृषकलाई बिक्रेताले नै छर्ने र त्यसरी बिष हालिएका तरकारी टिप्ने तरिका सिकाउनु पर्ने हुन्छ । तर बिक्रेताले छर्ने तारिका सिकाए पनि तरकारी टिप्ने तरिका भने सिकाएको पाइँदैन ।सरकारले अर्गानो क्लोरिन र अर्गानो फोस्फेड जात अन्तरगतको कडा खालका १४ विषादीलाई प्रयोग गर्न प्रतिबन्ध गरेको छ । यसलाई ०५१ देखि बन्देज गरिएको हो । यसको बेचन बिखन र प्रयोग गर्नेलाई ‘विषादी ऐन ०४८ र यस सम्बन्धी नियमावली ०५० अन्तरगत कारवाही हुने प्रावधान छ । ऐन र नियमावली बन्नु अघि यी विषादी बालीमा प्रयोग हुने गरेको थियो ।
प्रतिबन्धित विषादीक्लोरोडीन, डी.डी.टी., डायलडीङ, अलडीङ, हेम्टाब्ल, टोक्साफेन, मिरेक्स, वि.एस.सी, लिनडीन, फस्फाडेन , अर्गानो मकरी फङगीसाइड, मिथाइल पाराथिएन र मनोक्रोटोफस
लापरबाही तवरले प्रयोगतर त्यही जातकै अलि नरम खालका विषादी भने प्रयोग गर्नु छुट छ । कृषकले त्यही जातकै ढुसीनाशक, मोसानाशक, झारपात नाशक,जैविक र अन्य गरी ३६ किसिमका विषादी छर्ने गरेका छन् । व्यवसायिक किसानले विषादी बढी छर्ने गरेका छन् । तर किसानलाई कुन बालीमा कुन विषादी कति हाल्नु पर्छ ? भन्ने प्रविधिक भने खास्सै छैन । कृषकले गोलभेडालाई कुहिनबाट जोगाउन फङगीसाइड छर्छन । यो विषादी छरेको १०÷१२ दिन सम्म गोलभेडा खानु हुदैन । तर किसानले कीटनाशक औषधी छरेको २÷३ मै बेच्ने गरेका छन ।साग लगायतका तरकारीलाई लाइकिराबाट बचाउन फोस्फेड छर्ने गरिएको छ । फोस्फेड छरेको तरकारी एक साता भित्रै खाए स्वास्थ्यको हानिकार हुन्छ । तर किसानले औषधि छरेको भोलि पल्टै नै टिपेर बेच्ने गरेका छन ।
विषादी छरेको कति दिनसम्म खान नहुने
विषादी | दिन |
अर्गानो फोस्फेड | २१ देखि ३० |
सेन्थेथिक पाइथोराइड | ७ देखि १५ |
फङगी साइड | १० देखि १२ |
फोस्फेड | ७ दिन |
वर्षेनी ३० करोडको बिषादीकृषकले अन्न, फलफुलमा छर्ने गरेको मध्ये केही विषादी केही नेपालमै उत्पादन हुने गरेको छ । केही भारत र चीन लगायतका मुलुकबाट आउछ । विषादी १० ग्रामदेखि एक किलो सम्मको तौलमा बिक्री हुने गरेको छ । यसको ४० रुपैयाँ देखि ५ सय रुपयाँसम्म पर्छ । बिषादी महा शाखाका अनुसार मुलुकमा विभिन्न राष्ट्रबाट वर्षेनी ३० करोड रुपैयाँ भन्दा बढीको किटनाशक औषधि भित्रिने गरेको छ ।
भिडियाे हेर्नुहाेस् :https://www.youtube.com/watch?v=7D5R4gXG_-w