इमानको स्खलन, संकटको भूमरी

पूर्वीय दर्शनको सबभन्दा पुरानो दस्तावेज वेदमा एउटा ऋचा छ, जस्ले मनुष्य जीवनको बाटो नै फेरिदिन सक्छ ।
‘उध्धरेत् आत्मानां आत्माम् नआत्मानं अवसादयेत्
आत्मैव आत्मनो बन्धु आत्मैव: पुरवात्मना ।’
यसको अर्थ हुन्छ, आफूलाई पतन हुन नदिनु मनुष्यको पहिलो कर्तव्य हो । अनि आफ्नो उद्धार स्वयम् गर्नु उसको अर्को दायित्व हो । आफ्नो उत्थान विकास र प्रगति स्वयम् व्यक्तिमा निहीत छ । मनुष्यको आफ्नो मित्र पनि आफै हो र शत्रु पनि आफै हो । जनप्रियता अनि लोकप्रियता र तिरस्कार योग्यताका कारण पनि आफै हो । प्रकृति, समाज, अभिभावक वा भगवान त एउटा सहारा मात्र हो । सहयोगी तत्व मात्र हो । कारक होइन । कारक त मनुष्य आफै हो ।

अशल विचारको पहिलो काम आफ्नो घर आफैले बनाउनु हो । मान्छे र समाजलाई विचारले सञ्चालन गर्ने हो । अशल विचार र दृष्टिकोण बोकेका व्यक्तिहरू उदाहरणीय हुन्छन् । नमूना हुन्छन् । जनप्रिय हुन्छन् । तीनको विचार फैलिँदै जान्छ । अन्ततः त्यस्ता अशल विचार राष्ट्रव्यापी भएर जनताबाट अनुमोदन प्राप्त गर्छन् । मुलुकमा राज गर्दछन् । मूलतः आफ्नो विचारको व्यापकता अस्तित्व र स्वत्व आफैले जोगाउने हो ।

अशल तथा सुसंस्कृत संस्कार बसाउने, त्यसको विकास गर्ने र रक्षा गर्ने हामी आफैले हो । हाम्रो संस्कार सिंगारेर सुन्दर बनाइदिन कोही पनि आउदैन । हामी जस्तो परम्परा र संस्कार विकास गर्छौँ । हाम्रो वरिपरी भएकाहरू र हाम्रा सन्तान दरसन्तानले त्यही सिक्ने हो । आजको दुनियामा खुट्टा तान्न र दुःखमा हान्न सयाैँ, हजारौँ आउँछन तर अर्काको सुन्दर अनि खुशीपूर्ण जीवन देखेर रमाउन कमै मानिस तयार हुन्छन् । अर्थात हाम्रो समाजमा अरूको प्रगतिमा डाह गरिन्छ, खुशी मनाइँदैन । अरूको प्रगति र उन्नतिमा पनि खुशी मनाउनसक्ने संस्कारको विकास हामीले गर्नु आवश्यक छ । यो अशल संस्कार हुन्छ ।

अशल गुण विकास गर्ने, अशल बानीव्यहोरा सिक्ने–सिकाउने पनि तपाईं हामी आफू र आफ्नै समाजबाट हो । श्रममा विश्वास, श्रमको कदर अनि श्रम गरेर बाँच्ने तरिका सिक्ने, सिकाउने । श्रमिकहरूलाई माया र सम्मान गर्ने । समाजका समस्या बुझ्ने, समस्या हल खोज्ने अनि समाज सेवामा मजा लिन तयार हुने चरित्र निर्माण हामीले गर्नु पर्दछ । सानालाई माया, प्रेम, ठूलालाई सम्मान अनि समानलाई साथी बनाउने अशल गुण सिक्ने सिकाउने हामी आफैले गर्नु पर्छ । यस्ता अशल गुण पनि आफैले सिके मात्र बिकिन्छ । सिकेपछि व्यवहारमा आउँछ र यो समाजमा पुग्दछ ।

पुरुषोत्तम पौडेल

अहिले अशल कम्युनिष्ट बन्ने कुरा अलि परै छ, अशल नागरिक बन्ने कि खराब, नागरिकको रूपमा सुन्दर र स्वीकार्य व्यक्तित्व बनाउने कि खराब आफ्नै हातमा छ । राज्यले बनाएको संविधान कानुन र नियमहरू मान्ने, राज्यले अघि सारेका नीति तथा नियम सम्मान गर्ने बानी बसाल्नु पर्छ । अशल नागरिकको पहिलो गुण हो यो । यसको मतलब राज्य वा सरकारले जे गरे पनि सहन गर्नु पर्छ भन्ने होइन । कुनै पनि ऐन कानुन र नीतिनियम राज्य वा सरकारले तोकेका विधि र प्रकृयाभित्रबाट विरोध या विमति जनाउँदै संशोधन या खारेजीका निम्ति आवाज उठाउन सकिन्छ । अर्थात् राम्रा र अशल कामको पक्षपोषण र खराब कामको विरोध अशल नागरिकको कर्तव्य हो ।

अशल नागरिकमा देशभक्तिको भावना हुन्छ । जनताप्रति इमानदार र वफादारिता हुन्छ । सामाजिक उत्तरदायित्वको भावनाले परिपूर्ण हुन्छन् अशल नागरिकहरू । हामी कहाँ अशल नागरिक खोजिनु पर्छ । राज्यका दायित्व पूरा गर्ने, कर तिर्ने, आफ्ना हरेक कार्यमा राज्य र समाजप्रति जिम्मेवार हुने गुण अशल नागरिकका गुण हो । केबल स्वार्थसिद्धका लागि मात्र राज्य र समाजको कुरा गर्ने, नियुक्ति खान मरिहत्ते गर्ने अनि पद, पैसा स्वार्थ सिद्धका लागि लम्पसार पर्ने नागरिक समाज भएको हाम्रो समाजमा अशल नागरिक निर्माण प्रमुख चुनौती हो ।

हाम्रो समाजमा कर छल्ने, राज्यलाई ठग्ने, भ्रष्टाचार गर्ने काम सामान्य भएको छ । भ्रष्टाचार त लाग्छ, अहिले सार्वजनिक पदमा बस्ने बहुसंख्यक मान्छेको गहना नै हो । भनिन्छ ठूल्ठुला त्यागतपस्या र बलिदान गरेका भनिएका हेभीवेटहरू समेत कमल ओढेर घ्यू खाइरहेका हुन्छन् । यस्ता घटना बाहिर आइरहेका छन् । सुन्दा पनि शरम लाग्छ । प्रा. डा. लेखेर त्रिवी जस्तो शैक्षिक संस्थाको सेवा आयोगमा बस्ने ‘प्रगतिशील’ को त यस्तो घिनौना हर्कत बाहिर आयो भने अरूको के दशा होला ? पढ्दै नपढी ३-३ वटा डिग्री बाँड्ने अपराधी पनि देशको नागरिक समाजका सदस्य भएका कथा बाहिर आइरहेका छन् । यसरी देशलाई नै भ्रष्टाचाररूपी अजिङगरले निल्न थालेको अवस्था छ । यसको समाधान अशल नागरिक संस्कार नै हो ।

म भ्रष्टाचार गर्दिनँ । भ्रष्टाचार हुन पनि दिन्नँ । म भ्रष्टाचारलाई घृणा गर्छु र यसलाई समाप्त पार्न लाग्छु भनेर शपथ खाने सरकारी कार्यालयमा काम गर्ने सरकारी कारिन्दाहरू सबभन्दा बढी भ्रष्टाचारमा डुबेको समाचार आउनु नागरिक चरित्रको सबभन्दा ठूलो स्खलन हो । आज इमानको खडेरी परेका बेला सरकार र सरकारी नेतृत्वबाट एउटा दृढ राष्ट्रिय अठोट आउनु पर्ने थियो र त्यसलाई कडाइका साथ अमल गर्नु पर्ने आवश्यकता थियो । त्यो हुन सकेन र परिणाममा त पटक्कै देखिएन ।

अशल बन्न अरूलाई उपदेश दिइन्छ । उदाहरण बन्न अरूलाई भनिन्छ । आफूबाट सुरू गरे पो अरूले सिक्छ । आफू नातावाद, कृपावाद, जातिवाद र क्षेत्रीयतामा चुर्लुम्म डुब्ने अनि अरूलाई उपदेश दिने गरेर कसले मानिदिनु ? आफूचाहिँ आउने ठाउँमा पाले बस्ने अनि अरूलाई आशा नगर भनेर कसले मानिदिनु ? बानी र संस्कारमाथिबाट फर्कने हो । अशल नागरिक, अशल देश अनि अशल परम्परा र संस्कार बनाउछु भनेर मात्र बन्ने हो र ? यसका लागि ‘मनसा वाचा कर्मणा’ संकल्प चाहिन्छ । मुखमा राम–राम । कुनि कता के ? गरेर के पो हुन्थ्यो र ?

अशल पार्टीको पहिलो काम जनताबीच आफ्नो लोकप्रियता स्थापित गर्नु हो । राज्यमा आफ्नो भूमिका स्थापित गर्नु हो । आफ्नो नीति तथा कार्यक्रम जनताबीच लैजानु हो । जनमत निर्माण र जनताबाट अनुमोदित हुने कामको जिम्मा सोही पार्टीको हो । पार्टी जनताबाट अनुमोदन भएर मात्र पनि हुन्न । जनमर्त धान्न पनि सक्नु पर्छ । जनताको विश्वास धान्न र जोगाउन जनचाहनाअनुसार काम गरेर देखाउन सक्नु पर्दछ । जे होस् । पार्टीको उत्थान या पतन आफ्नै कारणले हुन्छ । जनप्रिय र अशल काम गर्ने पार्टीहरू लोकप्रिय र स्थापित हुँदै जान्छन् । जनमत बुझ्न नसक्ने खराब आचरण भएका पार्टी र नेताहरू पतन भएर जान्छन् र विघटनसम्म पुग्दछन् । त्यसको जिम्मेवारी स्वयम् त्यसका नेताहरूले लिनु पर्दछ ।

नीति दर्पणमा एउटा अति सुन्दर श्लोक छः
‘साधुभ्यस्ते निर्वतन्ते पुत्रा मित्राणी वान्धवा: ।
ये च तै सह गन्तारस्तध्दर्मात्सुकृतं कुलम् ।।

पुत्र, मित्र र बन्धुवान्धवबाट विमुख भए पनि सज्जनसँग संगत गर्ने, ज्ञान र विवेकले काम गर्ने, सदाचारमा रहनेहरू सत्कर्मका पुण्यले कृतकृत्य हुन्छन् । अर्थात् यहाँ सत्य र सफलताको सूत्र खोजिएको छ । श्लोक भन्छः यदि सत्मार्गमा बाधक हुन्छन् भने महान पुरूषले पुत्र, मित्र, या परिवार भित्रका आफन्तलाई पनि त्याग्न सक्नु पर्दछ । आफन्त भनेर कुकर्मको साथी बन्नु हुन्न । पराई नै भए पनि यदि सत्मार्गमा छन्, सच्चाइको पक्षमा छन् भने त्यसलाई पछ्याउन सक्नु पर्दछ ।

आफू र केबल आफ्ना भनेर मरिहत्ते गर्ने व्यक्तिबाट ठूलो आशा गर्न सकिन्न । कसैलाई पनि जीवनमा साथ दिने केबल आफ्नै कर्मले हो । आफ्नै कर्मको फल हरेकले पाउने हो । सत्कर्मको फल सुखद हुन्छ । दुष्कर्मको फल दुःखद । अरूहरूले त केबल खुट्टा तान्ने, खिसीट्यूरी गर्ने र मतमतान्तर तथा राय सुझाव दिने मात्र हुन् । अशल काम गर्ने सोच भएका महान पुरूषहरूले खराबको संगत गर्दै गर्दैनन् । वरिपरी गन्ध पालेर सुवासको कल्पना पनि गर्दैनन् । बरू सबै चीज त्यागेर प्रजा अर्थात नागरिकको चाहलाई पूर्ण गर्नतिर लाग्दछन् । जय होस । (पौडेल पूर्व खेलकुद मन्त्री हुन्)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।