सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

काभ्रेपलाञ्चोक । तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महिना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका वासिन्दाले आउँदो माघ महिनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् ।

चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् । आउँदो माघ महिनाभित्र खानेपानी अयोजनाको काम सम्पन्न हुँदैछ, तेमालको एउटा ठूलो सपना साकार हुनेछ, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजीत लामाले भन्नुभयो ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि केही ढिला हुने देखिएको छ । लामाले भन्नुभयो, ‘द्रुत गतिमा काम भइरहेको छ, तर थोरै ढिला हुन्छ कि, सकेसम्म निर्धारित समयमै सक्ने योजनामा पनि छौं ।’ तेमाल क्षेत्रका नौ हजार ३ सय १० परिवारका करिव ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ ।

तेमाल बृहत् खानेपानी आयोजना स्थानीयको सुखद् जीवनसँग जोडिएको आधाबाटाका इन्द्र तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुनकोशीको पानी भनेको तेमालबासीको जिन्दगानी हो ।’ उहाँका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका बासिन्दा विस्थापित हुनेथिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो ।

कूल एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करिब ९० प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९० प्रतिशत, गाउँपालिकाको एक करोड र स्थानीय उपभोक्ता प्रतिपरिवार एक हजार लगानी छ ।

आयोजनाको नदीमा ‘फिल्टर’ गर्ने चारवटा ट्याङ्की र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटा वितरण ट्याङ्की निर्माणाधीन अवस्थामा छन् ।

संघीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालय हेटौंडाका प्रमुख नन्दकुमार बञ्जाडेका अनुसार आउँदो माघभित्र आयोजना सक्नेगरी तीव्र गतिमा काम भइरहेको छ । उहाँले सुनकोशी नदीबाट प्रतिसेकेण्ड २० लिटर पानी मुख्य रिजर्भ ट्याङ्कीमा लिफ्ट हुनेछ भने यस अन्तर्गत प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार आयोजनाको लिफ्टिङका लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् ।

उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूँखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थान, चापाखोरी र मेच्छे तथा नमोबुद्ध नगरपालिकाको दुई वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् ।

उहाँका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक वटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् ।

तेमाल क्षेत्रका बासिन्दा दुई घण्टा पैदलदूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको नारायणस्थानका हेमलाल तामाङले बताउनुभयो । उहाँका अनुसार ठूला बस्तीको बीचमा रहेका केही कुवामा दिनहुँ दुईदेखि तीन सयसम्म गाग्रीका लाइन लाग्ने गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।