काठमाडौं । सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाएको जनाएको छ ।
आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्धार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको छ । सरकारले पीडितहरुको उद्धार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यक सेवा तत्काल शुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ । मन्त्री बास्कोटाले घटनापछि स्वतस्फूर्त रुपमा उद्धार, राहत तथा उपचारमा खट्ने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थालाई धन्यवाद दिइएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले आइतबार अपरान्हसम्म बाढी, पहिरो र डुबानबाट परी ५१ जनाको मृत्यु भएको पनि पुष्टि गरेको छ । त्यसैगरी ३१ जना वेपत्ता भएको, २८ जना घाइते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले घटनामा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।