बरु आफ्नो बलमा सरकारलाई करेक्सन गर्न नसकिरहेको कांग्रेसले पछिल्लो पटक गुठी विधेयक फिर्ताको विषयलाई लिएर राजधानीको नेवार समुदायले आन्दोलन थालेपछि राहत महशुस गर्यो । संसदमा जति टेबुल ठटाउँदा पनि सरकारले टेरपुच्छर नलगाएको तर माइतीघर मण्डलामा जनता जाग्नासाथ गुठी विधेयक फिर्ता गरिदिएको घटनाले काँग्रेस जिल्ल परेकाे छ
नरेश न्यौपाने/समाचार टिप्पणी
संसदीय भूमिकाः
संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भारी बहुमत छ । केही राजनीतिक दल सहितकाे दुई तिहाइ सरकार छ । संसदमा संख्यात्मक रूपमा प्रतिपक्ष नेपाली कांग्रेस निकै कमजोर छ । तर, संसदीय पद्दतिमा पनि प्रतिपक्षले राम्रो भूमिका खेल्यो भने त्यसलाई बहुमतको सरकारले समेत उपेक्षा गर्न सक्दैन । प्रतिपक्षलाइ संसदकाे गहना पनि मानिन्छ । तर कमजोर अवस्थामा रहेको नेपाली काँग्रेसको संसदमा प्रतिपक्षीय भूमिका भने प्रभावकारी बन्न सकेको छैन् ।
संसदीय परम्पराअनुसार भन्दै छाया सरकारको अभ्यास गरिरहेको काँग्रेसको भूमिका केवल जनमत कमजोर भएकाले मात्रै संकुचित भएको भने पक्कै होइन । संसदमा सरकारका विभिन्न विधेयकको सामान्य प्रतिवाद गर्नु बाहेक उसको गतिलो प्रस्तुति देखिएको छैन् । बरु आफ्नो बलमा सरकारलाई करेक्सन गर्न नसकिरहेको काँग्रेसले पछिल्लो पटक गुठी विधेयक फिर्ताको विषयलाई लिएर राजधानीको नेवार समुदायले आन्दोलन थालेपछि राहत महशुस गर्यो । संसदमा जति टेबुल ठटाउँदा पनि सरकारले टेरपुच्छर नलगाएको तर माइतीघर मण्डलामा जनता जाग्नासाथ गुठी विधेयक फिर्ता गरिदिएको घटनाले कांग्रेस जिल्ल परेकाे छ ।
यद्दपि सरकारले एकपछि अर्को गर्दै विभिन्न महत्वपूर्ण विधेयक संसदमा पेश गरेपनि एकल प्रयत्नले त्यसलाइ सच्याउने वा फिर्ता लिने परिस्थिति भने थिएन । के संसदमा काँग्रेसको अवस्था झन -झन निष्प्रभावी बन्दै गएको हो त ? भन्ने प्रश्नमा काँग्रेस सांसद राजेन्द्रकुमार केसी भने सहमत छैनन । उनी भन्छन्, ‘गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा नेपाली कांग्रेसको अवरोध र सक्रियताले नै सम्भव भएको हो र जनतालाई माइतीघरमा हामीले नै एकत्रित गरेका हौं ।’
जनतामा आशंका यथावतः
पछिल्लोपटक सरकारलाई अधिनायकवादी बाटोमा उद्दत भइरहेको आरोप लगाउँदै आएको काँग्रेसआफैले भने जनताको अझै विश्वास जित्न सकेको देखिंदैन । सरकारले संसदमा पेस गरेका मिडिया, सार्वजनिक खरीद ऐन र गुठी लगायतका विधेयकको जनस्तरमा व्यापक आलोचना भएकाे छ । तर काँग्रेसले भनेझैं जनताका सामु सरकारका भण्डाफोर गर्न सकेन । आफ्नो आन्तरिक सांगठनिक व्यवस्थापन १४ औं महाधिवेशनको सन्निकट आइपुग्दा पनि पूरा गर्न नसकेको कांग्रेसले सरकारको मात्रै आलोचना गर्नुको खासै अर्थ नहुने बताउँछन्, वरिष्ठ पत्रकार तथा प्रेस सेन्टर नेपालका संयोजक महेश्वर दाहाल ।
दाहाल भन्छन्, ‘नेपाली कांग्रेसको इतिहास थियो, वर्तमान समस्याग्रस्त छ र भविष्य देखिंदैन ।’ मुलुकमा परिवर्तनगामी शक्तिले सरकार चलाइरहेको र काँग्रेसजस्तो पुरानो विचारधाराको पार्टीकाे आवश्यकता विस्तारै सकिंदै गएको दाहालको तर्क छ ।
पटक - पटक सत्ताको नेतृत्व गरिसकेको काँग्रेसले छाया सरकारको अभ्यासलाई अघि बढाउँदा त झन जनमानसमा सत्ताबिना कांग्रेस छट्पटिने गरेको सन्देस गएको छ । वास्तवमा कांग्रेसका पछिल्ला सम्पूर्ण गतिविधि नियाल्दा र नेताहरुका अभिव्यक्ति सुन्दा सत्ताबाहिर बस्नुपरेको आक्रोश र छट्पटि नै बढी पाइन्छ । अर्को महाधिवेशन आउन केही समय बांकी रहँदासम्म पनि उसले आफ्ना महत्वपूर्ण विभागलाइ पूर्णता पनि दिन सकिरहेकाे छैन्न । त्यसले काँग्रेसिभत्रै पनि विवाद भइरहेकाे छ । कार्यकर्ताले नेतृत्वकाे आलाेचना गरिरहेका छन् । नेतृत्वकाे कार्यशैली र भूमिका माथि शंका र टिप्पणी भइरहेकाे छ ।
तंग्रिने प्रयासः
यतिबेला जागरण अभियानका नाममा पार्टीका नेताहरु जिल्ला दौडाह सकेर राजधानी फर्किएका छन् । तर नेताहरुमा यति महत्वको अभियान सम्पन्न हुँदासमेत कुनै उत्साह देखिदैन् । बरु जिल्ला - जिल्लामा पार्टीका विभिन्न गुटको चर्को प्रतिष्पर्धाले नेताहरु नै वाक्क भएका छन् । जनताको बिचमा सरकारले मनलाग्दो गरिरहेको भाषण गरेपनि पार्टीको आन्तरिक कलहका कारण नेताहरुको भनाइमा कार्यकर्ता समेत कन्भिन्स हुन सकेका छैनन् ।
पछिल्लो समय नेपाली राजनीतिमा ‘आफु भलो त जगत भलो’ भन्ने उखान जस्तै, आफै बिग्रेर थला परेको काँग्रेसले सरकारको आलोचना गरेको नसुहाउने विश्लेषण हुन थालेको छ । वरिष्ठ पत्रकार महेश्वर दाहाल त नेपाली कांग्रेससँग कुनै एजेण्डा नभएकाले उसको भविष्य भारतिय काँग्रेसआईको भन्दा पनि झन दयनिय बन्ने दाबी गर्छन् । कमजोर भूमिकामा रहेको नेपाली काँग्रेसले संसदमा गतिलो भूमिका निर्वाह गर्ने सम्भावना पनि नरहेको र गरेपनि सरकारले नटेर्ने भएकाले जनविश्वास बढ्ने छाँट पनि देखिँदैन ।
यद्दपी नेपालको राजनीतिमा जनताका वास्तविक एजेण्डा बोक्ने दल संसदमा कमजोर हुँदैमा मात्रै होइन नहुँदैमा समेत शक्तिशाली भएर उदाएका प्रशस्त उदारहण छन् । सडकबाट समेत सरकार हल्लाएका उदारहण खोज्न अन्त धाउनु पनि पर्दैन । यसकारण सरकारले सरोकारवालाहरुसँग समन्वय नै नगरी विवादित कामहरु गरिरहँदा पनि कांग्रेसले गतिलो प्रस्तुती किन गर्न सकेन ? भन्ने प्रश्नमा कांग्रेस नेताहरु घोत्लीनै पर्ने देखिन्छ ।
साथसाथै, काँग्रेस नेताकार्यकर्ताहरुले लामो समय नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेको पार्टीको भूमिका कमजोर बन्दै जानुमा केवल संसदको अल्पमतमात्रै नभई पार्टी नेतृत्वको कार्यशैली नै प्रमुख रहेको बुझ्न ढिलो गर्नुहुँदैन । रचनात्मक प्रतिपक्षको भूमिका खेल्न नसकिरहेको पार्टीलाई सत्ताको लोभबाट टाढा राख्न सक्नुपर्दछ । आफूलाई संसदीय पद्दति, मूल्य र मान्यताको हिमायती ठान्ने काँग्रेसले पछिल्लोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गरेको लगायतका घटनाले उसको राजनीतिक चरित्रमाथि नै प्रश्न उठेको छ ।
यसरी आफुमाथि चौतर्फी बर्सिइरहेका आरोप र आलोचनाको समिक्षा गर्दै आन्तरिक पार्टी जीवन सुधार्न सके मात्रै काँग्रेसको साख जोगीने देखिन्छ ।