नयाँ बानेश्वरमै लेन मिच्ने ती भिआइपी को होलान् ?

काठमाडौं । हुन त, संघीय राजधानीको केन्द्र नयाँ बानेश्वर चोकमा सधैँजसो सवारी चाप हुन्छ । सार्वजनिक बिदाबाहेक अन्य दिनहरु बानेश्वरको सडक पार गर्न केही न केही समय जाममा बसिएन भने के नपुगेजस्तो हुन्छ ज्यानलाई । सकसक लाग्न सक्छ ।

तर, बिहीबार बिहान सवा ११ बजेको देखिएको नयाँ बानेश्वरको दृश्य अलि बेग्लै थियो । सिमसिम पानी परिरहेको थियो, चारपांग्रे सवारी धनी ओतमा थिए, गज्जबै थियो । दुईपांग्रे सवारी धनीले पनि ओतको व्यवस्था गरेकै देखिन्थे । राजधानीका अधिकांश सडकमा पानी परेपछि सवारीहरु चापमा चल्ने गर्छन् । त्यसकारण पनि बिहीबार दिउँसो बानेश्वरको जाम एभरेस्ट अस्पतालसम्मै पुगेको थियो ।

मनमा संसद् बैठक छ कि भन्ने पनि लाग्यो । संसद् बैठक भएको दिन पनि बानेश्वर चोकमा अलि बढी सवारी चाप हुने गर्छ । तर, बुधबार सभामुखले ‘मान्य सदस्यहरु अब अर्को बैठक २०७६ साल असार ३० गते सोमबार दिनको १ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ’ भन्नुभएको झ्वाट्ट सम्झिहालेँ ।

यति सम्झदैँ गर्दा जाम खुल्नै लागेको थियो । त्यही समयमा माइतीघरबाट आएको भिआइपीको एक सवारी र उनको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको अर्को सवारी लेन नियम मिचेर सवारी साधन हुँइकियो । दुईपांग्रेमा सवार हामीले न त भिआईपीको गाडी नम्बर टिप्न पायौँँ, न सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको गाडी नम्बर नै । त्यति टिप्न भ्याएको भए कुन भिआइपी रहेछन् भन्ने सहजै पहिचान हुन्थ्यो ।

लामो समयको जाम र सिमसिमे पानीमा भिजेका केही मोटरसाइकल भिआइपीको पछि दौडिए । त्यसपछि ट्याक्सी र कारवालाहरु पनि के कम । उनीहरु पनि भिआईपीकै पछिपछि लागे । भिआइपीको सवारीले यति गर्दा तीनकुनेबाट माइतीघरपसपट्टि आउने सवारी साधनहरु प्रभावित हुने नै भए । उनीहरुले बाटो पाएनन् । सडक जाम भयो । ट्राफिक प्रहरीलाई त्यो जाम हटाउन हम्मेहम्मे पर्‍यो । घाँटी सुक्ने गरी सिठी फुक्दै गरेको ट्राफिक प्रहरीहरु गलत लेनमा आएका सवारीलाई सही लेनमा जान आग्रह गर्दै थिए । ४ जना प्रहरीको लगातार १० मिनेटको प्रयासपछि बल्ल–बल्ल सवारी आवागमन सहज बन्यो । र, सबै आफ्ना गन्तव्यतर्फ लागे ।

कुरो यहाँ १० मिनेटको जामको कुर्नु पर्दाको त हुँदै होइन । ठूलाबडा भनिने भिआइपी चढेको सवारी साधनले सडकमा देखाउने व्यवहारको हो । यही प्रसङ्गमा पनि भिआइपीको सवारी सही लेनबाट गएको भए धेरैमा १ मिनेटभन्दा बढी समय जाम पर्दैनथ्यो । अलिकति पनि कुर्न नसक्ने ती भिआइपी पुग्ने ठाउँमा १ मिनेट ढिलो पुग्दा कुनै प्रलय नै आउने त अवश्य थिएन होला भनेर हामीले अनुमान गर्न पाउने कि नपाउने ?

तर, भिआइपी भनेर चिनिएकाहरु किन कुर्थे, उनीहरु कुर्दैनन्, कुरे भने, नियम पालना गरे भने भिआइपी नभन्लान् भन्ने डर पो हुन्छ कि ? कसैलाई टेर्दैनन् । गाडीमा हुइँहुइँ बज्ने साइरन र अघिपछि ६–७ जना प्रहरी राखेपछि उनीहरुलाई जति हतार सायद ४ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने चीनको द्रुतरेललाई पनि हुँदैन ।

राजधानीको सडकमा हिँड्ने सर्वसाधारणहरुले बेहोर्ने दैनिकी हो यो । हरेक चोक–चोकमा भिआइपीहरुको सवारी दौडिरहेका हुन्छन् । हुन पनि भिआइपीहरुको संख्या धेरै भएर पनि सर्वसाधारणले मैलेजस्तै सास्ती र हैरानी दैनिक बेहोरिरहेका हजारौँ राजधानीबासीले भिआइपीको सहजताका लागि सैयौँ सर्वसाधारणले किन सास्ती बेहोर्नुपर्ने ?

यति सोच्दासोच्दै अफिस आइपुगियो, ती भिआइपी को होलान्, फेरि नयाँ बानेश्वर आएर लेन मिच्लान् कि नमिच्लान् ? अर्कोपटक तस्बिर होइन भिडियो नै खिच्छु ल पाठकवृन्द ! हुन त नयाँ बानेश्वरमा सिसिटिभी छ, ट्राफिक महाशाखा पुग्ने हो भने पक्कै आजै पनि पत्ता लाग्न सक्छ । हामीलाई अथाह विश्वास छ कि, फुटेज मेटिन्न–हट्दैन । (संयोग, जनता समाचार डटकममा कार्यरत पत्रकार हुन्)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…