नौ नेता, नौ नजर

    दीपक पाण्डे

प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्वर्गीय महासचिव मदन भण्डारीको जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै असार १४ गते राष्ट्रिय सभा गृहमा भनेका थिए, ‘पार्टी एकताका बाँकी काम असार मसान्तभित्र पूरा गरिने छ ।’

मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा पार्टी अध्यक्षले प्रतिवद्धता जनाएको तीन साता बितिसक्दासमेत पूरा भएको छैन । एकतालाई पूर्ण रुप दिन आइतबार बसेको सचिवालय बैठक पनि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेर समापन भएको छ । एमाले र माओवादीबीच मिलापत्र भएको १४ महिना बितेको छ । यसबीचमा नौ सदस्यीय सचिवालय, ४६ सदस्यीय स्थायी समिति, सात प्रदेश कमिटी, ७७ जिल्ला कमिटी र सात सय ५३ नगर, गाउँ कमिटी र मातहतका शाखा कमिटीको एकता भए पनि पोलिटब्यूरो, ३२ विभाग निर्माणमा सहमति जुटेको छैन ।

जनवर्गीय संगठनको टाउको तोकिए पनि ज्यान अपुरो नै छ । त्यस्तै, नेताहरुको कार्य विभाजन भएको छैन । केन्द्रीय आयोग, सम्पर्क मञ्च तथा प्रवास कमिटी एकीकरण हुन सकेका छैनन् भने विशेष प्रदेश कमिटी, सल्लाहकार कमिटी, जेष्ठ कम्युनिष्ट मञ्च गठनमा गृहकार्य लम्बिरहेको छ । यद्यपि अध्यक्ष ओलीको उद्घोषपछि पार्टीको कार्यक्रम जनताको जनवादमा सहमति जुटाएर प्रतिवेदन पास गरिएको छ ।
पार्टी एकता टुङ्गोमा पुग्न नसकेका कारण सरकारका कामकारवाहीले गति लिन नसकेको र भएका राम्रो कामको पनि प्रचार हुन नसकेको आवाज पार्टीभित्र चर्को ढंगले उठिरहेको छ । स्थानीय सरकारका जनप्रतिनिधि बेलगाम ढंगले मनमौजी चलिरहेको गुनासो पनि पार्टीमा बढिरहेकै छ । एकता प्रकृया टुङ्गोमा नपुग्दा प्रधानमन्त्री ओलीले सरकारका पक्षमा आफ्ना कार्यकर्तालाई अरिङ्गाल जस्तै बन्न निर्देशन दिए पनि त्यस उपर कार्यकर्ताको कानमा बतास नलागेको नेकपाकै नेताहरु स्वीकार गर्छन् ।

पार्टी एकतापछि कार्यसम्पादन गर्न बनाइएको नौ सदस्यीय सचिवालय बेलाबेलामा आफैँ विलखबन्दमा पर्दै आइरहेको छ । जस्तो आइतबारको दृश्य पनि त्यस्तै थियो । सचिवालयप्रति स्थायी समितिकै असन्तुटि छ । स्थायी समितिलाई ‘बाइपास’ गर्न सचिवालय बनाइएको विषय पार्टीकै नेताहरु घनश्याम भूसाल, भीम रावल, योगेश भट्टराई, देवेन्द्र पौडेल, राम कार्कीलगायतले बारम्बार उठाइरहेका छन् ।

पार्टीलाई गति दिन बनाइएको नौ सदस्यीय सचिवालय बेला मौकामा  यता न उता पर्दै विवाद मिलाउने जिम्मा अध्यक्षद्वयलाई दिएर उम्कने गरेको छ । यद्यपि पार्टी एकता अघिसम्म एमालेमा एकछत्र राज गरिरहेका प्रधानमन्त्री ओली एकतापछि रक्षात्मक अवस्थामा पुगेकामा शंका छैन । नौ सदस्यीय सचिवालयमा ओली बहुमतविहीन पुग्नुमा अरु कुनै दोष पनि छैन । अर्का अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ ।

त्यसैले, अहिले नेकपामा एकअर्कालाई भिडाएर पार्टीमा आफू स्थापित हुने भाले भिडन्त चलिरहेको छ । विशेष गरी सचिवालयमा रहेका नौ नेताहरु नौ नजरका साथ पार्टीमा आफू निरन्तर स्थापित हुन निशाना साँधिरहेका छन् । त्यसकारण पनि एकता प्रकृया टुंगोमा पुग्न सकिरहेको छैन । नेकपाको शक्तिशाली सचिवालयमा रहेका नौ नेता पार्टीमा स्थापित हुन के गरिरहेका छन् ? यसबारेमा केलाउने प्रयास गरिएको छ ।

केपी शर्मा ओली, एक नम्बरका अध्यक्ष : केपी शर्मा ओलीको नजर प्रधानमन्त्री भएसँगै पार्टी संगठनमा भन्दा सरकारमा छ । अध्यक्ष ओली नेपालको इतिहासमै ५ वर्षे प्रधानमन्त्रीको रेकर्ड कायम गरेर मुलुकमा समृद्धि र विकासको इतिहास रच्ने ध्याउन्नमा छन् । अर्का अध्यक्ष दाहालले पार्टी एकता हुँदा नै पाँचवर्षे सत्ता आधाआधा बाँड्ने सहमति भएको खुलासा गरिदिएपछि निकै चिढिएका प्रधानमन्त्री ओली प्रचण्डले भने झैँ सहजै सत्ता छाड्ने मुडमा छैनन् । उनले त्यसको घुमाउरो ढंगले प्रतिवाद गरिरहेका पनि छन् । त्यसैले उनी पार्टीमा प्रचण्ड र माधव नेपाललाई म पछिको ‘तपाईं’ भन्दै दुवैलाई लडाइरहने रणनीतिमा लागेका छन् । निकटष्थहरुका अनुसार, प्रधानमन्त्री ओलीलाई अहिले विपक्षीसँग भन्दा आफ्ना भनिएकासँग बढी ‘वितृष्णा’ बढिरहेको छ ।

सरकारको समर्थनमा पार्टी नेताबाट उचित सहयोग नपाएको प्रधानमन्त्री ओलीको एकसूत्रीय गुनासो छ । प्रधानमन्त्री भएसँगै पार्टी संगठनमा ध्यानै दिन छाडेपछि ओली समूह अहिले बिलखबन्दमा परेको अवस्थामा छ । यो समूहको नेतृत्व कसले गर्ने भन्नेमा पनि अलमल छ । यद्यपि पछिल्ला दिनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष ओलीको असली उत्तराधिकारी बन्ने ध्याउन्नमा एकोहोरो लागेका छन् । त्यसैको छनकस्वरुप पार्टीको नीति जनताको बहुदलीय जनवाद हुनु पर्ने अस्त्र पोखरेलले फ्याँकेका थिए । यो विषय महाधिवेशनसम्म लैजाने पोखरेल निकटस्थहरुको योजना पनि छ । पोखरेलको यो रणनीतिलाई पार्टीमा अहिले साथ दिने गतिलो मियो भने भेटिएको छैन । ओलीलाई लामो समयदेखि साथ दिएका थुप्रैले संघीय र प्रदेश सरकारमा ठाउँ पाएकाले संगठनमा ध्यान दिने दरिलो मियोको खाँचो छ । जो जो दौडिरहेका छन्, उनीहरुलाई अध्यक्षले विश्वास गर्ने अवस्था बन्न अरु अवयवहरुले दिइरहेका छैनन् । यद्यपि ओली समूहका हस्ती मानिने विष्णु पौडेल, सुवास नेम्बाङ, खगराज अधिकारी, राजेन्द्र गौतम, आनन्द पोखरेल, कर्णबहादुर थापा, दामोदर भण्डारी, विशाल भट्टराई, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद ढकाल, दामोदर अर्याल र दयालबहादुर शाहीले भरथेग गर्ने प्रयत्न सामाजिक सञ्जाल र सानातिना मञ्चमा सीमित छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ : दुई नम्बरका अध्यक्ष : दाहाल पूर्व एमाले समूहलाई भिडाएर त्यसमा सोडा हाल्दै सरकारको नेतृत्वमा पुग्ने ‘प्रचण्ड दाउ’मा छन् । यसका लागि प्रचण्ड जता पनि पिङ मच्चाउन तयार भइरहेका छन् । पूर्व माओवादीभित्रको शक्तिलाई एक राख्न सके असन्तुष्ट पूर्व एमालेलाई समेट्दै एकपटक शक्तिमा पुग्न सकिन्छ भन्ने प्रचण्डको बुझाई छ । यसमा वामदेव गौतम र विष्णु पौडेलले मात्र होइन, उस्तै परे घनश्याम भूसालले पनि आफूलाई साथ दिने र ओलीपछि पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै आफै हुने प्रचण्डमा भूत सवार भइसकेको छ । यसकै लागि उनले दिल्लीदेखि बेइजिङसम्मलाई मिलाउने प्रयास पनि गरिरहेका छन् । प्रचण्डलाई आफ्नो यात्रामा पूर्व एमालेकै माधव नेपाल बाधक हुने हुन् कि भन्ने बुझाई छ । यसका लागि घनश्याम भूसालमार्फत माधवको पखेटा काट्ने ध्याउन्न प्रचण्डले बनाइरहेका छन् ।

माधवकुमार नेपाल : तेस्रो वरियतामा रहेका गतिशील चरित्रका नेता माधवकुमार नेपालको नजर भने अहिले सत्तामा भन्दा पुरै पार्र्टी संगठनमा गाडिएको छ । सरकार सञ्चालनमा ओलीलाई एकछत्र राज गर्न दिएर वा ‘शेयरिङ’ लिँदै पार्टी नेतृत्वमा उनी पुग्न चाहिरहेका छन् । यद्यपि माओवादीसँग एकता नभए पनि एमालेमै पनि उनी ओलीपछि अध्यक्ष हुने लाइनमै थिए । पूर्व एमाले पंक्तिको एकछत्र नेता बन्दै केही पूर्व माओवादीको समेत समर्थनमा नेपाल पार्टीको ओलीजस्तै अर्का शक्तिशाली अध्यक्ष बन्न खोजिरहेका छन । यसका लागि नेपालले पूर्व एमालेभित्रका आफ्नो कट्टर आलोचकसँग पनि संवाद अघि बढाएका छन् । ओली पक्षका सबैले अन्ततः ईश्वर पोखरेललाई भन्दा आपूmलाई स्वीकार्ने नेता नेपालको विश्वास छ । नेपाल पक्षबाट देशव्यापी थप नेटवर्क विस्तारमा नेता सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, भीम रावल, योगेश भट्टराई, भीम आचार्य, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, निरज आचार्यलगायत खटिएका छन् । झलनाथ खनाल पक्षधरका नेता पहिले नै नेपालतिर थिए नै, ओली र दाहालका पनि केही थपेर ‘ओली भन्दा कम बलशाली होइन म’ भन्ने सन्देश दिन खोजिरहेका छन् ।

झलनाथ खनाल :चौथो वरियताका नेता खनाल मर्यादाक्रममा साथ नदिएकामा प्रधानमन्त्री ओलीसँग पनि खुस छैनन् । माधव नेपालले ओली र प्रचण्डसँग मिलेर आफ्नो तेस्रो नम्बरको    मर्यादाक्रम खोसेकामा खनालको नेपालसँगै पनि चित्त दुखाई छ । यस विषयमा पार्टीभित्र असन्तुष्टि दर्ज गराएका खनाल यही विषयलाई उछाल्दै बाहिर धेरै लफडा गर्ने पक्षमा भने छैनन् । तर, आफ्ना बचेखुचेका नेता कार्यकर्तालाई व्यवस्थापन गर्दै उनी ढिलो चाँडो एकपटक राष्ट्रपति हुने ध्याउन्नमा छन् ।

वामदेव गौतम : पाँचौँ वरियताका नेता हुन गौतम । अस्थिर तर सदैव सक्रिय नेता गौतमलाई जसरी भए पनि संसदमा पुग्ने चाहनाको भोकले सताइरहेको छ । त्यही दाउका साथ उनले गोटी पनि चालिरहेका छन् । एकपटक प्रधानमन्त्री भएर राजनीतिबाट विश्राम लिने योजनाका साथ पुनः सांसद बन्न उनले काठमाडौं–७, डोल्पा, पूर्वी रुकुम, प्यूठान, बाँके हुँदै दैलेखसम्म नजर घुमाइसकेका छन् । पार्टी अध्यक्ष हुन नसके पनि प्रधानमन्त्री हुने रहरले पछिल्ला दिनमा कास्की–२ मा उनले नजर लगाएको पनि चर्चा थियो । तर, गौतमले वक्तव्य नै जारी गरेर आफू त्यहाँ नउठ्ने र स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई समर्थन गर्ने प्रष्टिकरण दिएका छन् । निकटस्थहरुका अनुसार गौतमको संसद छिर्ने इच्छामा भने पूर्णविराम लागेको छैन । तर, संसद छिर्ने सुनिश्चिता पनि छैन । किनभने नेता गौतमको चरित्रलाई राम्रैसँग बुझेका प्रधानमन्त्री ओली वामदेव संसदमा हुनुहुँदैन भनेर भन्न पनि सक्दैनन् र यथार्थमा बनाउन पनि चाहदैनन् । गौतम सांसद भए सबैभन्दा धेरै तनाव आफूले बेहोर्नु पर्ने मात्र होइन, सुबास नेम्बाङदेखि महेश बस्नेत पुस्तासम्मका  ओली पक्षधरले गर्ने आलोचना गर्दा एक्लै खेप्नु पर्ने राजनीतिका चतुर खेलाडी ओलीले राम्ररी बुझेका छन् । ओलीले आफूलाई अघि बढ्न नदिने चुरो कुरो वामदेवले पनि बुझिसकेका छन । तर पनि प्रचण्डले नै पूर्व एमालेबाट प्रधानमन्त्री हुन बाँकी नेता भन्दै बेलाबेलामा सोडा हालिदिएका कारण गौतमलाई सांसदको भूत सवार भइरहन्छ । त्यसैले अहिले गौतमको ध्यान पार्टी संगठन र संसद दुवैतर्फ छ । सांसद हुन पाए ओलीले छाड्ने र प्रचण्डले लिने बीचमा केही समय भए पनि आफू प्रधानमन्त्री हुने विश्वास गौतममा पलाएको छ ।

नारायणकाजी श्रेष्ठ : छैठौँ वरियताका नेता श्रेष्ठ अहिले ‘लो’ प्रोफाइलमा बसेर काम गरिरहेका छन् । डा। गोविन्द केसी अनशन प्रकरणबाट ओली र प्रचण्डसँग चिसिएको उनको सम्बन्ध सुमधुर भइसकेको छैन । उनी अहिले पूर्व माओवादी केन्द्रको आफ्नो समूहलाई संरक्षण गर्दै पूर्व एमालेसँग संवादमा छन् । श्रेष्ठ पार्टीको प्रवक्ता भए पनि त्यो भूमिका विष्णु पौडेलले नै निभाइरहेको श्रेष्ठको बुझाइ छ । उनी विगतमा जस्तै समन्वयकारी भूमिकामा रहेर सबै समूहकाले स्वीकार्ने नेता बन्न खोजिरहेका छन् । भूगोलका संगठनमा कमजोर छु भन्ने श्रेष्ठले नबुझेका होइनन् ।

ईश्वर पोखरेल : सरकारमा केपी ओलीलाई सहयोग गर्दै ओलीको अशल र आधिकारिक उत्तराधिकारी हुने योजनामा पोखरेल नवौँ महाधिवेशनपछि नै छन् । यसका लागि उनले सचिवालय बैठकमा पनि ओलीको समर्थन गर्छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीकोसमेत अदृश्य समर्थन लिने चक्करमा छन् । सत्तालाई उपयोग गर्दै संगठनमा छाउने उनको रणनीति छ ।

रामबहादुर थापा ‘बादल : एकतापछिको जिम्मेवारीमा आफ्ना पक्षका कार्यकर्तालाई भूमिकाविहीन बनाउन खोजिएपछि बादल प्रचण्डसँग रुष्ट छन् । गृहमन्त्रीका रुपमा राम्रा काम गरेर देशव्यापी संगठनमा पकड जमाउने उनको योजना थियो । सरकारको निरन्तरतामा नै त्यो सम्भव भएकाले थापा सरकारलाई सफल बनाउन चाहन्छन् । प्रचण्डपछि पूर्व माओवादी केन्द्रमा थापा र ऊर्जामन्त्री वर्षमान पुनबीच प्रतिस्पर्धा रहेको बुझेका थापा पुनलाई रोक्न चाहन्छन् । यसका लागि देव गुरुङ, पम्फा भुसाल, सावित्री काफ्ले, महेश्वर दाहाल, सूर्य सुवेदी पथिकलगायत मार्फत देशव्यापी नेटवर्क विस्तार गरिरहेका छन् । तर पछिल्लो समय पूर्व गृहमन्त्री तथा अध्यक्ष प्रचण्डका विश्वासपात्र जनार्दन शर्माले बेलाबखत गर्ने कटाक्षमा जवाफ दिन सकिरहेका छैनन् ।

          

विष्णु पौडेल : एकीकरणसँगै अप्रत्यासित रुपमा शक्तिमा उदाएका पौडेलले पार्टीमा खतरनाक भूमिका निर्वाह गरिरहेको भन्दै सबै नेता उनीप्रति सशंकित छन् । वामदेवलाई जसरी पनि संसदमा ल्याउने पहलमा लागेका पौडेल ओलीनिकटस्थ मानिए पनि प्रचण्ड र माधवसँग पनि समदूरी सम्बन्धमा छन् । सबैलाई मिलाउने अनि त्यसको फाइदा आफू लिने योग्यतामा अब्बल ठहरिएका पौडेलको नजर संगठन र सरकार दुवैतर्फ छ । महासचिवका हैसियतमा संगठनमा पकड जमाउने र ओली सरकार विस्थापित भई अर्को सरकार बनेका खण्डमा आफू दोस्रो हैसियतसहित सरकारमा प्रवेश गर्ने रणनीतिका साथ पौडेलले एक तीरले दुई शिकार गरिरहेका छन् । उनका अगाडि सुवास नेम्बाङ, ईश्वर पोखरेल, भीम रावल फिका भइरहेका छन् ।

यी नौ नेताको वरपर नेकपाको राजनीति घुमिरहेको छ । सत्तामा पुग्न र टिकिरहन कुन नेता कतिखेर कुन नेतालाई समर्थन गर्छन् या नेताको समर्थन जुटाउँछन्, नेपाली राजनीतिले भोगिरहेकै छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…