मकवानपुर । प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एकलाई पक्राउ गरेको छ ।
प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित अइतबार सार्वजनिक गरेको हो ।
स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सूचीमा रहेको र पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । लागुऔषध कारोबारीको नाइकेका रूपमा स्याङ्तानले समूह बनाएर गाँजाको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ ।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत लामो समयदेखि राजमार्गमा डकैती र लागुऔषधको कारोबार गर्ने स्याङ्तान पाँच वर्षअघि काठमाडौँमा सय केजी गाँजासहित पक्राउ परेर तीन वर्षभन्दा बढी जेल सजाय काटिसकेका व्यक्ति हुन् ।
राक्सिराङका अन्य गाँजा कारोबारीलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने स्याङ्तानलाई मकवानपुर प्रहरीले निकै लामो प्रयासपछि पक्राउ गरेको सिंहको भनाइ छ ।
स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई देख्नासाथ आफूसँग भएको पेस्तोलबाट गोली चलाएको उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका प्रमुख प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताउनुभयो । तत्काल प्रहरीले जवाफी फायर गरेपछि उनीसँग भएका अरु साथी भागेको र उनलाई पक्राउ गरिएको बुढाथोकीको भनाइ छ ।
विगतमा पनि स्याङतानले गाँजा ओसारपसार गर्ने गरेको र गोली चलाउँदै भाग्ने गरेको प्रहरीको भनाइ छ । प्रहरी र स्याङ्तान समूहबीच मकवानपुरको मनहरीमा गएराति गोली हानाहान भएको थियो ।
स्याङ्तानलाई पक्राउ गर्ने क्रममा एक प्रहरी सामान्य घाइते भएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।