काठमााडौं । राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरुले आगामी आर्थिक वर्षका लागि विनियोजन प्रस्ताव भएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिनुभएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, रक्षामन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग,राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सम्बन्धमा अर्थमन्त्रीले जवाफ दिनुभएको थियो ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवलाई सांसदहरुले पछिल्लो समय बहसमा रहेको भारतबाट नेपाल भित्रिने तरकारीको विषादी जाँच र क्वारेन्टाइन जाँच सम्बन्धमा धेरै प्रश्नहरु सोध्नुभएको थियो । जवाफमा मन्त्री यादवले विषादी जाँच सम्बन्धमा देशमा उपलब्ध प्रविधिबारे पर्याप्त जानकारी नहुँदा निर्णय गरेर फिर्ता लिनुपरेको बताउनुभएको थियो ।
बैठकमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा जलस्रोत तथा सिँचाई सम्बन्धमा छुट्याएको बजेट र कार्यक्रमबारे सांसदहरुलाई प्रष्ट पार्नुभएको थियो । उर्जा मन्त्री पुनले आगामी ३ वर्षभित्र देशको सम्पूर्ण भागमा बिजुली बत्ती बाल्न पाइने गरी काम भइरहेको बताउनुभएको थियो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले विगतमा भन्दा यस आगामी आर्थिक वर्षको लागि शिक्षामा धेरै बजेट बिनियोजन भएको प्रष्ट पार्नुभयो । बैठकमा सांसदहरुले शिक्षामा लगानी भए पनि प्रतिफल भने घट्दै गएको कारण के होला भनि प्रश्न सोध्नुभएको थियो ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमा छलफल गर्नु अघि प्रतिनिधि सभामा धेरै छलफल हुने भएकाले सांसदहरुको प्रश्न दोहोरिएको थियो ।
राष्ट्रिय सभामा गृहमन्त्रीलाई निर्मला पन्तको बारेमा, परराष्ट्र मन्त्रीलाई इन्डोप्यासेफिक रणनीति बारे, स्वास्थ्य मन्त्रीलाई सरकारी अस्पतालको अवस्था बारे, रक्षा मन्त्रीलाई सेना परिचालन सम्बन्धी राष्ट्रिय सुरक्षा विधेयक बारे र प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनुहुने अर्थमन्त्री युवराज खतिवडालाई नेपाली हवाई सेवा खस्किएको र हवाई मैदानको पूर्वाधार निर्माणबारे प्रश्नहरु सोधिएको थियो ।