काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले मंगलबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
साेमबार जनता समाचार डट कम मा ट्रक तथा ढुवानी व्यवसायीको आन्दोलन स्थगित, बिपी स्मृतिसभाः व्यक्तित्व र कृतित्वका बारेमा चर्चा, लगानी प्रवर्द्धनका लागि ‘पर्यटन लगानी सम्मेलन’,‘ट्रेड यूनियनमाथि प्रतिबन्ध नलाग्ने’,बाढी पीडित ३०० परिवारलाई नेविसंघको राहत‘ सरकारमा सामेल पार्टी कम्युनिष्ट होइनन्’ र ‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ बाहिरियो लगायतका समसामयिक समाचार प्रकाशित भए ।
अन्नपूर्ण पोष्ट् दैनिकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक दस्तावेज अमेरिका र भारतप्रति नरम रहेको समाचारलाई प्रमुख समाचार बनाइएको छ । समाचारमा उल्लेख भए अनुसार संविधान संशोधनका सन्दर्भमा पनि राजनीतिक प्रतिवेदन मौन रहेको छ । दस्तावेजमा कांग्रेस पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको र राष्ट्रिय पुँजीवादी उत्पादक शक्ति कमजोर बन्दै गएको समाचारमा विश्लेषण गरिएको छ । नेकपाले पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गरी पार्टी एकता ऐतिहासिक आवश्यकता भएको र आगामी पार्टी कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ भएको विश्लेषण गरिएको छ । यसैगरी पत्रिकाले संघीय सरकारको आम्दानी नौ अर्ब ६ खर्ब र खर्च १० खर्ब ९३ अर्ब रहेको समाचार पनि प्रथम पृष्ठमा छापेको छ ।
नागरिक दैनिकले ‘कार्यकर्ता पोस्दै ठिक्क’ शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । समाचारमा स्थानीय सरकारको दुई वर्षको गतिविधिले जनतालाई पुरानो शासनप्रणालीको भन्दा फरक अनूभुति गराउन नसकेको विश्लेषण गरिएको छ । गाउँगाउँमा सिंहदरबारका नाममा सञ्चालित स्थानीय सरकारप्रतिको विश्वसनीयता खस्किँदै जान थालेको र विकासमा खेलाँची भइरहेको पत्रिकाले लेखेको छ । यस्तै, पत्रिकाले सकसमा अख्तियार शीर्षकमा अर्को मुख्य समाचार पनि छापेको छ ।
कान्तिपुर दैनिकले प्रदेशहरुको खर्च ५४ प्रतिशत मात्रै रहेको खबरलाई प्रथम पृष्ठमा प्रकाशित गरेको छ । समाचारमा समेटिए अनुसार प्रदेश नम्बर १ मा ५९.२६ प्रतिशत, प्रदेश नम्बर २ मा ५०.६८ प्रतिशत, प्रदेश नम्बर ३ मा ५८.०४ प्रतिशत, गण्डकी प्रदेश ५८.११ प्रतिशत, प्रदेश नम्बर ५ मा ६१.०५ प्रतिशत, कर्णाली प्रदेशमा ३५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५६.७५ खर्च रहेको छ । यसैगरी पत्रिकामा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेको खबरलाई समेत प्रथम पृष्ठमा समेटीएको छ ।
कारोबार दैनिकमा ‘निकासीमा चियालाई उछिन्यो अलैंचीले’ शीर्षकमा प्रमुख समाचार छापिएको छ । यसैगरी, आयोजनाको आर्थिक विश्लेषण गर्नै कठिन शीर्षकमा विद्युत् नियमन आयोगले सार्वजनिक गरेको आयोगबाट सम्पादन गर्नुपर्ने कार्यसम्बन्धि निर्देशिकाको मस्यौदामा अब हुने विद्युत् खरिद सम्झौता (पीपीए) का लागि प्रत्येक आयोजनाको विश्लेषण गरिने खबर पनि प्रथम पृष्ठमा प्रकाशित छ ।