६ सय कुकुर व्यवस्थापन गरिने

नारायण थापा
भक्तपुर । छाडा छोडिएका कुकुरले स्थानीय र विद्यालय जाने विद्यार्थीहरुलाई टोक्न र दुख दिन थालेपछि चाँगुनारायण नगरपालिकाले कुकुर व्यवस्थापन अभियान शुरु गरेको छ ।
नगरपालिकाले छाडा कुकुर समातेर बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाइ कुकुर व्यवस्थापन गर्ने कार्य गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी तिमिल्सिनाले जानकारी दिनुभयो ।
नगर क्षेत्रभित्र छाडा कुकुरको संख्या वृद्धि नहोस् भन्ने उद्देश्यले बन्ध्याकरण अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कुकुरले टोकेर रेविज सर्न सक्ने खतरा न्युनिकरण गर्न नगर क्षेत्रमा भेटिएका सबै कुकुर समातेर रेबिज भ्याक्सिन लगाउने कार्य गरिएको नगरपालिकाका पशु विकास अधिकृत ऋषिराम लामिछानेले बताउनुभयो ।
अभियान सञ्चालन भएपछि घर पालुवा कुकुरहरुको पनि रेविज भ्याक्सिन लगाउने र बन्ध्याकरण गर्नेहरुको भीड बढेको छ । १० दिनसम्म चल्ने अभियानमा नगरभित्र रहेका ६ सय कुकुर व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।