तीन सय ६६ सिँढी चढेर हिँडेको त्यो पहाड !

काठमाडौंमा सधैँको एकनासको हावापानी न जाडो न गर्मी । नेपालगञ्ज जस्तो गर्मी ठाउँबाट काठमाडौंमा बसाइ सरेकाले होला काठमाडौं शितल लाग्ने । काठमाडौंमा जुनसुकै मौसममा पनि तपार्ईं घुम्न सकिन्छ । तपार्ईं काठमाडौंमा बसोबास गरिरहनुभएको छ । अध्ययन वा जागिरको सिलसिलामा काठमाडौंमा हुनुहुन्छ भने तपार्ईं काठमाडौं वरपर भएका ठाउँहरु कति घुम्नुभएको छ ?

मेरो भने सायदै कुनै ठाउँ बाँकी नरहला कि । तपार्ईं आफ्नो बिदाका दिन कसरी सदुपयोग गर्नुहुन्छ ? पक्कै पनि घुम्नमा इच्छुक हुनुहुन्छ भने तपार्ईं काठमाडौं वरपरका धेरै पर्यटकीय ठाउँ छन् । ती ठाउँहरु पुगेर आफ्नो समय बिताउन सकिन्छ । मान्छेको भिड र अव्यवस्थित शहरी संरचनाका कारण काठमाडौं अत्यासलाग्दो पनि छ । तर यहि काठमाडौंको छेउछाउमा भने सुन्दर घुम्ने ठाउँहरु पनि छन्, त्यहाँ गएर तपार्ईं आफ्नो मन बहलाउन सक्नुहुन्छ । अमेरिकी ट्राभल गाइड बुक अर्थात ट्राभल वेबसाइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट १० शहरको सूचीमा काठमाडौंलाई पनि राखेको छ । सूचीमा काठमाडौं छैटौँ स्थानमा छ । तर काठमाडौंका मुख्य घुम्ने ठाउँ पशुपति, स्वयम्भु, नारायणहिटी, बसन्तपुर दरबार स्क्वायर मात्रै होइन, थुप्रै काठमाडौं वरपर त्यस्ता पर्यटकीय क्षेत्र रहेका छन्, जहाँ तपार्ईंले फरक अनुभव लिन पाउनुहन्छ ।

सधैँको मेरो अफिसको आइतबारको छुट्टी । कलेजको पनि परीक्षाको समय सकिएकाले अलि फुर्सदिलो थिएँ । एक दिनमै बिहान गएर साँझ फर्किने ठाउँ खोजेँ । काठमाडौंमा वरपरका सबै ठाउँ त घुमिसकेँ, कहाँ जाने भन्ने कुरा भयो । त्यतिकैमा साथी सञ्जु पनि कोठामा आइन् । विवेक सिलवाल दादालाई फोन गरेँ । धापाखेलमा स्वयम्भूको जस्तै पूरै ललितपुरको दृश्य देख्न सकिने, तीन सय सिँढी चढेर मन्दिरमा पुग्न सकिने भन्नुभयो । सुन्दा रमाइलो पनि लाग्यो । धापाखेलस्थित सन्तानेश्वर महादेव जाने निधो भयो । कोटेश्वर, सातदोबाटो हुँदै धापाखेलको बाटो हुँदै बोडे भएर हामी त्यहाँ पुग्यौँ ।

अब हामी हिँड्दैछौँ सन्तानेश्वरको सिँढी । यहाँ त प्रायः विवाहित महिला तथा पुरुष सन्तान प्राप्तिका लागि आउने गरेका छन् । तर हामी भविष्यमा काम लाग्न सक्न भनेर मजाक गर्दै भिडियो बनायौँ ।

सिधै फटाफट हिँडेर सिँढी चढियो भने २० मिनेटमै पुगिन्छ । तर हामी बाटोमा फोटो खिच्दै जादा करिब एक घन्टा लगायौँ । चरा कराएको आवाजसँगै सरर चल्ने हावाले शितलता प्रदान गर्दछ । बाटोमा भएको गर्मी, कोटेश्वर चोकमा भएको जामको दिक्दारी सबै त्यहाँ पुग्दा मेटियो । अचम्मको कुरा, त्यहाँ बाँदर देखिएन । वरिपरी धुपीका बोट, अन्य विभिन्न प्रजातिका विरुवा, त्यहाँबाट देखिने दृश्य लोभलाग्दो थियो । वरिपरी घरैघरबीचको पहाडबाट परै भेगको दृश्यले पनि रौनक बढाएको थियो । अन्य ठाउँभन्दा पनि निकै कम मान्छे मात्रै त्यहाँ आउने गर्दछन् । मन्दिर दर्शनका साथै पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा प्रचारप्रसार कमी भएको देखिन्छ । काठमाडौंको धूवाँ, धूलो तथा कोलाहललाई केही समय भए पनि भुलेर शान्त वातावरमा रमाउन सकिन्छ ।

सन्तानेश्वर महादेव कसरी जान सकिन्छ ?
काठमाडौं उपत्यका नजिकै रहेको ललितपुरको गोदावरी नगरपालिका– १३ झररुवासीमा सन्तानेश्वर महादेव छ । काठमाडौं उपत्यकाबाट करिब १० किलोमिटर पर गोदावरी जाने बाटोमा बोडेगाँउबाट पर ३ किलोमटिर हिँडियो भने पुग्न सकिन्छ । स्कुटर तथा मोटरसाईकलमा जाने हो भने दुइ वटा बाटोबाट जान सकिन्छ । काठमाडौंको सुन्धाराबाट नयाँ बानेश्वर चोक, कोटेश्वर हुँदै, सातदोबोटो हुँदै धापाखेल जाने बाटोबाट सुमेरु अस्पताल बाट मोडिएर सन्तानेश्वर महादेवम्मै पुग्न सकिन्छ । शहरी भेगनजिकै रहेको सन्तानेश्वर मन्दिर झरुवारासी फेदीबाट १ सय मिटरको उचाइमा डाँडाको थुम्कोमा छ । समुद्री सतहबाट एक हजार ५ सय ७ मिटरको उचाइमा अवस्थित मन्दिर नौ किलोमिटर दूरीमा पर्छ । मन्दिर क्षेत्रले १ सय ५० रोपनी क्षेत्रफल ओगटेको छ

सन्तानेश्वर महोदेवको नाम कसरी रह्यो ?
ललितपुरको बोडेगाउँदेखि करिब तीन किलोमिटर पश्चिममा प्रसिद्ध सन्तानेश्वर महादेवको मन्दिर छ । यो मन्दिर डाँडाको टुप्पामा छ । मन्दिरमा गएर सन्तानका लागि भाकल गरेसन्तान प्राप्ति हुने गरेकाले सन्तानेश्वर भनिएको हो । सन्तानेश्वरको पूजाआजाबाट निःसन्तानले सन्तान प्राप्त गर्न सक्ने जनविश्वास छ । यसरी सन्तानेश्वर महादेव सन्तान प्रदान गर्ने र तिनीहरूको रक्षा गर्ने देवता मानिन्छन् । सन्तानेश्वर शिवालय निकै भव्य नेपाली शैलीमा निर्मित छ । मन्दिरमा सादा शिवलिंगको पूजाआजा हुन्छ । मन्दिर परिसरमा गणेश, कुमार र नन्दी लगायतका देवीदेवताका मूर्तिहरू समेत प्रशस्तै छन् । शिवरात्रि, बालाचतुदर्शी र तीजका अवसरमा र साउन महिनामा मन्दिर क्षेत्रमा भीड लाग्ने गर्दछ । मध्यकालतिर बनेको मानिने यो मन्दिर विभिन्न समयमा जीर्णोद्धार भएर वर्तमान स्वरूपमा आइपुगेको हो ।

धार्मिक महत्व
ललितपुरको लगनखेलबाट पूर्वी दक्षिणी भेगमा राजधानी नजिकै पर्ने मन्दिरमा पूजाराधनाका लागि सोमबार व्रतालु भक्तजनको भीड लाग्ने गरेको छ । विशेष गरेर साउनको हरेक सोमबार अझ बढी भक्तजनको भिड लाग्ने गर्दछ । सतीदेवीको ओठ पतन भएकाले यो क्षेत्रमा सन्तानेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । भगवान् शिवले मृत अवस्थाकी सतीदेवीको शरीर बोकेर हिँड्ने क्रममा नेपालको ॐकारेश्वरमा सतीदेवीको उपल्लो ओठ पतन भएको भन्ने धार्मिक विश्वास छ । मन्दिरमा पुग्न ३ सय ६६ सिँढी चढेर जानुपर्छ । साउनको तेस्रो सोमबार सन्तानेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ कल्पवृक्ष आई तपस्या गरेर चिताएको फलाउन सक्ने वरदान पाएको स्वस्थानी व्रतकथामा उल्लेख छ । सन्तानेश्वरमा पूजाआजा गरी दर्शन गरे पुण्य मिल्ने जनविश्वास छ । सन्तानेश्वर महादेवमा गएर कसैले सन्तानप्राप्तिका लागि कामना गरे पूरा हुने धार्मिक विश्वास छ । मन्दिरमा महादेवको बास भएको शुभसाइतको दिन पारेर रुद्री लगाएर पूजा लगाउनाले सन्तान प्राप्त हुने गरिएको धार्मिक विश्वास छ । पूजाका लागि पतिपत्नीसँगै व्रत बसेर पूजा गरिनुपर्ने नियम रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…