काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पार्नुभएको हो ।
तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताउनुभयो । उहाँले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले अपुष्ट समाचारलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिरहेको भन्दै व्यंग्य गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रेस चलेकै छन् एकदम राम्ररी । सबैले आफूलाई लागेको कुरा भएपनि नभएपनि, पुष्टि भएपनि नभएपनि गजबले राख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ ।’
उहाँले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाहीँ के छ ? अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा शुरु भएको अब झिकिदिउँ भने फेरी अर्थाेकै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ ।’
संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उहाँले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताउनुभयो ।