एक विद्यार्थी एक तरकारी उत्पादन (फोटो फिचार)

हिमलाल पराजुली
स्याङ्जा । कालिगण्डकी गाउँपालिका–६ दब्छेमा रहेको ध्रुब ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरु सैद्धान्तिक ज्ञानमा मात्र नभएर व्यवहारिक ज्ञानतर्फ पनि आर्कषित हुन थालेका छन् ।

विद्यालयले एक विद्यार्थी एक तरकारी उत्पादनको अभियान चलाएपछि विद्यार्थीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

विद्यार्थीले विद्यालयमा मात्रै नभएर विद्यालय बिदाको दिनमा घरघरमा पनि तरकारी लगाउन थालेका छन् । विद्यालयले चलाएको यो अभियानले विद्यार्थीमा श्रम गनुपर्छ भन्ने भावनाको विकास भएको प्रष्टै देख्न सकिन्छ ।

कक्षा १० मा अध्ययनरत् छात्रा सुमिना श्रेष्ठले आफूहरुले विद्यालयमा मात्रै नभएर घरमा पनि तरकारी लगाउने गरेको बताउनुभयो । ‘हामी सबै मिलेर तरकारी लगाएका छौं, घरबाट छिटो आएको बेला तरकारी बारीमै हुन्छौं’, दिक्षाले भनिन् ‘आफूले लगाएको तरकारी गोडमेल त गर्नै पर्‍याे नी ।’ विद्यालयको वातावरण र शिक्षक शिक्षिकाको बालमैत्री व्यवहारले अध्ययनमा थप उत्साहित बनाएको दिक्षाको भनाइ छ ।

कक्षा १० की अर्की छात्रा विष्णुमाया सुनार आफूले विद्यालयमा मात्रै नभएर घरमा पनि तरकारी लगाउने गरेको बताईन् । विद्यालयमा सिकेका कुरालाई घरमा आएर पुनः प्रयोग गर्दा बुझ्न सजिलो भएको सुनारले बताईन् । पहिला तरकारी लगाउनेमा खासै चासो थिएन, विद्यालयमा सबै साथीहरु, सर तथा मेडमसँगै काम गर्न थालेपछि फुर्सद भएको समयमा घरमा घरपरिवारसँगै आफूले पनि तरकारी लगाउने गरेको सुनारकाे भनाइ छ ।

विद्यालयले विद्यालयकै चउरमा करेसाबारी निर्माण गरेर तरकारी लगाउने व्यवस्था मिलाएको छ । यही करेसाबारीमा फुर्सदको समयमा शिक्षक विद्यार्थी सबै मिलेर तरकारीसँगै रमाहिरहेका हुन्छन् । सिजन अनुसारको तरकारी लगाउनुका साथै आवश्क बिरुवा समेत करेसाबारीमै विद्यार्थीहरुले उत्पादन गर्ने गर्छन् ।

तरकारीमा मानवमुत्र समेत प्रयोग गरिएको विद्यालयका शिक्षक मनबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘प्राङ्गारिक तरकारी उत्पादनका साथै विद्यार्थीकै मुत्रलाई मलको रुपमा प्रयोग गर्ने गरेकाछौं ।’ प्रत्येक १५ दिनमा संकलन गरिएको मानवमुत्रलाई करेसाबारीमा प्रयोग गर्दै आएको र यसो गर्दा खेर गइरहेको पिसाबको सदुपयोग हुनुका साथै वातावरणमा समेत राम्रो प्रभाव पार्ने थापाको भनाइ रहेको छ ।

गुरूसँगै मिलेर करेसाबारीमा तरकारी लगाउने गोडमेल गर्दा रमाइलो हुने विद्यार्थीहरु बताउँछन् । विद्यालयमा गरिएको यो नयाँ अभ्यासले विद्यार्थीको व्यवहारिक जीवनमा परिवर्तन आएको विद्यालयका सहायक प्रधानाध्यापक ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक हिराबहादुर गाहाले पढे लेखेकाले कलम मात्र होइन कुटोकोदालो पनि चलाउन जान्नुपर्छ आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्नुपर्छ भन्ने भावनाको विद्यार्थीमा विकास गराउने उद्देश्यले विद्यालय परिसरभित्रै तरकारी खेती लगाउने गरेको बताउनुभयो । ‘ग्रेड सिटमा ग्रेड वृद्धि गर्न मात्र नभई व्यवहारिक सीप र शिक्षा प्रदान गर्न आफूहरु लागि परेका छौं’, गाहाले भन्नुभयो, ‘विद्यार्थीले विद्यालयको तरकारीबारीमा बोडा, बोडी, काउली, साग लगायत सिजन अनुसारका तरकारी लगाउने गरेका छन् ।’

३ सय २० जना विद्यार्थी रहेको ध्रुव ज्योति माविमा अंग्रेजी भाषामा पढाइका साथै कम्प्युटर शिक्षासमेत दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला यहाँ भने विद्यार्थीको आकर्षण बढेको प्रअ गाहाको भनाइ रहेको छ ।

विद्यालयले फेसबुक अभियानबाट विद्यालयका पूर्व विद्यार्थी एवं सहयोग दाताबाट सहयोग रकम जुटाएर एम्बुलेन्स समेत खरिद गरेको छ । एम्बुलेन्सले विद्यालयलाई मात्रै नभई सिङ्गो गाउँलाई नै बिरामी हुँदा सेवा दिइरहेको छ ।

उत्पादित तरकारी बिक्रीबाट आएको रकम विद्यालयको पुस्तकालयको लागि खर्च गरिन्छ भने धेरै भएको तरकारी विद्यार्थी तथा शिक्षक शिक्षीकाले बाँडेर घर घरमा समेत लैजाने गरेका छन् । प्रत्येक विद्यार्थीले तरकारी लगाउन थालेपछि विद्यालयको वातावरण नै हरियाली बनेको छ ।

पढाइसँगै व्यवहारिक शिक्षामा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन थालेपछि विद्यालयको चर्चा बढेको छ । शिक्षक शिक्षिकाको लगाव र विद्यार्थीको परिश्रम गर्ने बानी देखेर यहाँ अभिभावक समेत खुशी भएका छन् । सिकेको व्यवहारिक ज्ञान घरमै प्रयोग गर्ने जस्ता परिवर्तन यहाँका विद्यार्थीहरुमा आउन थालेको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा बिभिन्न आकर्षणको अभियान ल्याउने लहर चलेको भए तापनि विद्यार्थीलाई उत्पादन र व्यवहारिक शिक्षामा जोडिने शैक्षिक कृयाकलापले विद्यार्थी विद्यालयप्रति आकर्षित हुन थालेका छन् । कालिगण्डकी गाउँपालिकाको ध्रुव ज्योति माविका विद्यार्थीेलाई एक विद्यार्थीे एक तरकारी उत्पादन कार्यक्रमले नमुना बनाएको छ । उनीहरु बिहानै विद्यालय आउने आफूले रोपेको तरकारीको रेखदेख गर्ने र प्रयोगात्मक शिक्षा समेत लिने गर्दा विद्यालयमा तरकारी उत्पादन बढेको छ ।

किताब–कापी लिएर पढ्न विद्यालय आउने विद्यार्थीहरू विद्यालयबाट घर जाँदा बेलुकाको लागि गरकारी लिएर जाँदा अभिभावकमा छुट्टै खुशी छाएको छ । विद्यालयमा उत्पादन भएको प्राङ्गरिक तरकारी शिक्षक, शिक्षिका र विद्यार्थीले बाँडेर लैजाने गरेको प्रअ हिराबहादुर गाहाले बतउनुभयो

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।