सरकार – विप्लव वार्ता : ‘औपचारिकपत्र’ मा अड्कियो

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बिहीबार सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच अनौपचारीक छलफल तीव्र बनेको खबरलाई प्राथमिक समाचार बनाएका छन् ।
बुधबार जनता समाचार डट कम मा गलबन्दीकी अञ्जली अधिकारी नेपाल प्रहरीमा भर्ती, ‘विप्लवसँग धेरैपटक वार्ता भइसक्यो’, ‘६० वर्ष पुगेपछि मात्रै पेन्सनको व्यवस्था’, ‘गोठालो लाग्न सकिन्न ’ भन्दै थर्काए सञ्चारमन्त्रीले कर्मचारीलाई (भिडियोसहित), डोजर लगाएर घर भत्काउँदै छन् मेयर द्वारिकालाल, वृद्ध दम्पतीको एकैदिन मृत्यु लगायतका समाचार प्रकाशित भए ।
अन्नपूर्ण पोष्ट् दैनिकले अनौपचारीक संवाद तीव्र’ शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा जनाइए अनुसार औपचारीक वार्ताका लागि दुवै पक्ष अझै तयार भएका छैनन् । दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ । वार्तामा विप्लव पक्षबाट अनिल शर्मा, गुणराज लोहनी, हेमन्तप्रकाश ओली, खड्गप्रसाद विश्वकर्मा र माइला लामा तथा सरकारी पक्षबाट विष्णु पौडेल, जनार्दन शर्मा, कृष्णबहादुर महरा र सोमप्रसाद पाण्डे सक्रिय रहेको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले संशोधित लक्ष्य भेट्टाउन पनि असफल शीर्षकमा शीर्ष समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार सरकारी तथ्यांकलाई आधार मान्दा दुईतिहाईको बलियो सरकारको भनाइ र काम गराइमा एकरुपता देखिएको छैन् । संशोधित लक्ष्यलाई छाड्ने हो भने सरकारको प्रगति ८५ प्रतिशत पनि पुगेको छैन् ।
राजधानी दैनिकले गत आर्थिक वर्षमा सरकारका उपलब्धि शीर्षकमा प्रमुख समाचार छाप्दै सरकारले १ सय ८७ वटा सुधारात्मक कार्य सम्पन्न गरेको उल्लेख गरेको छ । पत्रिकाले महत्वपूर्ण उपलब्धिका क्षेत्रमा उर्जा, प्रशासन सुधार, स्वास्थ्य, श्रम र रोजगारी, कृषि, खेलकुद, विकास र पूर्वाधार, शिक्षा, पर्यटन, सुरक्षा, भूमि सुधार तथा व्यवस्थापन लगायतका क्षेत्र रहेको समेट्दै विश्लेषणात्मक समााचार प्रकाशित गरेको छ ।
कारोबार देनिकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक गरी अलग्गै निकाय बनाउने प्रक्रिया सुरु गरेको खबरलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, सरकारले गत आर्थिक वर्षमा विद्युत् उत्पादन लक्ष्य ४६७ मेगावाट राखेपनि ७८ मेगावाटमा मात्रै सीमित भएको खबर समेत पत्रिकाको प्रथम पृष्ठमा प्रकाशित छ ।