विद्यानन्द रामराजविराज । आँपकाे राजधानी मानिने सप्तरीमा यस वर्ष उत्पादनमा कमी आएसँगै आँपको मूल्य छ गुणाले वृद्धि भएको छ । फल लाग्ने मौसममा पटक–पटक आएको हावाहुरी र असिना पानीले क्षति पुर्याएपछि आँप उत्पादनमा कमी आएको हो ।
अघिल्लो वर्ष सरदर २० रुपैयाँ प्रतिकिलोको दरले आँप विक्री भएको थियो । तर, यस वर्ष उत्पादनमा कमी आएकोले १ सय २० रुपैयाँ प्रतिकिलो दरले आँप विक्री हुँदै आएको छ ।
सप्तरीको आँप स्वादिष्ट र देशमै चर्चित रहेपनि उत्पादन बढाउनेतर्फ सरकारको नीति नै अस्पष्ट रहेकोले खेती गर्न कुनै सहयोग नपाएका कारण आँप उत्पादनमा कमी आएको किसानहरुको दुखेसो छ । जसका कारण उपभोक्तालाई समेत महँगी खेप्नु परेको किसानहरु बताउँछन् ।
सप्तरीमा सात हजार हेक्टर आँप उत्पादन हुने जग्गा रहेकोमा गत वर्ष पाँच हजार हेक्टर क्षेत्रफलमा ३५ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । यस वर्ष भने २० प्रतिशत अर्थात ७ हजार मेट्रिक टन मात्रै आँप उत्पादन भएको छ ।
आँप फल्ने वर्ष नभएको र फलेको आँपमा पनि मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र किराले क्षति पु¥याएपछि उत्पादन घटेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
सप्तरीमा लोकमार्ग आसपासमा कञ्चनरुपदेखि वलान नदीसम्म बढी आँप खेती हुने गरेको छ । जसमा महुली, जण्डोल, मैनाकडेरी, श्रीपुर, मधुपट्टी, शम्भुनाथ, वकधुवा, रुपनगरलाई आँपको पकेट एरिया मानिन्छन् ।
सप्तरीमा मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ भने यहाँको उत्पादित आँप स्थानीय बजारका साथै काठमाण्डौं, पोखरा, नारायणगढ, विराटनगर र धरानसम्म खपत हुने गरेको जनाएको छ ।