लोकेन्द्रप्रसाद जोशीदार्चुला । अविरल वर्षाका कारण जिल्लामा सञ्चारसेवा अवरुद्ध भएको छ । सञ्चार सेवा सौर्य उर्जाबाट सञ्चालित भएको र घाम नलागेका कारण अवरुद्ध भएको हो ।
बिहिबारदेखि नेपाल टेलिकमको टेलिफोन र इन्टरनेटका सम्पूर्ण सेवाका साथै निजी कम्पनी एनसेलको सेवा समेत बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन् । सञ्चार अभावमा व्यक्तिगत र संस्थागत कार्यालयको दैनिक कार्यसम्पादनमा समस्या हुनुका साथै कतैपनि सम्पर्क गर्न सकिएको छैन् ।
आर्थिक वर्ष सकिन लागेको कारण बैंक, कोष तथा लेखा नियन्त्रण कार्यालय, सरकारी कार्यालयहरुमा भुक्तानी लिने सेवाग्राहीको भिड लागेको छ । तर इन्टरनेटले काम नगर्दा रित्तो हात फर्किनु पर्ने बाध्यता रहेको छ । लोटस् कम्प्युटर सेन्टरका सञ्चालक जेहेन्द्र महराका अनुसार इन्टरनेट नचल्दा लोकसेवा आयोग र अध्ययन अध्यापन अनुमति पत्रको फाराम भर्न समेत सकिएको छैन ।
मालिकार्जुन–२ बालशिखरमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा विद्युत् अभाव हुँदा ल्यान्डलाइन, जिएसएम, सिडिएमए, एडिएसएल लगायत इन्टरनेटका सम्पूर्ण सेवा बन्द भएका छन् । नेपाल टेलिकम दार्चुलाका अनुसार, विद्युत सेवा आपुर्ति नभएको र सोलार पाताहरुमा घाम नपरेकै कारण ब्याट्री चार्ज नभएर तीन दिनदेखि फोन र इन्टरनेट सेवा बन्द भएको हो । अहिलेसम्म जिल्लाका दुई दर्जन टावरमध्ये आधा दर्जन टावरमा मात्रै विद्युत पुगेको छ । सौर्य उर्जाको भरमा सञ्चालित बाँकी टावर घाम लागेको समयमा मात्रै सञ्चालन हुने गरेका छन् ।
मार्मा गाउँपालिकाका स्थानीय नरेन्द्र जोशीले नेपाल टेलिकमप्रति गुनासो गर्दै भन्नुभयो, ‘टेलिकमका टावरसम्म विद्युतिकरण नहुनु, भौगोलिक विकटता र मौसमको प्रतिकुलताका कारण सञ्चार सेवाबाट समयसमयमा बञ्चित हुनुपरेको छ । मार्मा क्षेत्रमा अहिलेसम्म घामकै भरमा सञ्चार चल्ने र रातको समयमा सञ्चारविहिन हुनुपर्ने अवस्था छ ।
विज्ञान र प्रविधिको युगमा दार्चुलाका बासिन्दाले प्रभावकारी टेलिफोन सेवाको समेत उपभोग गर्न पाएका छैनन् ।