काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
बिहीबार जनता समाचार डट कम मा २४ घण्टाभित्र न्यूनचापिय रेखा नेपालमा, सर्तक रहन आग्रह, निरबहादुरको हत्यापछि विप्लव समूहको यस्तो विज्ञप्ति, २२ दिनपछि भेटियो उपाध्यक्षको शव, रातो कार्पेटप्रति ओलीको प्रतिक्रिया, ‘धन्य छ मिसन पत्रकारिता’, छलफलबाट निस्कँदै छविले भने, ‘१० मिनेटमा कुरा मिल्यो’,लखेटी–लखेटी आमाको हत्या लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार प्रकाशित भए ।
नयाँ पत्रिका दैनिकले नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री शीर्षकमा समाचार प्रकाशित गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट इन्जिनियरिङको सर्टिफिकेट किनेर दक्षिण अफ्रिकी नागरिकले आफ्नो देशमा सरकारी जागिर खाएको खुलेको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई–सिई (ब्याचलर इन इलेक्ट्रानिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ) को नक्कली सर्टिफिकेट लिएको भेटिएको हो ।
राजधानी दैनिकले उपकुलपति रौनियार आठ लाख घुससहित पक्राउ शीर्षकमा समाचार प्रकाशित गरेको छ । बीपी कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार रौनियारलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
अन्नपूर्ण पोस्ट् दैनिकले ‘प्रधानमन्त्रीले माफी मागे’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । भारतबाट आयात हुने फलफुल तथा सागसब्जीको विषादी परीक्षण प्रकरणमा कर्मचारीले झुक्याएको भन्दै प्रधानमन्त्री केपी ओलीले जनतासँग बिहीबार माफी मागेका छन् । उनले विषादी प्रकरणमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएकाले लज्जित भएको भन्दै क्षमायाचना गरेका हुन् ।
कान्तिपुर दैनिकले ‘बिनाप्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का’ शीर्षकमा समाचार छापेको छ । एक लाख राष्ट्रिय परिचयपत्र समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर अर्थात् पौने दुई अर्ब रुपैयाँको ठेक्का दिएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार राति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो ।