डोलेश्वरमा श्रावणी मेला

नारायण थापा
भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावणी मेला शुरु भएको छ ।
बुधबार बिहान सूर्यबिनायक नगरपालिका–८ पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ ।
मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
समितिका अनुसार ३८ दिने मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाइनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको छ ।
मेलामा श्रावण २ गतेदेखि ५ गतेसम्म श्रीकृष्ण कथामृत, श्रावण ६ गतेदेखि १२ गतेसम्म रामायण कथा, श्रावण १३ गतेदेखि १९ गतेसम्म श्रीमद् भागवत, श्रावण २० गतेदेखि ३० गतेसम्म शिव महापुराण, श्रावण ३१ गतेदेखि भाद्र ६ गतेसम्म नेपाल महात्म्य र भाद्र ६ गते श्रावणी मेलाको समापन हुने समितिले जनाएको छ ।