तीर्थ न्यौपानेकाठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई राजनीतिक मूलधारमा ल्याउने योजना बनाएको छ । त्यसको लागि विप्लव समूहसँग वार्ताको पहल गरेको छ ।
राजनीतिको नाममा मुलुकमा हिंसात्मक घटना बढ्न थालेपछि सरकारले फागुनमा विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । गतिविधिमाथि प्रतिबन्धसँगै सरकारले विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधाम पक्राउ गर्दै आएको छ । सरकारले अहिलेसम्म विप्लव समूहका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीसहित ५ सय भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । वलीलाई नख्खुजेलमा राखिएको छ ।
मिलाउने जिम्मा महासचिव पौडेललाईगतिविधिमाथि प्रतिबन्ध लगाएपछि सरकार–विप्लव समूहको दूरी बढ्यो । पछिल्लो समय विप्लव समूह सरकारसँग चिढिएको छ । विप्लव समूह सरकारप्रति आक्रामक बनेको छ । यही बिषयलाई आधार बनाएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै केही नेता सरकार परिवर्तनको खेलमा लाग्न थालेका छन् । विप्लव समूहको नाममा सरकार नै परिवर्तनको खेल हुन थालेपछि वार्ता प्रक्रिया शुरु भएको छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले विप्लव समूहलाई वार्ताबाट शान्ति प्रक्रियामा ल्याउने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको स्रोतले जनाएको छ । अध्यक्षबाट जिम्मेवारी पाए लगत्तै महासचिवले वार्ता प्रक्रिया द्रुत गतिमा अगाडि बढेको हो ।
महासचिव पौडेल शनिबार नख्खु जेलमा रहेका वलीलाई भेट्न पु्ग्नु भएको थियो । महासचिव पौडेल र विप्लव समूहका स्थायी कमिटी सदस्य वलीबीच जेलरको कोठामा लामो समय कुराकानी भएको स्रोतले जनाएको छ । विप्लव समूहको ५ सदस्यीय स्थायी समितिमा वली प्रभावशाली मानिन्छन् । अर्का स्यायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सरकारले वार्ताको लागि यसअघि नै रिहा गरिसकेको छ ।
संयोजक पाण्डेको सक्रियतासरकारले विप्लवसँगको वार्ताको लागि उच्चस्तरीय सरकारी वार्ता समितिलाई नै पुन सक्रिय पारेको छ । अघिल्लो वर्ष साउनमा गठन भएको समितिको माघदेखि म्याद सकिएको छ । यद्यपि समितिका संयोजक सोमप्रसाद पाण्डे वार्ताको लागि सक्रिय भइरहुनुभएको छ । विप्लवसँगै सिधै वार्ता गर्ने योजना बनाइएको छ ।
संयोजक पाण्डे र विप्लव समूहबीच आइतबार भक्तपुर र काभ्रेको सीमा नजिकको एक होटलमा औपचारिक छलफल भएको छ । संयोजक पाण्डेले आइतबारको छलफलपछि विप्लव समूह वार्ताको लागि सकारात्मक देखिएको जानकारी दिनुभयो । ‘आइतबारको भेटघाटले वार्ताका लागि वातावरण बनाएको छ’ उहाँले भन्नुभयो । विप्लवका नेतासँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगन्ज पुग्नु भएको छ।