काठमाडौं । मंगलबार प्रकाश दाहाल फाउन्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको नाम थियो, ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रम ।‘
प्रकाश दाहालको ३८ औँं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सगरमाथा आरोहणको सिलसिलमा योगदान पुर्याएकालाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरुले प्रकाशले गरेका काम र उहाँहरुसँग प्रकाशको भोगाइको बारेमा स्मरण गरे ।
कार्यक्रमको अन्त्यमा प्रकाश दाहाल फाउन्डेसनकी संयोजक एवं प्रकाश दाहालकी जीवनसंगिनी बिना मगरले प्रकाश दाहालसँगको सगरमाथा आरोहण अनुभव सुनाउनुभयो । कार्यक्रममा उहाँले सुनाउनुभएका अनुभवनको सम्पादित अंशः
हाम्राे सगरमाथा आरोहणको नेतृत्व कृष्ण केसीले गर्नुभएको थियो भने सह–नेतृत्व प्रकाश दाहालले गर्नुभएको थियो । नेतृत्वले आरोहणको तयारी पूरा गरेपछि हामील हामीले सरगरमाथा आरोहण शुरु गर्यौं क्याम्प ४ बाट ।
आरोहणमा म सबैभन्दा पछाडिको टीममा परेकी थिएँ । प्रकाश र अन्य साथीहरु धेरै अगाडिको टीममा हुनुहुन्थ्यो । हामीसँग हाम्रा शेर्पाहरु सँगै हुनुहुन्थ्यो । हामी बिस्तारै उकालो लाग्दै गर्दा हामीले उहाँहरुलाई भेट्यौँ । उहाँहरु हामीलाई कुर्दै आरोहणको बाटोभन्दा साइड लागेर बस्नुभएको रहेछ । उहाँहरुलाई भेटेपछि हामीले पुनः आरोहण शुरु गर्यौं । आरोहण गर्दै गर्दा त्यहाँ पहिरो जान थाल्यो । पहिरोले गुडेको ढुङ्गाले लागेर हाम्रा केही शेर्पाहरु घाइते हुनुभयो ।
घाइते शेर्पाहरुले ‘हिँड्दै गर्नुस्, हामी तपाईंहरुलाई भेट्छौं’ भन्नुभयो । त्यसपछि प्रकाशजी लगायत अन्य साथीहरुसँग हामी अगाडि बढ्यौं । हामी लामो समय हिँडिसक्दा पनि शेर्पा साथीहरु आउनुभएन । हामीले लगाएको अक्सिजनबाहेक अन्य अक्सिजनको सिलिण्डर सबै शेर्पाहरुसँगै थियो । उनीहरु यदि आउन ढिला भएका भए हामी सबैको ज्यान जान सक्थ्यो ।
शेर्पाहरु लामो समय पनि नआइसकेपछि मैले प्रकाशलाई भनेकी थिएँ, ‘हामी फर्कनुपर्छ होला, यो अक्सिजनले पुग्दैन ।’ त्यतिबेला उहाँले भन्नुभयो, ‘यो अक्सिजनले सगरमाथाको चुचुरो पुग्न सकिन्छ ।’ उहाँले फर्कने कुरा गर्नुभएन र थप्नुभयो, ‘एउटा साहसीले लक्ष्य मात्र हेर्छ, त्यो भन्दा पछाडि केही पनि हेर्दैन ।’