नारायण थापाभक्तपुर । मध्यपुरथिमि नगरपालिकाको सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले शुक्रबार आयोजना गरेको कार्यक्रममा सरोकारवालले यस्तो बताएका हुन् ।मध्यपुरथिमि नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।सञ्चारले संसार देखाउने भन्दै उहाँले समाजका हरेक विषय र काममा जस्तै सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा पनि सञ्चारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । पत्रकारले अभाव, दबाब र प्रभावभन्दा माथि उठेर कलम चलाउनुपर्ने बताउँदै पत्रकारको स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा आँच पुर्याउन नहुने बताउनुभयो ।मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि गुरुयोजना निर्माण गरिरहेको बताउनुभयो । गुरुयोजनामा नगर क्षेत्रभित्र रहेका भाषा, हस्तलिपि, भेषभुषा, गीत/संगीत, बाजागाजा, नृत्य तथा झाँकी, रितिरिवाज तथा परम्परा, गरगहना लगायतको खोजी भैरहेको उहाँले बताउनुभयो ।परम्परागत खानपान, पेशा, बस्ती र सम्पदा, धारा, इनार, पाटी, पौवा लगायत सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षणका योजना समेटिने मेयर श्रेष्ठले बताउनुभयो । ‘नगर क्षेत्रको सांस्कृतिक अवस्था के छ ? भन्ने तथ्य र तथ्यांक संकलन गरिरहेको र त्यसपछि तिनको संरक्षणका काम शुरु हुन्छन्,’ उहाँले भन्नुभयो । यसमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले यो कार्यक्रम आयोजना गरिएको बताउँदै सञ्चारकर्र्मीबाट महत्वपूर्ण सुझाव आएकाले तिनलाई गुरुयोजनामा समेटिने उहाँको भनाइ थियो ।मध्यपुरथिमि नगरपालिकाभित्र रहेका मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदादेखि सम्पूर्ण विषयको खोज, अनुसन्धान, संरक्षण र विकास गर्नेगरी गुरुयोजना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । गुरुयोजना निर्माण सम्पन्न भएसँगै त्यसलाई कार्यान्वयनमा लैजान्छौं, मध्यपुरथिमिभित्र जीवित संग्रहालयसमेत निर्माण शुरु भएको छ, मध्यपुरथिमिलाई नमूना साँस्कृतिक नगरी बनाउछौ उहाँले भन्नुभयो । छिट्टै नगरमहोत्सव गर्ने तयारी भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।संस्कृतिकर्मी रबिन्द्र पुरीले मथिनपा सांस्कृतिक सम्पदामा धनी भएको बताउनुभयो । उहाँले नगरपालिकाले संस्कृति संरक्षणमा लिएको कदमको प्रशंसा समेत गर्नुभयो । नगरपालिकाभित्रको परम्परागत बस्तीलाई जीवित संग्रहालयसमेत बनाउने गरी नगरपालिकाले कार्ययोजना अगाडि बढाएको र यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत बढाउने उहाँको भनाइ थियो ।नगरपालिकाले साँस्कृतिक नगरीको गुरुयोजना निर्माणका लागि बनाएको तर्जुमा समितिका सदस्य नवीन प्रकाश श्रेष्ठले ३ वर्षे, ५ वर्षे र १० वर्षे योजनाहरु गुरुयोजनामा समावेश गर्न लागिएको बताउनुभयो । साँस्कृतिक नगर मध्यपुर थिमि नगरपालिकाको गुरुयोजनाले आवश्यकता र महत्वको आधारमा योजनाहरुलाई प्राथमिकता क्रममा राखिएको बताउँदै उहाँले पत्रकारीता जगतबाट अझ बढी सल्लाहको अपेक्षा गरिएको बताउनुभयो । उहाँले गुरुयोजनालाई पुरा गरी पूर्णरूपमा कार्यान्वयनमा ल्याएपछि आगामी १० वर्षभित्र मध्यपुरथिमि नगरपालिका देशकै नमूना नगरपालिकाको रूपमा स्थापित हुने विश्वास लिएको उहाँले बताउनुभयो ।पत्रकार दिबस गुरागाईंले मध्यपुरथिमिका सम्पदाका प्रचारका लागि नयाँ प्रचारशैली अपनाउनुपर्ने बताउँदै सम्पदाको स्तरनिर्धारण गर्नुपर्ने, सम्पदाको तथ्यांक संकलन गर्नुपर्ने, सम्पदालाई पाठ्यक्रममा जोड्नुपर्ने र प्रचारमा समाजका चलेका व्यक्तिलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएपी) शान्तिराज कोईराला, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, संस्थापक अध्यक्ष रमेश खड्का, सहसचिव सुन्दर शिल्पकार, कार्यसमिति सदस्य हेमराज ढकाल, जयराम बास्तोला, शंखधर शाख्वा प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, पत्रकार पेशल आचार्य, हरिबहादुर श्रेष्ठ, पबित्र गुरागाईं, हेमन्तकिशोर कट्टेल लगायतले प्रचारप्रसार र संरक्षणको अभावमा रहेका सम्पदालाई उजागर गर्न सञ्चारकर्मीको भुमिका महत्पपूर्ण रहेकोमा जोड दिनुभयो ।गत चैत्र ३ गते प्रदेश–३ का प्रमुख अनुराधा कोइरालाले ‘साँस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरे यता प्रदेश सरकारको सहयोगमा नगरपालिकाले गुरुयोजना निर्माणको काम थालेको हो । नगरपालिकाले गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।गुरुयोजनामा नगरपालिकाभित्र रहेका विशेष व्यक्तित्व एवं गुरुको समेत योगदानको कदर गर्ने र उनीहरुको जीवनी तयार पार्ने, उनीहरुको कला एवं शिक्षालाई संरक्षण गर्ने योजना समेत नगरपालिकासँग रहेको बताईएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६ २३:२६