गुण र कर्म मात्र जीवित रहन्छ ।स जीवती गुणा यस्य, यस्य धर्म सजीवित ।गुणधर्म विहीनस्य जीवित निस्प्रयोजनम् ।।
जसकाे गुण र धर्म जीवित छ त्यही मानिस संसारमा बाँचेको हुन् , गुण र धर्मरहित व्यक्तिको जीवन व्यर्थ छ । मानिसको आयु सालाखाला उस्तै हो । कुनै पनि मानिस हजार, दुई हजार, चार हजार वर्षको अन्तरसम्म बाँच्ने या मर्ने हुँदैन । मानिसको पूर्ण आयु भनेको एक सय वर्षको वरिपरि नै हो । त्यसैले लामो समयसम्म चर्चा या बयान हुन्छ भने व्यक्ति होइन, उसको गुण र कर्मको मात्र हुन्छ । मानिसको चर्चा गुण र कर्मको आयु बराबर हुन्छ ।
रियलमा हरेक मान्छेको परिचय उसको नामले भन्दा पनि कर्म र आचरणले दिने गर्छ ।अशल आचरण भएका मानिसलाई समाजले सम्मान गर्छ । अशल काम गर्ने, अशल गुण र बानी व्यहोरा भएका मानिसलाई दुनियाँले स्वीकार्छन् । दुनियाँले ज्ञान, गुण, शिल, स्वभाव र आचरणलाई हेर्छन् । र त्यसलाई अनुकरण गर्ने गर्दछन् । अशल ज्ञान, गुण, शील, स्वभाव र आचरणले मानिसलाई महान वनाउँछ । मानिसको आचार, विचार र कामले उसलाई समाजमा परिचित बनाउँछ । यो हाम्रो बुझाई हो । समाजमा स्थापित समझ पनि हो । मानिस ठूलो र सम्मानित हुन उसको विशाल हृदय हुनुपर्छ । विशाल हृदय भएको मानिसको सोच विचार पनि फराकिलो हुन्छ । फराकिलो सोचले मात्र मानिसलाई समाजिक बनाउँछ र सुमार्गतिर डोर्याउँछ । संकीर्ण सोचाईले मानिसलाई स्वार्थी र पापी वनाउँछ ।
तपाईंको धर्मको अर्थ गरिबले महशुस गरेन भने तपाईं जति उफ्रे पनि जति कराए पनि आखिर के काम लाग्छ र
मनोगत चिन्तनले मानिसलाई आत्मकेन्द्रित र संकुचित वनाउँछ । स्वार्थ आफै साघुरो घेरामा रमाउने चिज हो ।त्यसैले स्वार्थी मानिसहरू प्राय एक्लै वा सिमित घेरामा बस्न रूचाउँछन् । उनीहरू खुल्ला हुन्न । पारदर्शिता भनेको कुन चराको नाम हो उनीहरूलाई थाहा हुन्न । थाहा भएपनी उनीहरू त्यसलाई अपनाउँदैनन । उज्यालोसँग डराउँछन् उनीहरू । एकान्त र गोप्यता उनीहरूको आदर्श हुन्छ । बाहिर एउटा कुरोभित्र अर्कै रहस्य उनीहरूको चाल हुन्छ । वडो गज्जव हुन्छ स्वार्थी मानिसभित्रको स्वार्थको पोको । यसको व्यक्तित्व पनि गज्जबकै हुन्छ । परिणाम आएपछि मात्र थाहा हुन्छ यिनी के गर्दैछन ? बडो डरलाग्दो रहस्य हुन्छ स्वार्थको मनभित्र ।
कतिपय मान्छेहरूलाई ठूलो हुने र लोकप्रिय हुने रहर जागेको पाइन्छ । लोकप्रियताकाे लागि स्वार्थ त्यागेको नाटक गर्छन् । त्यागी भएको र सेवा नै धर्म हो भन्दै लोकको अगाडि समर्पण गरेको देखाउँछन् । निस्वार्थ सक्रियता ढोङ फुक्छन् । अनि भित्रभित्रै अनेक धन्दा चलाउँछन् । सेवा र धर्मको आडमा दुनियाँको आँखामा छारो हाल्छन् । अनि कतिपय कृतिम नौटंकीमार्फत जनताको ध्यान तान्ने कोशिस गर्छन् ।
उनीहरूलाई लाग्दछ कि प्राकृतिक र मानवीय कर्म लोकप्रियताको लागि पर्याप्त हुँदैनन् । 'परोपकाराय च पुण्याय' मा उनीहरूको विश्वास हुन्न । जनताको सेवा र दिन दुखीहरूको पीडामा मल्हम पट्टी प्रचारको लागि गर्छन् उनीहरू । मन, वचन र कर्मले गरिने सेवा उनीहरूको लागि समाज ढाट्ने हतियार हुन्छ । निश्चित स्वार्थपूर्ति गर्न उनीहरू सेवाको धन्दा चलाई रहेका हुन्छन् ।
के काम गर्दा जनप्रिय र क्रान्तिकारी भइन्छ । के काम गर्दा प्रतिक्रान्तिकारी या यथास्थिति हुने हो । यसको ज्ञान पनि हुन्न उनीहरूलाई । ज्ञान भए पनि बिर्सिदिन्छन् उनीहरू । किनकी उनीहरू कर्मबाट आएका हुन्नन् । जस्ले कर्म भूमि बुझेनन् । संघर्षको मैदान झेलेनन् । त्यसैले उनीहरू कोटेशन पढेर नक्कल गर्छन् । उनीहरूको नक्कल पनि नक्कली हुन्छ र काम पनि केवल प्रचारमुखी मात्र हुन्छ । प्रचारमा मात्र जितिएको दुनियाँ क्षणिक हुन्छ ।
विचरा काम गरे जस्तो गर्छन् । चलाख जनता बुझि हाल्छन् । अनि उनीहरू कामको प्रभाव कस्तो परिरहेको छ पनि वुझ्न सक्दैनन् । वरिपरि सेवक राखिएको छ । सेवकले सुन्दरै सुन्दर देखेको बताउँछ । सुन्दरताकाे पट्टी बाँधिएको हुन्छ उनीहरूको आँखामा । जस्तो रिपोर्ट त्यस्तै बुझाई ।
तपाईंले गरेको कर्मले यदि जनता राहत महशुस गर्छन् । खुशी महशुस गर्छन् र आफूले सेवा र साथ पाएको महशुस गर्दछन् भने त्यो काम प्रगतिशील या जनमुखी हो । तर तपाईंको कर्मले जनतालाई छोएन । तपाईको धर्मको अर्थ गरिबले महशुस गरेन भने तपाईं जति उफ्रे पनि रेडियो र टिभी ले जति कराए पनि आखिर के काम लाग्छ र ? जति सुन्दर रिपोर्ट भए पनि के लाग्छ र ?
ज्यादा घमण्ड गर्नाले लंकाको नास भयो । अति मान खोज्नाले कौरव बंशको बिनास भयो । अति दान गर्नाले बलीको पतन भयो । त्यसैले अति जहाँ सुकै वर्जित छ
जबसम्म कामले जनताको मन छुँदैन, तबसम्म जनता खुशी हुदैनन् भने त्यों कामको मूल्य हुदैन । जनताको मन छुन नसक्ने , समाजलाई आकर्षित गर्न नसक्ने अनि आफूलाई मात्र गरे जस्तो लाग्ने कामको सामाजिक मूल्य हुँदैन । जुन कामको सामाजिक मूल्य हुँदैन,जुन कामले राज्यलाई सकारात्मक योगदान दिन सक्दैन त्यस्ता काम केवल आत्म रतिका लागि मात्र काम लाग्छन् । केवल आत्म रतिको के मूल्य छ र ?
कतिपय मान्छे आफूले गरेका हरेक काम क्रान्तिकारी भएको दाबी गछन् र भन्छन् म क्रान्तिकारी विचार राख्छु । त्यसैले मैले गरेका सवै काम क्रान्तिकारी हुन् । तीनले यो बुझ्दैनन कि सिद्धान्त र र व्यवहारमा कति फरक छ । संसारमा क्रान्तिकारी सिद्धान्त बोकेरै ठगी गर्ने र जनताकै नाममा लुटको राज गर्नेको फेरिस्त कम लामो छैन ।त्यसैले कम-से-कम हामी ठगी नगरौ । लुटलाई रोकेरअघि वढौ । कमीकमजोरीलाई सुधार गरेर जाउँ । अशल कर्मतिर अग्रसर होऔँ ।
होइन भने अति दर्पे हता लंका । ज्यादा घमण्ड गर्नाले लंकाको नास भयो । अति मानंच कौरवः अति मान खोज्नाले कौरव बंशको बिनास भयो । अति दानंच बलिर्बद्ध। अति दान गर्नाले बलीको पतन भयो । अति सर्वत्र वर्जित । त्यसो भएकोले यो अति भन्ने शब्द जहाँ सुकै वर्जित छ । (पौडेल पूर्व मन्त्री हुनुहुन्छ)