सिद्धिचरण भट्टराईकिन ठूला क्रान्ति भए पनि भूइँमा बस्ने तल्लो मानिस लाभग्राही हुँदैन ? किन माथि भएको क्रान्तिको प्रभाव तल पुग्न समय लाग्छ ? किन राजनीतिक घटनाक्रमले सत्ता बदलिँदैमा बदल्ने एजेण्डा कार्यान्वयनमा पुग्दैनन् ? बारम्बार फरक ढंगले प्रतिक्रान्ति दोहोरिन्छ । देशका शासकीय संरचनामा सुधार वा परिवर्तन चाहने दलहरुको संरचनागत स्थायित्व र संस्थागत सांस्कृतिक विकास हुँदैन ? क्रान्तिमा होमिने खास मानिस लाभ लिने बेलामा पुछारमा हुन्छ तर क्रान्तिको आभा दन्केपछि लहसिएर छाला जोगाउन क्रान्तिकारी बनेको कथित अगुवा सबै ठाउँमा हर्ताकर्ता हुन्छ ? यसबारे सामाजिक विज्ञान के भन्छ ?
नेपाली कांग्रेसका नेता विपीको एउटा भनाइलाई कांग्रेसका गाउँघरका क्रान्तिमा होमिएका पुराना नेताले बारम्बार दोहोर्याउँछन्ः क्रान्तिपछि सुकिलामुकिलाले पार्टी कब्जा गर्नेछन्, त्यसका विरुद्ध वर्गीय मानिसहरुले एकपटक फेरि विद्रोह गर्नु पर्नेछः बिपी । नेकपा (नेकपा)को दुई धार एमाले र माओवादी सत्ताको अनुभव लिएर परिक्षित पार्टी हुन् । तिनका भूइँ तहका कार्यकर्ताको वा इमानदार कर्तव्यनिष्ट कार्यकर्ताको हालत विगतमा के थियो ? अहिले के हुँदैछ ? लाग्छ, बिपीले अनुमान गरेको अवस्था यी तिनै पार्टीका कार्यकर्ताले बेहोरिसकेका छन् र बेर्होर्दैछन् । तर बिपीले भनेजस्तो सुकिलामुकिलाविरुद्ध विद्रोह भने जागेको महसुस हुनसकेको छैन । सायद बिपीले देशको सामाजिक मनोविज्ञान केलाएर नै यसो भनेका थिए ।
अहिले सत्ताधारी नेकपाकै हालत हिजोको सत्ताधारी कांग्रेसको भन्दा बिल्कुल फरक छैन । हिजो भर्खर सहिदको रगतले लत्पतिएको माओवादी सत्तामा पुग्दा पनि उसले त्यो अनुभूति कार्यकर्तालाई दिन सकेन । त्यहाँ पनि तस्कर, दलाल र माफियाहरुको दलदलमा पार्टी फस्दै गएको अनुभूति कार्यकर्ताले गरिरहेकै थिए । आज नेकपा (नेकपा)को हालत पनि ठीक त्यस्तै छ । २००७ देखि पटकपटक क्रान्ति र प्रतिक्रान्ति भए । क्रान्तिपछि बारम्बार किन यो पुनरावृत्ति भएको छ ? मैले माथिदेखि गहिरो गरी चर्चा गर्न खोजेको विषय हो ।
क्रान्ति संस्थागत गरिएनःमाथि संविधानमा केही संस्थागत व्यवस्थापन गरे पनि राज्य र समाजको सबैभन्दा तल्लो एकाइ भनेको परिवार र परिवार मिलेर बनेको समाज हो । त्यो तहमा क्रान्तिलाई संस्थागत गरिएन । अथवा तल वर्ग संघर्षलाई, संघर्षशील मानिसहरुलाई, आम जनसमुदायलाई गोलबन्द गरेर क्रान्तिको उपलब्धीको रक्षा र विकास गर्दा स्वयम् परिवार र समाजको रक्षा र विकास हुन्छ भन्ने बुझाउन सकिएन । त्यस्तो योजना तल लैजान पनि सकिएन । संगठन (सामाजिक र राजनीतिक एवम् सांस्कृतिक), संघर्ष (वैचारिक, सैद्धान्तिक र भौतिक) र समन्वय वा एकताको सन्दर्भलाई गाउँ, शहर, वडा र टोल तहसम्म योजनाबद्ध बनाइएन । बनाउने गरी क्रान्तिका अगुवाको कुनै योजना बनेन । अहिले पार्टी कमिटीकै कुरो गर्ने हो भने त्यो कमिटीसँग आफनो कार्यक्षेत्रको विकास, संघर्ष र रुपान्तरणको स्पष्ट खाका छैन ।
मोटोरुपमा केन्द्रीय कमिटीले बनाएको कार्यदिशा परिभाषित गरेर लागु गर्ने स्थानीय कमिटी हो तर उसैसँग त्यसको खाका छैन । ती खालको कुनै पनि दलका योजना छैनन् । पार्टी कमिटीको अगुवाको काम सदस्यता नवीकरण र लेबि संकलनबाहेक अरु कुरा त्यति व्यवस्थित छैन, त्यो हुँदैन पनि । यसले गर्दा क्रान्ति संस्थागत हुन नपाउँदै दशक बित्छ र परिस्थितिले भूइँका कार्यकर्तालाई जनतासँग अलग्याउँछ, भूइँका कार्यकर्तालाई नेतृत्वसँग अलग्याउँछ । नेतृत्व यसरी अलग्गिएपछि नेतृत्व दलाल र व्यापारीहरुको चंगुलमा रुमल्लिँदै जान्छ । फस्दै जान्छ । जनताले जीवन्त सम्वादमा आफनो नेता नपाएपछि समस्याहरु जहाँको तहीँ भएपछि नेतृत्व र व्यवस्थाप्रति विश्वास गुम्दै जान्छ । अन्ततः त्यो नेतृत्वकाविरुद्ध समेत जनता उत्रेर अर्को आन्दोलनका तयारीमा लाग्नु पर्ने अवस्था आउँछ । हो, अहिले दुई तिहाईको स्थिर भनिएको सरकारसँग पनि त्यही गुनासो, त्यही समस्या छ, त्यही तर्सो पनि छ ।
प्रतिक्रान्ति कसरी रोक्ने ?सामान्यतयाः सामाजिक अन्तरविरोधको हल गर्न नसकेपछि सत्ता संकटमा फस्दै जान्छ । पहिले भित्र समाजको गहिरो एकाइमा भएको अन्तरविरोध सतहमा आउँछ । त्यही बेलामा क्रान्तिकारी सरकारलाई पार्टीलाई सामाजिक अन्तरविरोधको हल गर्न सही सिद्धान्त र विचार खाँचो हुन्छ । त्यही विचारअनुरुप उसको कार्यदिशा तय भएको हुन्छ । मूलतः यो पार्टीको सबैभन्दा माथिल्लो एकाइबाट त्यसलाई बनाइएको हुन्छ । अभ्यास त्यस्तै छ । तर यहाँ सिद्धान्त विचार निर्माणको नर्सरी भने जनस्तरका एकाइ नै मुख्य हुन् । पार्टीले विचार निर्माण गर्दा नै जनताको तहबाट निर्माण गरेको छ भने निर्माण गर्दाको बहसले जनता प्रशिक्षित भइसकेको हुन्छ । उसले सामाजिक अन्तरविरोध हल गर्ने वैचारिक हतियारसमेत प्राप्त गरेको हुन्छ । सामाजिक जनवाद वा लोकतान्त्रिक मान्यतामा चल्ने भएको पार्टीले विचार निर्माणको थलो जनता बनाउँछ ।
क्रान्तिका लक्ष्य, उद्देश्य प्राप्त गर्न स्थानीय कमिटीको कार्ययोजना बन्नु पर्ने हुन्छ, संगठन निर्माणदेखि विकास निर्माणसम्म । वर्गीय अन्तरविरोधको मूल पक्षदेखि समाधानका खाकासम्म । अहिलेको सत्ता र सरकारको अभ्यास गरेको पार्टीले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पर्यटन पूर्वाधार, रोजगारी सिर्जना, युवा महिला, जेष्ठ, अपांग र फरक क्षमताका मानिसको चासो सम्बोधन गरिरहने स्पष्ट खाका हुनु पर्छ । त्यो खाका बनाइरहँदा उसले केन्द्रीय लक्ष्य र उद्देश्यसँग सामीप्यता राख्नु पर्ने हुन्छ । कमिटीले पाँच वर्षे विकासको योजना तय गरेर त्यसलाई प्राप्त गर्ने खाका बताउनु पर्छ । तर स्थानीय पार्टी यसरी निर्माण नभएकाले भूइँतहका संरचना बदलिएको राजनीतिसँग एकाकार लयमा हिँड्नसकेका छैनन् र त्यसकारण तलका मानिसलाई पुरानै ठीक हुन्थ्यो कि भन्ने लाग्दै जान थाल्छ । अहिले यही मनोविज्ञान विकास हुने खतरा छ । प्रतिक्रान्तिको सामाजिक मनोविज्ञान यसैमा अडेको छ ।
यसर्थ, मैले पार्टीहरुले स्थानीय तहलाई बलियो बनाएर काम गर्ने व्यवस्थित पार्टी कमिटी निर्माणमा जोड दिनु पर्ने कुरामा ध्यानाकृष्ट गर्न चाहन्छु तर पार्टीमा गुट र स्वार्थ समूह हावी भएपछि प्रतिक्रान्ति रोक्ने एजेण्डा र आन्दोलनको एजेण्डा कार्यान्वयन गर्ने कुरा ओझेल पर्दै गइरहेको छ । हिजो रुसमा ७० वर्षीय समाजवादी शासनविना कुनै जनप्रतिरोध धरासायी भयो । मजदुर र किसानको पार्टी भनिने कम्युनिष्ट सत्ता जोगाउन एउटा मजदुर र किसान पनि सडकमा उभिएन, किन ? भूइँतहसँग संगठन र नेता कटेपछि यही हुन्छ ।
जबजमा मदन भण्डारीको जनदिशा ःजबजमा स्पष्ट भनिएको छः पार्टी सत्तामा गए पनि वर्गसंघर्ष बन्द भएको हुँदैन । सरकारमा र सत्तामा हुँदा जनपक्षीय र श्रमजीवी पक्षीय कार्यक्रम घोषणा गर्न उसले प्रयत्न गर्नु पर्छ । यदी संसदीय राजनीतिमा दलाल सत्ता, नोकरशाही वर्गले कामलाई रोक्यो र अल्मल्यायो भने जनसंघर्षको माध्यमबाट सरकारलाई दबाब दिनु पर्छ । सरकारले जनसंघर्षका बलमा क्रान्तिकारी निर्णय गर्दै प्रगतिशील सुधार गर्र्न पछाडि पर्नु हुँदैन । त्यो जनसंघर्षको नेतृत्व जनवर्गीय संगठनहरुको मोर्चा वा स्वयम् सवालगत जनवर्गले क्रान्तिकारी योजना र चेतका साथ उठाउँछ ।
के अहिलेको तिनै तहका सरकारले वर्गसंघर्ष र जनसंघर्षको संयोजन, सत्ताले गर्नु पर्ने पक्षधरताको समन्वयबारे सुस्पष्ट धारणाबारे बुझेका होलान ? लाग्छ, सचेत र योजनाबद्ध कार्यशैलीले मात्र यस्तो क्रान्तिकारी कुटनीति बोक्न सक्छ । यो तरिकाले जबजको कट्टर अनुयायी ठानिने केपी ओलीलाई फलिफाप नै हुन्छ तर उहाँले जनसंघर्षलाई आफ्नै विरोध ठानिदिनु हुन्छ । कतिपय उच्च दलाल वर्गले नीतिगत तहमा नै सबै हिसाबले सेटिङ गरेका हुन्छन् । एउटै शब्दले मात्र पनि ठूलै नीतिगत भ्रष्टाचारको ठूलो ढोका फैलाउँछ । अहिले पार्टी, सत्ताको कुनै ठाउँमा संयोजन छैन । यसर्थ वर्गीय हितका लागि दलाल पुँजीपति कति चतुर हुन्छ भन्ने कुरामा एक कार्यक्रममा नेकपाका वैचारिक नेता घनश्याम भूसालले आफ्ना अध्यक्षहरु र प्रधानमन्त्रीसँग दिनहुँ सय दलालको भेट हुने र जनतासँग सम्बन्ध विच्छेद हुँदै जाने प्रक्रिया चलेको भनेर चर्को व्यङ्ग्य गरेका थिए ।
यसर्थ आजको मुख्य खाँचो भनेको जबज (चालु क्रान्तिको कार्यक्रम)को स्थानीयकरण गर्दै समाजवादी निर्माणको आधारशीला बनाउन नीतिगत सुधार गर्न अगुवाइ गरिनु हो । यसले मात्र पार्टी र स्थानीय सत्तालाई सिद्धान्तको प्रकाशमा काम गरिरहेको महसुस गरेर अगाडि बढ्ने प्रेरणा र योजना दिन्छ । सिद्धान्तलाई व्यवहारमा अनुभूत गर्न स्थानीयकरणका सवाललाई प्रवद्र्धन गरिनु पर्छ । यसले मात्र क्रान्तिलाई भूइँमा स्थापित गर्छ । अहिले क्रान्ति र क्रान्तिकारी माथि तैरिएकाले कुनै पनि अगुवाई अक्षम भएको देखिन्छ । पार्टी नेतृत्व यसो गर्न चाहँदैन किनकी उ उस्तै आफसँग भेट भइरहने मानिस श्रमजीवी हो कि दलाल पुँजीपति हो, नोकरशाह हो कि राष्ट्रसेवक हो, किसान हो कि किसानको शोषण गर्ने व्यापारी हो, उसले छुट्याएर निर्णय गर्न बारम्बार चुक्छ । अनि क्रान्तिमा भूइँतहमा आउँदैन कुरामा सीमित भएर व्यवहार शून्य हुन्छ ।
तर यो सबै विचार बोक्न केन्द्रदेखि तलसम्म पर्याप्त आन्तरिक जनवाद अभ्यास र विकास गरिनु पर्छ । नीति निर्माणदेखि नेतृत्व निर्माणसम्म, प्राथमिकता चयनदेखि निर्णयमा पहुँचसम्म जनता र पार्टी सदस्यबीच पर्याप्त छलफलको अवसर दिनु पर्छ । उठेका समस्या, सुझाव र रायको नेतृत्वले सम्बोधन गर्ने परिपाटी विकास गरेर मात्र दीगो पार्टी र दीगो क्रान्ति सम्पन्न हुन्छ ।