काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि मिलेर काम गर्न आग्रह गर्नुभयो । उहाँले गरिबी र बेरोजगारीको सामना प्रतिपक्ष सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न कांग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले आफूले गरेका राम्रा कामको चर्चा नगरिदिए हुने बताउनु भयो । तर देशका लागि, भोलीका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने प्रधानमन्त्री भनाई छ । काठमााडौंमा आइतबारबाट शुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले मैले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसृर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरुको स्थापना गर्ने पनि प्रधानमन्त्री ओलीको योजना छ । उहाँले मुलुकमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको पनि स्पष्ट पार्नु भयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुक भित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
२ दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुले रोजगारीको अवसर सृजना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।