नारायण थापा भक्तपुर । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सरकार जनताको सुखी, सम्मृद्धि र खुशीको एकमात्र चाहना बोकेर अगाडि बढेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाको पाँचौ नगर सभाले पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गर्दै उहाँले देशको परिवर्तनका लागि सरकार अगाडि बढिरहेको बताउनुभयो ।
सरकारले देश र जनताको पक्षमा गरेको काम पुरा हुन नदिन धेरै शक्तिहरु सक्रिय रहेको बताउँदै उहाँले भन्नुभयो–‘सरकरको अभियान पुरा हुन नदिन धेरै शक्ति सक्रिय छन्, धमिलो पानीमा माछा मार्नेहरु सक्रिय छन्, देश र विदेशी शक्तिहरु कुनै न कुनै हिसाबले सक्रिय छन्, त्यस्तालाई चिर्दै जनता र देशको हितमा सरकार अगाडि बढिरहन्छ ।’नेकपाले निर्वाचनको समयमा जनता समक्ष गरेका प्रत्येक प्रतिवद्धतालाई आगामी तीन वर्षभित्रमा अक्षरस पालना गर्दै सम्पूर्ण हिसाबले जनताका आवश्यकता पुरा गर्ने बिष्टले बताउनुभयो । सरकारले काम गर्ने क्रममा कही कतै अन्जानमा त्रुटि हुन सक्ने उल्लेख गर्दै त्यस्ता त्रुटिलाई जनताको सुझावका रुपमा ग्रहण गर्दै सच्याएर सम्मृद्धिको गन्तव्यमा पुगेरै छोड्ने बताउनुभयो ।
सरकारले देश र जनताको हितमा गरेको काम देखेर आत्तिएका देशी तथा विदेशी शक्ति यतिखेर सरकारको विरुद्ध सक्रिय रहेको बताउनुभएको छ । जस्तोसुकै शक्ति सरकार विरुद्ध लागेपनि त्यसलाई चिर्दै सरकार देश र जनताको हित, सम्मृद्धि र विकासका लागि निरन्तर लागिरहने बताउनुभयो ।
बिष्टले भन्नुभयो–‘सरकारले जनतासँग गरेका प्रत्येक अपेक्षाहरु आर्थिक विकास, सम्मृद्धि, पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्यमा किन नहोस् देश विकास र शुसासनमा किन नहोस, सरकार आफ्नो इमान्दारिता पूर्वक देश र जनताको हितमा काम गरिरहेको छ ।’