हरिशयनी एकादशी पर्व आज पवित्र जलाशय तथा नदीकिनार संगममा स्नान गरी भगवान विष्णुको पूजाआजा गरी मनाइँदै छ । यस अवसरमा आज मुलुकका विभिन्न नारायणमन्दिरमा व्रतालु भक्तजनको भीड लागेको छ ।
हरिशयनी एकादशीदेखि भगवान नारायण चार महिनासम्म क्षीरसागरमा शेषशैया शयन गर्नु हुने भएकाले यस एकादशीको नाम हरिशयनी एकादशी भएको उल्लेख छ । यस एकादशीलाई महाएकादशी, प्रथमा एकादशी, पद्मएकादशी पनि भनिन्छ ।
भगवान विष्णुले लोककल्याणका लागि मुर नामको दैत्यसँग लामो समयसम्म लडाइँ गर्नुभएको र त्यसको थकाइ मार्न आषाढ शुक्ल एकादशीका दिन उहाँ हिमालय पर्वतको हेमवती गुफामा गई शयन गर्नुभएको हुँदा यस एकादशीको नाम हरिशयनी एकादशी रहेको पनि पुराणमा उल्लेख छ ।
हरिशयनी एकादशीदेखि भगवान नारायणको महात्म्यमा आधारित चतुर्मासको अनुष्ठान शुरू गरिन्छ । यस अवधिमा लक्ष्मीसहित भगवान विष्णुको पूजाआराधना गरी चार महिनापछि हरिबोधनी एकादशीका दिन अनुष्ठान सम्पन्न गरिन्छ ।
लोकमा ठूली एकादशीका नामले प्रसिद्ध हरिशयनी एकादशीका दिन घरघरमा बनाइएको तुलसीमठमा तुलसीका बिरुवा रोपिन्छ । हरिबाेधनी एकादशीकाे दिन यसका साथै दोबाटो बिसाउनी भञ्ज्याङलगायत चौतारी चिनेको ठाउँमा आज विधिवत् रुपमा वर, पीपल र शमीका बिरुवा सार्ने चलन छ । हरिशयनी एकादशीमा राेपिएकाे तुलसी हरिवाेधनी एकादशीकाे दिन अनुश्ठान गरी समापन गरिन्छ ।
हरिशयनी एकादशीको अवसरमा भगवान नारायणको दर्शनपूजन गर्न काठमाडौंको उत्तरमा पर्ने बूढानीलकण्ठ नारायण, फर्पिङका शेषनारायण, स्वयम्भू हलचोकका इचंगुनारायण भक्तपुरका चाँगुनारायण, ललितपुरका विशंखुनारायण लगायतका विष्णु मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । यसै गरी कन्काईधाम, कोशीकिनारको वराहक्षेत्र, देवघाट गलेश्वरधाम लगायतका तीर्थहरुमा स्नान गर्ने भक्तहरुको मेला नै लागेको छ ।