काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सबैलाई विरुवा रोप्न आव्हान गर्नुभएको छ ।
‘आजको दिन सबैले बिरुवा रोप्नुपर्छ’ शनिबार कोटेश्वर–कलंकी सडकमा वृक्षारोपण अभियान शुभारम्भ गर्दै उहाँले भन्नुभयो, ‘जमिन हुनेले माटोमा रोप्नुस् । नहुनेले गमलामा माटो भरेरै भए पनि फूल वा अरु कुनै बिरुवा रोप्नुस् । गमलामा खुर्सानी र गोलभेडा रोपे पनि हुन्छ । किन्न बजा जान पनि नपर्ने । छतमा गयो टिप्यो । पैसा समेत बच्छ । आफ्नै घरमा फलेको खुर्सानी र गोलभेडा, त्यसमा अलिकति नुन हालेर पिसे ट्वाक्क चट्नी ।’
प्रधानमन्त्रीले विरुवा रोप्नु भन्दा हुर्काउनु चुनौती हुने उल्लेख गर्दै वृक्षरोपण अभियानमा सक्रिय संघ, संस्थालाई त्यसको संरक्षण जिम्मेवारी लिन समेत आव्हान गर्नुभयो । ‘बिरुवा रोप्न सजिलो छ तर त्यसको संरक्षण गर्न र हुर्काउन भने गार्हाे छ’ उहाँले भन्नुभयो, ‘रुख बोट बिरुवा जोगाउनु सबैको दयित्व हो । तर त्यसलाई रोप्नेले मलजल र संरक्षण गर्नुपर्छ । अब संघ सस्थाले बोट बिरुवा रोप्ने मात्र होइन, त्यसलाई हुर्काउन पनि प्रतिस्पर्धा गराउनु पर्छ । कस्ले रोपेको बिरुवा राम्रो, त्यस्तो खालको प्रतिस्पर्धा हुनुपर्छ ।’
प्रधानमन्त्रीले वृक्षरोपण गर्नुपर्छ भन्ने मान्यता नेपालबाटै शुरु भएको प्रष्ट्यानु भयो । ‘वृक्ष रोपण गर्ने चलन हाम्रै देशबाट शुरु भएको हो’ उहाँले भन्नुभयो, ‘हाम्रो पुर्खाले वर–पिपल रोप्ने, चौपारी बनाउँथे । यो हजारौ वर्षदेखिको चलन हो । दुनियाँमा अन्त वृक्षरोपण अभियान शुरु नहुँदै हाम्रा पुर्खाले वरपिपल रोप्ने चलन बसाए । घर अगाडि तुलसी रोप्ने चलन बसाए । अन्य बिरुवाले भन्दा पिपलले बढी अक्सिजन दिन्छ, तुलसीले हावा शुद्ध बनाउँछ । पुर्खाले प्रयोगशाला बिना नै प्रयोगको आधारमा त्यसको महत्व बुझे । अनि त्यसलाई रोप्ने चलन बसाए । अबको पिढीले पनि त्यसको महत्व बुझ्नुपर्छ । वृक्षरोपण गनृुपर्छ ।’
सरकारले आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेको छ । यस वर्ष ३ करोड फलफूलसहित कम्तीमा ४ करोड विरुवा रोप्ने सरकारको लक्ष्य छ ।