काठमाडौं । वी विल राइज फाउन्डेसनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी आयोजना गरेको भिडियो च्यालेन्जमा जनताकर्मी विक्रम न्यौपानेले बनाएको भिडियो तीन विधामा मनोनीत भएको छ ।
न्यौपानेले लमजुङको राइनास नगरपालिकास्थित होमस्टे र प्याराग्लाइडिङकाे पर्यटकीय सम्भावना समेटेर भिडियो बनाउनुभएकाे थियाे । न्यौपानेको ‘राइनास’ नामक भिडियो भिडियो पब्लिक च्वाइस अवार्ड, बेस्ट टेक्निकल/सिनेम्याटोग्राफर अवार्ड र बेस्ट भिडियो अफ द इयरको अवार्डमा मनोनीत भएको हो ।
ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’मा सहभागी १ सय ३२ भिडियोबाट ८ विधामा ४७ भिडियो मनोनयनमा परेका छन् ।
गत जनवरीमा प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने प्राकृतिक, सांस्कृतिक सम्पदा, कला संस्कृति भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो निर्माणका लागि आह्वान गरिएको थियो ।
मनोनित भिडियोहरुको अवार्ड वितरण असार १६ गते काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुने ‘वी विल राइज’ अभियानका संयोजक निर्मल श्रेष्ठले जानकारी दिनुभयो ।
भिडियो च्यालेन्जको निर्णायक टीममा अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्मा हुनुहुन्छ ।