काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दबाट मुलुकको विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । विप्लवका कार्यकर्ताले देशको विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु राखेर जनजीवन त्रसित पार्ने प्रयास गरेका छन् ।
बन्दको त्रासले उपत्यका बाहिर विप्लवको प्रभाव भएको ठाउँमा सवारी साधन ठप्प छ । पसल तथा शिक्षण संस्था बन्द भएको छ । विप्लव समूहको गतिविधि न्यून भएको ठाउँमा बन्दको प्रभाव पनि न्यून छ ।
काठमाडौं उपत्यकामा कडा सुरक्षा, ३ हजार प्रहरी परिचालनकाठमाडौं उपत्यकामा पनि बन्दको प्रभाव न्यून देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको विभिन्न शहरमा सार्वजनिक सवारी साधन निर्वाध रुपमा संचालन भइरहेक छन् । यद्यपि सवारी साधन अरु दिनको तुलनामा भने अलि कम छन् । पसलहरु प्रायः खुलेका छन् ।
शिक्षण संस्था भने अधिकांश बन्द छन् । केही खुलेका छन् । अप्रिय घटना हुन नदिन काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रशासनले उपत्यकामा करिब ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
प्रदेश १ मा सादा पोशाकको सुरक्षाकर्मी बढाइयोप्रदेश १ सरकारले विप्लव समूहबाट हुन सक्ने अप्रिय घटनाप्रति सजकता अपनाएको छ । अप्रिय घटना हुन नदिन विभिन्न स्थानमा सादा पोसाकका सुरक्षाकर्मी बढाइएको छ । बन्द गर्न खोज्नेलाई तुरुन्त पक्राउ गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
प्रदेश २ मा सुरक्षाकर्मीको कडा कदमप्रदेश २ सरकारले पनि विप्लव समूहबाट हुन सक्ने अप्रिय घटनाप्रति सजकता अपनाएको छ । अप्रिय घटना हुन नदिन सुरक्षानिकायले कडा कदम चालेको छ । बन्द गराउने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रदेश ३ सजकविप्लव समूहको बन्दप्रति प्रदेश ३ ले सजकता अपनाएको छ । प्रदेश ३ मा अप्रिय तथा अपराधिक घटना हुन नदिन प्रधान कार्यालय र गृह मन्त्रालयको निर्देशन अनुसार सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
गण्डकीमा ‘हाइ अलर्ट’गण्डकी प्रदेश सरकारले बन्दप्रति विशेष सजगता अपनाएको छ । विप्लव समूहबाट हुन सक्ने घटना रोक्न सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश ५ मा ठाउँठाउँमा गस्तीविप्लव समूहबाट हुन सक्न अप्रिय घटना हुन दिन प्रदेश ५ मा सुरक्षाकर्मिले विभिन्न ठाउँमा गस्ती बढाएको छ । १२ वटै जिल्लामा सुरक्षाकर्मीलाई प्रभावकारी रुपमा परिचालन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले बताउनुभयो ।
कर्णालीमा वडा, टोलदेखि उद्योगसम्म निगरानीअन्य ठाउँको तुलनामा कर्णाली प्रदेश विप्लव समूहको प्रभाव क्षेत्र मानिन्छ । त्यसकारण कर्णाली प्रदेश सरकारले बन्दमा हुन सक्ने अप्रिय तथा अपराधिक घटना हुन नदिन विशेष सुरक्षा अपनाएको छ । कर्णाली प्रदेशमा गाउँपालिका, वडा कार्यालयदेखि उद्योग तथा कलकारखानासम्म सुरक्षाकर्मीले विशेष निगरानी गरेका छन् ।
सुदूरपश्चिममा सवारी साधनलाई सुरक्षाविप्लव समूहको बन्द बिफल पार्न र जनतालाई सुरक्षाको पूर्ण अनुभूति दिलाउन सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाइएको छ । सुदूरपश्चिम प्रदेशमा सार्वजनिक सवारी साधनलाई समेत सुरक्षा दिइएको छ ।