पुष्पराज अधिकारीमकवानपुर । कृषि तथा वन विश्वविद्यालय अन्तरगत हेटौंडा–१० स्थित फरेस्टीमा भइरहेको भवन निर्माणको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश दिएको छ ।
इजलासका न्यायाधिश चण्डिराज ढकालको एकल इजलासले शुक्रबार कृषि तथा वन विश्वविद्यालय (एएफयु) लाई हेटौंडामा कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्न÷नगराउन अन्तरिम आदेश दिएको हो । आदेशमा विवादित जग्गाको रुख काट्ने काम समेत नगर्न भनिएको छ । अदालतले दुबै पक्षलाई छलफलका लागि साउन ८ गते अदालत उपस्थित हुन भनिएको छ । अधिवक्ता मोहनप्रसाद भट्टराई र मोहनप्रसाद ढकालले त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बहस गरेका थिए ।
अदालतमा संस्थानको तर्फबाट विजयकुमार यादवले रिट दायर गरेका थिए । यादवले कृषि तथा वन विज्ञानविश्वविद्यालय केन्द्रीय कार्यालय चितवन, विश्वविद्यालय अन्तर्गत वनविज्ञान संकाय हेटौँडा, संकायका डिन डा. बलराम भट्ट, ३ नम्बर प्रदेश मूख्यमन्त्री कार्यालय हेटौँडा, ३ नम्बर प्रदेशका मूख्यमन्त्री, डिभिजन वन कार्यालय मकवानपुर, मकवानपुरका जिल्ला वन अधिकृत, जिल्ला प्रशासन कार्यालय मकवानपुर,प्रमुख जिल्ला अधिकारी, ठेकेदार बानियाँ आरवि जेभिलाई बिपक्षी बनाईएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयले हेटौँडामा भवन निर्माणको काम थालेपछि त्रिवि अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान हेटौँडाले विरोध जनाउँदै आएको छ । त्रिवि र एएफयुबीचको जग्गाको विषयलाई लिएर लामो समयदेखि चलिरहेको बिबादकाबीच गत असार ९ गते प्रदेश ३ का मुख्यमन्त्री पौडेल, प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्र बानिँया लगाएतका नेताहरुले करिब १० करोडको लागतमा निर्माण हुने पाँचतले शैक्षिक भवनको शिलान्यास गरेका थिए .
एएफयूको स्थापनापछि हेटौंडामा वनविज्ञान संकायको डिन कार्यालय स्थापित छ । फरेष्ट्रिमा एएफयू र त्रिविअन्तर्गत वन विज्ञान संकायको पढाइ भइरहेको छ । एकै स्थानमा दुइ विश्वविद्यालयको पढाइ हुँदा पटक–पटक विद्यार्थी र प्राध्यापकबीच नै बिबाद हुने गरेको छ । १० वर्षअघि विश्वविद्यालय गठन भएर ६ वर्षअघि वन विज्ञान संकाय डिन कार्यालय सञ्चालनमा आएपछि संरचना निर्माण गर्न लागिएको हो ।
भवन अभावमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन बिहान, दिउँसो र साँझ तीन सिफ्टमा सञ्चालित छ ।