काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गर्नुभएको छ ।
भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भइरहेकाे बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गर्नुभएको हो ।
करिव एक घण्टा प्रयोगशालाको निरीक्षणपछि खनालले सञ्चारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको प्रष्ट पार्नुभयो । दैनिक तरकारी तथा फलफूलको विषादी परीक्षणको काम भइरहेकाले सर्वसाधारणले पनि डराउनुपर्ने स्थित नरहेको खनालकाे भनाइ थियाे।
केन्द्रमा रहेको प्रयोगशालामा सबै प्रकारका विषादीको परीक्षण हुने र अन्य ठाउँमा रहेका ८ वटा प्रयोगशालाबाट पनि तरकारी तथा फलफूलको विषादी परीक्षणको काम भइरहेको मन्त्री खनालको दाबी छ ।
मन्त्री खनालले जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले चार महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको स्मरण गराउनुभयो । मन्त्री खनालका अनुसार नेपालमा हाल विषादी परीक्षणका लागि केन्द्रमा एक र देशका अन्य भागमा गरी ८ वटा प्रयोगशाला रहेका छन् ।
विश्व खाद्य संगठनले २०७१ सालमा स्थापना गरेको केन्द्रीय कृषि प्रयोगशालामा सबै खालको विषादीको परीक्षण हुन्छ । अन्य ८ ठाउँबाट पनि खाद्य बस्तुको विषादी परीक्षण भइरहेको छ । मन्त्री खनालले त्यतिले मात्रै नपुगेका कारण भन्सार नाकाहरुमा पनि विषादी चेकजाँचको व्यवस्था गर्नुपर्ने आवश्यक्ता मन्त्रालयले औंल्याएको बताउनुभयो ।
सरकारले विषादीको प्रयोगलाई कम गर्दै लैजान विभिन्न प्रदेशमा प्राङ्गारिक मल उत्पादनका लागि ५२ करोड बजेटको व्यवस्था गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दाबी छ ।